काङ्ग्रेसको चाहना-शोभाकर पराजुली

काङ्ग्रेसको चाहना-शोभाकर पराजुली


नेपाली काङ्ग्रेसको लक्ष्य र दृष्टिकोणका बारेमा नपढेर र त्यही कारणले नजानेर केही विद्वान्हरूलाई पनि भ्रम परेको पाइन्छ । हुन त सबैले सबैका विचारहरू पढ्नैपर्ने जरुरी पनि हुँदैन । तर, कसैका बारेमा केही बोल्दा त्यसका बारेमा केही विषयमा जानकारी नै नभई बोलियो भने त्यसले उल्टो अवस्थाको सिर्जना गर्दछ । नेपाली काङ्ग्रेसलाई कतिपय अवस्थामा असहिष्णु पनि भन्ने गरिएको छ । वास्तवमा ठूला दलहरूमा नेपाली काङ्ग्रेसजस्तो सहिष्णु राजनीतिक दल इतिहासदेखि आजसम्म अर्को कुनै छैन । नेपाली काङ्ग्रेस आफ्नो दलको जस्तो हैसियत अरूको पनि हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यता राख्छ । बहुलवादमा विश्वास गर्छ । यो भनेको अरूको अस्तित्व र विचारलाई आफ्नोजस्तै अधिकार हुनुपर्छ भन्ने हो । बहुलवादमा विश्वास नगर्नेहरूले अरू विचार, अरू सोच र आफ्नो मूलभूत विचार भन्दा फरक रहनेहरूलाई अस्वीकार मात्र गर्दैनन् बरु त्यसलाई निषेध पनि गर्दछन् । उनीहरू कहिलेकाहीँ देखावटी रूपमा सम्हालिएको जस्तो गरेर आफ्नो दलले अरू दललाई निषेध गर्ने होइन बरु समाजमा नै स्वतः अन्य अग्रगमनविरोधीहरू निषेधित हुन्छन् भन्ने गर्दछन् । तर, अग्रगमनको परिभाषा उनीहरूले नै लगाउँछन् । त्यो परिभाषामा बन्दुक चलाउनु, जनतालाई डरमा बाँच्न बाध्य पार्नु, विरोध गर्नेहरूलाई मार्नुसमेत पर्दछन् । विकासको कुरा तपसिलमा पर्दछ । तर, विद्वान् भनिनेहरूले बुझ्नुपर्छ कि समाजमा स्वाभाविक रूपमा निषेधित हुने भनिएको विचार वास्तवमा त्यसरी नै निषेधित भएको हुन्छ त – जस्तो एउटा मात्र उदाहरण दिनुपरेमा रुसमा पहिला कम्युनिस्ट पार्टीमात्र थियो । अन्य दलहरू समाजबाट बिलाएर गएका थिए भनिन्थ्यो । कम्युनिस्ट तानाशाहीको अन्त्य भए पछि अन्य दलहरू निस्के बरु कम्युनिस्टहरूको सङ्ख्या दस प्रतिशतमा झर्दै छ । यो कस्तो निषेध थियो –
यसले के देखाएको छ भने कम्युनिस्टहरूको विकासको पक्ष स्वाभाविक छैन । विचारको विकास भन्ने पनि स्वतः हुने किसिमको छैन । जबर्जस्ती यो नै जनताको विचार भन्यो, जनतालाई स्वतन्त्र रूपमा छान्ने अधिकार नै छैन । त्यसैले अग्रगमन वैचारिक रूपमा होस् वा विकासको हिसाबले होस्, त्यो स्वाभाविक र जनताले स्वेच्छाले चाहेको आधारमा हुनुपर्छ । पूर्वनिर्धारित किसिमले विशेषतः कम्युनिस्टहरूले भविश्यवाणी गरेको आधारमा हुने भनेको विकास पुरानो कुराको रटान हो र प्रतिगमन हो । यसलाई उनीहरू अग्रगमन भन्छन् । समयअनुसार परिस्कृत हुने लोकतान्त्रिक विचार प्रतिगमनकारी र पहिलाको कुरालाई विरोध गर्न नपाइने किसिमले, जडसूत्रवादी तरिकाले पक्रने कार्य अग्रगमन हुन सक्दैन ।
