यी सुन तस्करलाई कसले गर्ने कारबाही ?

यी सुन तस्करलाई कसले गर्ने कारबाही ?


–रोशन कार्की
उच्च पदस्थ कर्मचारीकै मिलिमतोमा लामो समयदेखि हुदै आएको सुन तस्करी कार्य नियन्त्रण हुनेभन्दापनि झन मौलाउदै गएको छ । चीनबाट नेपालको स्थलमार्गहुदै भारत लैजाने गरेको अबैध सुन तस्करमा संलग्नलाई सरकारले अहिले सम्म कारबाही गर्न सकेको छैन । भने प्रहरीले हालसम्म सुन बोक्ने भरिया र सवारी चालक (ड्राईभर) मात्र नियन्त्रणमा लिएको छ भने उनीहरुको बयानमा दिइएका सुन तस्करलाई भने उन्मुक्ति दिदै आएको छ ।

 सुन तस्करमा लागेकाहरुः
आम्डो घ्याम्चा
टेम्बो शेर्पा
राजु घलान तमाङ
सोनाम शेर्पा
राजकुमार पौडेल
छिरिङ शेर्पा
कुङा टासी
शम्भू शेर्पा
साङ्गे शेर्पा
मिङमार शेपा
सोनाम शेर्पा

पछिल्लो पटक नेपाल प्रहरीले विभिन्न स्थानबाट अबैध सुन बरामद गर्न थालेपछि सुन तस्करका नाईकेहरूमा छटपटाहट सुरु भएको छ भने कति जना अर्धभुमीगत नै भएको समाचार प्राप्त भएको छ । एक बर्षको अवधिमा प्रहरीले काठमाडौं र रसुवाबाट मात्रै एक सय पचास किलो भन्दा बढी सुन बरामद गरेपछि तस्करहरू छटपटाउन थालेका हुन् । कमिशनमा कुरा नमिले पछि प्रहरीलाई सुराकी दिई सुन बरामद गर्न लगाउने कार्यमात्र पछिल्लो समयमा हुने गरेको छ ।

नेपालका नामुद सुन तस्कर बौद्धका आम्डो घ्याम्चोले यतिखेर आफ्ना छोरा कुङा टासीलाई प्रयोग गरेर सुनको तस्करी गर्दै आएको उच्च स्रोतको भनाई रहेको छ । सरकार सो समुह सम्म पुग्ननै सकेको छैन । घ्याम्चोको सुन पटक–पटक बरामद भएपनि उनी भने कानुनको कमजोरीको फाईदा उठाउँदै उन्मुक्ति पाएका छन् । २०६९ सालमा काठमाडौं परिसरले बरामद गरेको १६ किलो, २०७० मा काभ्रेमा लुटपाट भएको १२ किलो, त्यसको लगत्तै काठमाडौं प्रहरीले बरामद गरेका ८ किलो सुनका मालिक उनै घ्याम्चो रहेका थिए । उनी १६ किलोमा प्रहरीको अनुसन्धानमा तानिएपनि राजश्व अनुसन्धान बिभागले सो मुद्दामा भित्रभित्रै उन्मुक्ति दिएपछि हौसीदै पुनः अबैध सुनको कारोबार गर्न थालेको उनी निकट एक व्यवसायीले बताएका छन् । तत्कालिन समयमा राजश्वका उपसचिव भरत सुवेदीले उनलाई जोगाएका थिए । तिनै घ्याम्चो अहिले आफ्नो छोरा कुङ्गालाई अघि सारेर नियमित सुन तस्करी गर्दै आएका छन् ।

उनको सुन बोक्ने जिम्मा लिएका थिए सिन्धुपाल्चोकका टेम्बो शेर्पा, राजु घलान तमाङ, सोनाम शेर्पा र राजकुमार पौडेललगायत एक दर्जनले गर्दै आएका छन् । पछिल्लो समय तस्करी गरी ल्याएको ५ किलो सुन सहित घ्याम्चोका भरिया सोनाम शेर्पा फरार रहेका छन् । भरिया शेर्पा भारतको दिल्लीमा बस्दै आएको स्रोतको भनाई रहेको छ । सुन तस्करका अर्का नाईके सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने शम्भू शेर्पा रहेका छन् । शेर्पा अहिले बौद्धमा रहेको उनको आलिशान महलमा बस्दै होटल हायातको फिटनेश क्लबमा शारिरिक ब्यायामको लागि पुग्ने गर्दछन् ।

