कृषि विकास बैंक कर्मचारीको मिलेमतोमा एघार लाख ठगी

कृषि विकास बैंक कर्मचारीको मिलेमतोमा एघार लाख ठगी


सुरक्षित तथा विश्वसनीय आर्थिक कारोबारका लागि सेवाग्राहीहरू बैंकलाई माध्यम बनाउँछन् । तर, बैंकको कमी–कमजोरी एवम् लापरबाहीका कारण सेवाग्राही नागरिकले अनेक प्रकारका सास्ती झेल्नुपर्ने, नोक्सानी व्यहोर्नुपर्ने घटना पछिल्ला दिन बढेर गएको पाइन्छ । खासगरी सरकारी स्वामित्वमा रहेका बैंकसँगको कारोबार तथा बैंक–कर्मचारीले ग्राहकसँग गर्ने व्यवहारबारे निकै टीका–टिप्पणी सुनिन्छ । यस्तै घटनाको पछिल्लो उदाहरण बन्न पुगेका छन् ललितपुर सानेपास्थित आकास्ना ट्रेडिङका प्रोपाइटर रोशन घिमिरे । जो सरकारी स्वामित्वको कृषि विकास बैंक तथा बैंक कर्मचारीको लापरबाहीका कारण करिब एघार लाख रुपैयाँ गुमाउनुपर्ने अवस्थामा पुगेका छन् ।

पीडित घिमिरेले बताएअनुसार उनको कम्पनी आकास्ना ट्रेडिङले जिल्ला समन्वय समिति डोटीलाई सेवा उपलब्ध गराएबापत सो समितिबाट भुक्तानी पाउनुपर्ने रकम बैंक कर्मचारीको दुर्नियत तथा लापरबाहीकै कारण बेपत्ता हुन पुगेको छ । जिसस डोटीले आकास्नाको नाममा गत वैशाख २१ गते राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाको चेक नम्बर ००२१७२९७४० बाट ए/सी पेई भुक्तान हुने गरी १० लाख ९१ हजार दुई सय बैसट्ठी रुपैयाँको चेक उपलब्ध गराएको थियो । सो चेक बुझ्न कम्पनीले खटाएको प्रदीप गौतम नामका व्यक्ति चेक बुझेर हालसम्म सम्पर्कमा नआएपछि सोधखोज गर्ने क्रममा गौतमले जिसस डोटीबाट चेक हात पारेको, तर कृषि विकास बैंकको डोटी सिलगुडी शाखाका कर्मचारीसँग मिलेमतो गरेर रकम पचाएको खुलासा भयो ।

चेकको रकम जिल्ला समन्वय समितिको खाताबाट ट्रान्सफर भएको देखिनु, तर आकास्ना ट्रेडिङको एभरेष्ट बैंकको खातामा आजका मितिसम्म पनि जम्मा नहुनु अवश्य पनि गम्भीर बैंकिङ लापरबाही या ठगीको घटना हो । पीडित पक्षले रावा बैंक डोटी शाखामा बुझ्दा उक्त चेकको रकम कृषि विकास बैंक डोटी सिलगुडी शाखाको कुनै खातामा ट्रान्सफर भएको जानकारी मिल्यो । तर, आकास्ना ट्रेडिङको एभरेष्ट बैंकमा रहेको खातामा जम्मा हुनुपर्ने एसी पेई चेक खाता नै नभएको कृषि विकास बैंकमा कसरी जम्मा हुन पुग्यो र त्यहाँबाट सो रकम कहाँ बेपत्ता भयो भन्ने आश्चर्यपूर्ण सवाल पैदा हुन पुग्यो । यस प्रश्नको जवाफ माग्दा कृषि विकास बैंक डोटी शाखाका जिम्मेवार कर्मचारीहरू गोलमटोल जवाफ दिएर पन्छिने गरेको पीडित कम्पनीका एक साझेदार धीरेन केसी बताउँछन् । उक्त बैंकका कर्मचारी र चेक बुझेर ल्याउने प्रदीप गौतमको मिलेमतोबिना यसरी रकम अर्कै खातामा जम्मा हुन र त्यहाँबाट झिकेर लिन सम्भव नै नहुने उनको दाबी छ । यस प्रकरणमा कृषि विकास बैंक डोटी शाखाका व्यवस्थापक दीर्घ शाहको भूमिका पनि सन्देहपूर्ण रहेको उनी बताउँछन् । म्यानेजर शाहसँग उक्त रकमबारे बुझ्न खोज्दा झर्किएर जवाफ दिने गरेको पीडितको भनाइ छ । यसैगरी कृषि विकास बैंकको प्रधान कार्यालयका सम्बन्धित अधिकारीहरू खेतराज दाहाल र अरुणकुमार भट्टराईले पनि यति ठूलो रकम गायब तुल्याइएको विषयमा गम्भीरतापूर्वक छानबिनमा सहयोग नगरेको धीरेन बताउँछन् ।

यसरी एउटा कम्पनीको नाममा जारी भएको एकाउन्ट पेई चेक (जो एभरेष्ट बैंकमा जम्मा हुनुपथ्र्यो) डोटीस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कृषि विकास बैंकको मूल खातामा जम्मा हुन पुग्छ र त्यहाँबाट पनि कुनै असम्बन्धित व्यक्तिले झिकेर बेपत्ता हुन्छ भने यो नेपालको बैंकिङ क्षेत्रमा हुने गरेको लापरबाही तथा ठगीको गम्भीर मामला नबनिरहन सक्दैन । यसरी ‘सेटिङ’मा बेपत्ता भएको रकम आफ्नो खातामा आउनुपर्ने पीडित पक्षको माग छ । आफ्नो नाममा सरकारी कार्यालयबाट काटिएको एकाउण्ट पेई चेक हात नपर्दा राजश्व कार्यालयले समेत अप्ठ्यारो पार्न सक्ने गुनासो पीडित पक्षले गरेको छ । नेपालका वित्तीय कारोबार गर्ने समस्त बैंकहरूको कारोबार हेर्ने जिम्मेवारी रहेको नेपाल राष्ट्र बैंकले पनि यस्ता मामलामा आवश्यक छानबिन तथा कारवाही नगरी आनतरिक रूपमै डिसमिस पार्न लागेको आरोप समेत सम्बद्ध पक्षले लगाएको छ ।