कम्युनिस्ट साथीहरू नै हामीहरूको संस्कृति एउटै हो र लोभ, क्रोध र मोह हामीमा हुन्छ पनि भन्नुहुन्छ । यसलाई नेपाली वा सबै मानवजातिको साझा अवस्था वा रोग भने हुन्छ । कम्युनिस्ट मित्रहरू यसो भनिरहँदा पनि पुनः कम्युनिस्ट बनेपछि ऊ अब्बल दर्जाको मानिस हुन पुग्दछ र उसमा व्यापक कसीको आवश्यकता पर्दैन भन्ने पनि गर्नु हुन्छ वा व्यवहारले देखाउनु हुन्छ । काङ्ग्रेसको सबैभन्दा सबल र मानवतावादी पक्ष र कम्युनिस्टहरूको अमानवताबादी पक्ष यहीँनेर छ । काङ्ग्रेस मानिसमा कमजोरीहरू हुन्छन् त्यसैले उसलाई बहुलवाद, लोकतन्त्र, पारख र सजाय गर्ने विभिन्न स्वतन्त्र निकायहरूबाट मानिसलाई विशेषतः ठूला पदमा रहनेहरूलाई निगरानी गर्नुपर्छ र यो प्रक्रिया निरन्तर हुन आवश्यक छ भन्ने मान्दछ । यो कार्य काङ्ग्रेसले स्वयम् काङ्ग्रेसउपर पनि हुनुपर्छ भन्ने मान्यता राख्दछ । यसले सैद्धान्तिक रूपमा नै काङ्ग्रेस अरूको विचार, कटाक्ष, शङ्का, टीका-टिप्पणी, विरोध आदि आवश्यक छ भन्ने मान्दछ । यसले गर्दा मानिसमा रहेको कमजोरीले भूमिका खेल्न पाउँदैन र खेलेमा पनि कम खेल्दछ तथा त्यो पनि उत्तरदायित्वको कसीमा उभिनुपर्छ भन्ने मान्यता काङ्ग्रेसले लिएको हो । मानिसलाई पदको र विचारको कारणले अनावश्यक बलियो बनाउनुहुँदैन भन्ने पनि लोकतन्त्रको मान्यता हो । यसो हुनासाथ अर्थात् लोकतन्त्रको अभावमा मानिसको कमजोरी बलिया र बलियाहरूका नजिक हुनेहरूमा बढ्न थाल्दछ । चीनमा माओले चार बिहे गरे, उत्तरकोरियायी किम द्वितीयलाई प्लेब्वाय भनिन्छ, क्यास्ट्रोका ३५ हजार रखैल छन् । स्टालिन आफ्नी छोरीलाई कारमा पठाउँथे । स्टालिनको घरमा काम गर्नेकी छोरीलाई पनि आफ्नी छोरीले कारमा लगेको थाहा पाएपछि उनले छोरीलाई त्यसो गर्न निषेध गरे । पछि स्टालिनकी छोरी कम्युनिस्टले अन्यायलाई वैध बनाउँछ भन्दै विद्रोहमा उत्रिइन् र उनको नाम स्वेतलाना हो । स्टालिनले आफ्ना निकट व्यक्ति बढी लोकप्रिय हुँदै गएकोले मारे । इदि अमिनले मानिसको मासु मीठो हुन्छ भनेर खान थाले । मन लागेको जे पनि गर्ने अवस्था गैरलोकतन्त्रमा धेरै बढी हुन्छ ।
चीनमा अहिले विश्वमा सबैभन्दा बढी अर्बपति भएको अनुमान छ । आफ्नो विरोध गरेकोले माओले तेङलाई मार्न प्रयास गरेका थिए । धेरैलाई मारे । अहिले तेङको विचार चीनले लिएको छ । कम्युनिस्ट व्यवस्थामा सबैभन्दा ठूला पदमा रहेकाहरूले कहिल्यै भ्रष्टाचार गर्दैनन् । कस्तो राम्रो व्यवस्था – होइन । भ्रष्टाचार जेका लागि गर्नुपर्ने हो त्यो कानुनी अधिकार नै दिएर वा लिएर नेताहरूले मोज गरेका हुन्छन् । अनि किन भ्रष्टाचार – अर्थात् त्यहाँ ठूला नेताले गर्ने भ्रष्टाचारलाई वैध बनाइएको हुन्छ । क्यास्ट्रो, किम, माओदेखि अहिलेका ठूला नेताहरू कहिल्यै भ्रष्टाचारको आरोपमा परेनन् । किनभने उनीहरूले सन्तान पढाउनका लागि सबैभन्दा सुविधावाला संस्था पाउँछन् । जीवनका लागि गरिब, किसान, मजदुर आदिको शोषण गरेर सबैभन्दा बढी सुविधा पाएका हुन्छन् । अनि केका लागि भ्रष्टाचार – तर लोकतन्त्रमा त्यो हुँदैन र केही गल्ती गरेमा भ्रष्टाचारको आरोप लाग्दछ । दक्षिण कोरियाका राष्ट्रपति भएका मानिसलाई