त्यसैगरी, सिन्धुपाल्चोकका छिरिङ शेर्पाले ढेड बर्ष अगाडी तातोपानीबाट राजधानी भित्रिदै गरेको बा ९ च १४६३ नम्बरको कालो कारमा १८ थान सुन बरामद भएपछि छिरिङको गोप्य कारोबार बाहिर आएको थियो । छिरिङ सहित उनका दाजुभाई साङ्गे शेर्पा र मिङमार शेर्पा सुन तस्करमा संलग्न रहेका छन् । सिन्धुपाल्चोक लिपिङका छिरिङ समान्य परिवाका व्यक्ति हुन् । सुन तस्करी गरेर छिरिङ हाल करोडका मालिक भएका छन् । भिक्षु पोशाकमा रहेका मिङमारले भिक्षुको भेषमा सुन भारतसम्म पु¥याउने काम गर्दै आएका छन् । दोलखाका पेम्पा दोर्जे शेर्पाले एक दर्जन क्यारिङवाला र भरियाको प्रयोग गरेर सुन तस्करी गर्दै आएका छन् ।
नवीन भन्ने राजुकुमार राई, मोहन कुमारलाई सुन बोक्न लगाउँदै मिङमारले अबैध सुन तस्करको काम गर्दै आएका छन् ।

तातोपानी नाका बन्द भएपछि यी तस्करले केरूङ नाकालाई मुख्य आधार बनाएर सुन तस्करी गर्दै आएका छन् । सामान्य चेकजाँचमा सुन बरामद हुदैन, विना सूचना बाटोमा हिँडेको गाडीलाई नियन्त्रमा लिएर ४–५ घण्टा खानतलासी गर्न सम्भव नहुने हुँदा सुन तस्करी मौलाएको जिकिर प्रहरी प्रशासनको रहेको छ । यसरी पछिल्लो समयमा प्रहरीले बरामद गरेको ८८ केजी सुन तस्करमा माओबादी केन्द्रबाट सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित राजकुमार पौडेलले सो सुनमा केही प्रतिशत लगानी गरेर नेपाल भित्राएको आरोप लगाईएको छ । गाउपालिकाको अध्यक्ष जित्न १५ करोड रुपैयाँ खर्च गरेका पौडेलले सोही रकम उठाउनकै लागि सुन तस्करमा आफै संलग्न भएको उनी निकट व्यवसायीहरुले बताएका छन् । हाल उनीले अध्यक्षको जिम्मेबारी उपाध्यक्षलाई दिएर माओबादी केन्द्रको आड् र गृहमन्त्री जनार्दन शर्मा सिन्धुपाल्चोक २ नम्बरका सांसद अग्नीप्रसाद सापकोटाको आड्मा सो ८८ केजी सुुनमा लगानी गरेको गोप्य रुपमा प्राप्त सुचनामा उल्लेख छ ।

पौडेल यसअधि पनि कोटेश्वरबाट बरामद भएको ३५ केजी सुन काण्डमा समेत प्रहरीले नियन्त्रणमा लिई बयान लिएको थियो । सो समयमा पौडेले ३० लाख रुपैयाँ रकम बुझाएर उनी हिरासत मुक्त भएका थिए । उनले पैसा खुवाएर र गृहमन्त्रीको आड्मा सो ८८ केजी सुनमा केही प्रतिशत लगानी गरेको उनी निकट व्यवसायीको आरोप रहेको छ ।

सो ८८ केजी सुन काण्डप्रति गृहमन्त्री शर्मा र आईजीपी प्रकाश अर्याल समेत मौन रहेका छन् । गृहमन्त्री शर्माले पार्टीका निकट प्रहरी अधिकृतलाई रसुवा र नुवाकोटको इन्चार्ज बनाएर पठाए लगत्तै सुन तस्करी फस्टाएको आरोप समेत लागेको छ । तस्करीमा संलग्न चिनियाँ नागरिकको परराष्ट्र तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग समेत सम्बन्ध देखिएको छ ।  प्रहरीले बरामद गरेको सुनमा पौडेलको पनि लगानी भएको खुलासा भएको छ । उनलाई सिन्धुपाल्चोक माओवादीका नेता तथा सांसद सापकोटादेखि सबै मिलेर माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट गृहमन्त्री शर्मालाई भनेर जोगाइएको थियो । उनलाई गृहमन्त्री शर्माकै निर्देशनमा पक्राउ हुनबाट जोगाएको र हाल पौडेल भारत गएको स्रोतको दाबी रहेको छ ।