एमाले उम्मेदवार सुखरामका ‘सुखदायी’ बाचा

एमाले उम्मेदवार सुखरामका ‘सुखदायी’ बाचा


काठमाडौं महानगरपलिकाका मेयर विद्यासुन्दर शाक्यको सय दिनमा सय काम गरी देखाउने प्रतिबद्धताले हावा खाएको भन्ने टिकाटिप्पणी चल्न थालेकै बेला नेकपा (एमाले)को तर्फबाट राजविराज नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका सुखराम यादवले १०१ बुँदे संकल्प पत्र सार्वजनिक गरेर चर्चा बटुलेका छन् ।

राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उनले सार्वजनिक गरेको संकल्पपत्रमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्त अपांगलाई तिनका घरदैलोमै स्वास्थ्य सेवा पु¥याउनेदेखि शौचालय नभएका सबै घरमा शौचालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रत्येक वडामा स्वच्छ पानी, प्रत्येक वडामा पाँच शय्याको सुविधासम्पन्न प्राथमिक स्वास्थ्य सेवा केन्द्रको स्थापना, प्रत्येक नागरिकको स्वास्थ्य बीमा, अस्पताल, औद्योगिक क्षेत्र, सडकहरुको स्तरोन्नति जस्ता गुलिया प्रतिबद्धता जनाएका उनले नगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्ने, नगरभित्रको फोहर रातिको समयमा नै उठाउने, त्यसको उचित व्यवस्थापनका लागि ल्याण्डफिल साइटको व्यवस्था गर्ने र संकलित फोहोरको कुहिने र नकुहिने वर्गीकरण गरी पुनःउपयोग र जैविक मल उत्पादन गर्ने जनाएका छन् ।

यस्तै, कृषकलाई लक्षित गरी चिस्यान केन्द्र र बीउ बैंकको स्थापना, कृषि सडकहरुको निर्माण र विस्तार, कृषि ऋणको व्यवस्था, कृषकलाई मलखादमा ५० प्रतिशत र गृहिणीहरुलाई खाना पकाउने ग्यासमा प्रतिसिलिण्डरमा ५० प्रतिशत अनुदान दिइने बुँदा संकल्पपत्रमा समावेश गरिएको छ ।

यसैगरी खाद्यान्न गोदामको स्थापना, नगर क्षेत्रमा वार्षिक एक लाख वृक्षरोपण, सबै वडामा वातावरण क्लबको गठन, वैदेशिक रोजगार सूचना केन्द्रको स्थापना, सुविधासम्पन्न बसपार्कको निर्माण तथा पाँच वर्षभित्र नगरका सबै वडालाई चक्रपथसँग जोड्ने जस्ता ‘सुखदायी’ बुँदा मेयर उम्मेदवार सुखरामले आफ्नो संकल्पपत्रमा उल्लेख गरेका छन् ।