समेत भ्रष्टाचारको आरोप लाग्यो, उनले आत्महत्या गरे । लोकतन्त्रमा जति भ्रष्टाचार हुन्छ त्यो मापनबाट हेर्ने हो भने लोकतन्त्रविरोधी विशेषतः कम्युनिस्ट व्यवस्थामा अनगिन्ती बढी भ्रष्टाचार हुन्छ । लोकतन्त्रवादीले पुल भत्काउने, बाटो भत्काउने, बस तथा एम्बुलेन्समा बम हान्ने, दलको नीति भन्दै मानिस मार्ने, विद्युत् टेलिफोन आदिका टावरमा बम हान्न सक्छ – सक्दैन । लोकतन्त्रको विशेषता नै यो हो ।
त्यसैले जति नै भने पनि काङ्ग्रेसहरूले चाहे पनि कम्युनिस्टहरू जस्तो बिनालगामका भ्रष्टाचारी र अव्यावहारिक तथा आफ्नो विचारमा घमण्ड गर्ने हुनै सक्दैनन् । जनतामा विचारलाई अनुमोदन गर्नुपर्ने हुँदा त्यो अस्वाभाविक भएमा पाखा लाग्नुपर्छ जुन कम्युनिस्ट विचारमा सम्भव छैन । लोकतन्त्रमा परिवारवाद पनि हुन्छ । कुनै दल परिवारवादबाट पीडित पनि हुन सक्दछ तर त्यो कम्युनिस्ट देशमा जस्तो हुँदैन । पाकिस्तानमा बेनजिरको सरकार भएको समयमा परिवारका धेरै सदस्यलाई पाकिस्तान पिपुल्स पार्टीको सरकारका पद दिएकोले अर्को चुनावमा जनताले नराम्रोसँग हराएका थिए । पुनः त्यो सुधारिएपछि उनको दलको सरकार बनेको छ । तर, के कम्युनिस्ट व्यवस्थामा यो सम्भव छ – बरु माओवादीसमेतका नेताहरू उत्तर कोरियाका किम द्वितीय राजाको जन्मोत्सवमा जयजयकार गर्न नेपालस्थित उत्तर कोरियाली राजदूतावासमा केही वर्ष पहिला गएका थिए । यो लोकतन्त्रमा सम्भव छैन र भएमा जनताले नरुचाएको आधारमा सजायको भागिदार बन्नुपर्छ ।
नेपालमा काङ्ग्रेसले लोकतन्त्रको बारेमा प्रस्ट धारणा राखेको छ । तर, लोकतन्त्रविरोधीहरूले लोकतन्त्रको मर्म बुझ्न सकेका छैनन् । यो देशका लागि समस्या भएको छ । लोकतन्त्रको मर्मलाई आत्मसात् गर्न कहिल्यै नजानेकाहरूको वर्चस्वले गर्दा देशमा यो हविगत भएको छ । लोकतन्त्रबाटै भए पनि निषेधको राजनीति गर्न सकिन्छ कि भनेर केही दल र त्यसका नेताहरू लागिपरेका छन् । बहुलवादसँग पनि उनीहरूको विमति छ । शक्ति पृथकीकरणसँग पनि आपत्ति छ । अरूले चाहेर पनि कसैलाई निषेध गर्न नसक्लान् तर काङ्ग्रेसले कोही पनि शान्तिपूर्ण राजनीति गर्ने र विचार राख्नेलाई निषेध गर्दैन । यसले गर्ने भनेको वैचारिक प्रतिस्पर्धा हो । निषेधको तर्कसँग काङ्ग्रेससँग गोरु बेचेको साइनो पनि छैन । कुनै कुरालाई निषेध विकासले गर्दछ । त्यो वास्तवमा निषेध नभई परिस्कार हुन जान्छ । शब्दको पनि प्रयोगमा हामीबीच धेरै भिन्नता छ । तर, कम्युनिस्टहरूको शब्द-सञ्जालले गर्दा हामी पनि केही शब्दहरूमा तौल गर्न अप्ठेरोमा पर्ने गरेका हुन्छौँ ।
काङ्ग्रेसले माओवादी चुनावबाट ठूलो दल भएको तथ्यलाई मानिदिएको छ । साथसाथै त्यो ठूलोलाई मान्दा पनि जनताको जति मत आएको मानिए पनि जनताले लोकतन्त्र र शान्ति-सम्झौताको विपक्षमा जानका लागि तथा मानवअधिकारको विपक्षमा जानका लागि र देशलाई आफ्ना दलगत सेना राखेर सैन्यकरण गर्नका लागि माओवादीलाई मत दिएका होइनन् । माओवादी नागरिक दल बन्नासाथ र मानवअधिकारको पक्षमा रहना साथ काङ्ग्रेसले उसको हैसियतभन्दा बढी सहयोग उसलाई गर्न तयार छ । अर्थात् माओवादीको बहुमत नभए पनि सरकारको नेतृत्व दिन काङ्ग्रेस तयार छ । बहुमत गल्ती गर्ने छुट हो भन्ने भ्रम छ भने त्यो भ्रम सबैले हटाउनुपर्छ । डाक्टरी पढेको छुरी चलाएर मानिस मार्न होइन, मानिस बचाउन हो । त्यस्तै लोकतन्त्रमा माओवादीले भाग लिएको लोकतन्त्र नास्न होइन भन्ने उनीहरूले बुझ्नुपर्छ ।
काङ्ग्रेस वेस्टमिनिस्टर प्रणालीका लागि सती जाने दल होइन । यो भ्रमबाट प्रस्ट भएर अन्य दलहरूका राजनीतिज्ञहरूले बुझे हुन्छ । केवल वेस्टमिनिस्टर प्रणाली राम्रो भएमा त्यसलाई किन नलिने – भन्नेसम्म हो । बेइमानी वेस्टमिनिस्टर प्रणालीमा मात्र भएका छैनन् । श्रीलंकामा, इरानमा तथा उत्तर कोरियामा वेस्टमिनिस्टर प्रणाली छैन तर बेइमानी छ । जापानमा वेस्टमिनिस्टर प्रणाली छ तर अपेक्षाकृत इमान्दारी छ । खराबहरू विभिन्न विचार बोकेका देशहरूमा छन् र राम्रा पनि छन् । तर, एउटा सत्य के हो भने कम्युनिस्ट एकदलीय व्यवस्था भएका देशमा भने खराबी बढी छन् तर विरोध गर्न सकिँदैन । एकदलीय, बहुलवादविरोधी विचार भनेको महेन्द्रवादी, तालिवानी, इदिअमिनवादी, माओवादी आदि जस्तो भए पनि र फरक-फरक जस्तो लागे पनि उस्तैउस्तै हो । काङ्ग्रेसले बहुलवाद मान्ने कुनै पनि व्यवस्थालाई अधिनायकवादी मान्दैन भन्ने यी भनाइबाट पनि प्रस्ट हुन्छ ।
सङ्घीयताको बारेमा पनि काङ्ग्रेस प्रस्ट छ । अधिनायकवादी स्टालिनले जर्जियामा गरेको भाषणमा सङ्घीयताको बारेमा यसो भन्नुभएको थियो, माओले उसो भन्नुभएको थियो, महान् राजा कम्युनिस्ट किमले यसो भन्नुभएको थियो, त्यसैले सङ्घीयताको मोडल यस्तो हुनुपर्छ भन्ने मान्यतामा काङ्ग्रेस छैन । काङ्ग्रेस सङ्घीयता चाहन्छ । तर, यो दललाई थाहा छ कि सम्भवतः कम्युनिस्टहरूको विश्वासजस्तो एउटा राजनीतिज्ञ भएपछि उसले डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, वकिल, न्यायाधीश, वैज्ञानिक आदि सबै पनि हुन्छ भन्ने होइन । यसले सङ्घीयतालाई बढी उपयुक्त बनाउन विशेषज्ञहरूको राय महत्त्वपूर्ण हुन्छ । सबैलाई पायक र सजिलो पर्ने गरेर विशेषज्ञहरूको राय आएपछि त्यसमा अरू पक्षले हेर्ने र पहिला पनि उनीहरूलाई सल्लाह दिनेजस्ता कार्यहरूको बकालत गर्नु सङ्घीयताविरोधी वा दोधारे वा अस्पष्ट होइन बरु वैज्ञानिक सोच हो भन्ने हामीले बुझ्नुपर्छ ।
काङ्ग्रेस जहिले पनि आर्थिक रूपान्तरणको पक्षमा छ । यसले बम हानेर विकासका पूर्वाधार नष्ट गर्ने, मानिस मार्ने आदि कार्यहरूलाई आर्थिक रूपान्तरण मान्ने गरेको छैन र मान्ने छैन । गरिबको हित, विकास र त्यो विकासलाई समानतामा ढाल्नुमा छ । त्यसको पक्षमा सबै रहनुपर्छ । यी भावनामा सबै एक भए शान्ति, संविधान र सरकारको कुनै समस्या नरहने मात्र होइन देशको उच्चतम हित हुनेछ भन्नेमा काङ्ग्रेस प्रस्ट छ र काङ्ग्रेसको चाहना पनि यही हो ।