रामचन्द्रको घर’देखि सुशीलको डेरा’सम्म -शिवजी श्रेष्ठ

रामचन्द्रको घर’देखि सुशीलको डेरा’सम्म -शिवजी श्रेष्ठ


केही दिनअगाडि नेपाली काङ्ग्रेससँग नजिकको नाता राख्ने तरुण साप्ताहिक -४ अक्टोबर २०१०) ले नेपाली काङ्ग्रेसका संसदीय दलका नेता तथा प्रधानमन्त्रीय निर्वाचनका एक्ला उम्मेदवार रामचन्द्र पौडेलका काठमाडौं अवस्थित घरहरूको बारेमा प्रकाशन गरेको अत्यासलाग्दो समाचार पढेपछि केही कुराहरू मनमा खेल्न थाले । यो समाचारको सत्यताको बारेमा भिन्न अनुमान गर्न पुगेँ, कि त यो चालू प्रधानमन्त्रीय निर्वाचनको पृष्ठभूमिमा खेलिएको खेल हो, या त पार्टीभित्रको गुटबन्दीको परिणाम । या त हाम्रा नेता सक्षम र धनी भएको सुखद समाचार ।
कुनै दिन यस्तो पनि थियो- नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले रामचन्द्र पौडेललाई भविष्यको एउटा आशा र भरलाग्दो नेताको रूपमा लिन्थे । समाजवादी र सरल जीवन अनि लगातार मन्त्री हुँदा पनि स्वच्छ छवि बनाउन सफल भएको हुँदा पार्टीइतरका शक्तिले समेत सम्मानित दृष्टिकोण राख्दथे । केही समयअगाडि नेपाली काङ्ग्रेसका केही नेताहरू भ्रष्टाचारको आरोपमा समातिँदा कार्यकर्ताले हामीसँग रामचन्द्रजस्ता स्वच्छ नेता पनि छन् भनी सान्त्वना दिन्थे । तर, आज उनै नेताको अकल्पनीय घरघडेरीको विवरण बाहिर आउँदा उनीप्रति आशावादी, पार्टीप्रति आस्थावान अनि देशप्रति नजर राखेर बसेकाहरू अचम्भित, आशङ्कित अनि आशाहीन भइराखेका होलान् । अझ यस समाचारप्रति सम्बन्धितको तटस्थता, पार्टीको मौनता झन् अचम्मलाग्दो छ ।
हुन त आरोप लाग्दैमा आशङ्कित र आशाहीन हुनु हतार हुन सक्छ । आरोप उनलाई मात्र हैन बीपी, गणेशमान सिंहजस्ता नेतालाई पनि लागेका थिए । २०१६ सालमा नेपाली काङ्ग्रेसको सरकारमा मन्त्री रहेका शिवराज पन्तसहित गणेशमान सिंहमाथि राजा महेन्द्रले ‘पैसा बनाएको’ आरोप लगाएका थिए । तर, तिनै राजाले छानबिन गर्न गठित विष्णुमणि आ.दी.को टोलीले गणेशमान सिंहलाई निर्दोष सावित गरेको थियो । अनि २०१७ सालको काण्डपछि बीपीले शशिशमशेरसँग पैसा लिएको आरोप त राजा महेन्द्रको राजनीतिक चातर्ुयता मानिएको थियो । गणेशमान सिंह र शिवराज पन्तप्रति राजाले लगाएको आरोपको बारेमा प्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति बीपीले नै राजालाई छानबिन गर्न चुनौती नै दिएका थिए । तर अहिलेको मामिलामा पार्टी पङ्क्तिको मौनता अचम्मलाग्दो छ नै, यसले सम्बन्धित व्यक्ति अनि सिङ्गो पार्टीलाई नै फाइदा पुर्‍याउँदैन ।
नेपाली काङ्ग्रेसको इतिहासमा सुवर्णशमशेरको पुख्र्यौली थलोबाहेक कुनै पनि नेपाली काङ्ग्रेसका सभापतिको आफ्नै घर काठमाडौंमा थिएन र छैन पनि । चाहे त्यो विश्वेश्वरप्रसाद -बीपी) होस् वा कृष्णप्रसाद -किशुनजी), गिरिजाबाबु होस् वा हालका सुशील कोइराला । प्रधानमन्त्री भएर बालुवाटारबाट बाहिरिँदा छाता, सुराही र ट्याङ्का बोकेर निस्कने किशुनजीको कुनै समय आर्श्चर्यलाग्दो गौरवपूर्ण चर्चा हुन्थ्यो । यस्तो इतिहास र वर्तमान भएको पार्टीका संसदीय दलका नेताको घरघडेरीका बारेमा निस्किएका अत्यासलाग्दो समाचार निजको निजी मामिला मात्रै होइन र मान्न पनि सकिन्न । यो नेपाली काङ्ग्रेसका कार्यकर्ताको चासोको विषय हुनसक्छ, हुनुपर्छ र हो पनि । किनकि कार्यकर्ताहरूको अर्थ नेताको चर्तिकला टुलुटुलु हेरिरहने मात्रै होइन । नेपाली काङ्ग्रेसका कार्यकर्ता आर्श्चर्यचकित त छन् नै र कामना पनि गर्छन् त्यो समाचार गलत होस् ।
एकताका सक्रिय राजनीतिमा सक्रिय हुँदै कृष्णप्रसाद भट्टराईले आफू बसेको डेराको बरण्डामा निस्किएर भेट्न आउने कार्यकर्ताहरूलाई कुनै नेताको घर देखाएर भन्थे रे, ‘हाम्रा इमान्दार मन्त्री भनाउँदाले त त्यस्ता घर बनाए भने अरूको के कुरा गर्नु -‘ यसै प्रसङ्गमा आजभन्दा दुई दशक अगाडि गणेशमानजीले अन्तरिम सरकारका यातायात मन्त्री मार्शलजुलुम शाक्यलाई इङ्गित गर्दै भनेका कुरा स्मरणमा आउँछ । गणेशमानजीले भन्नुभएथ्यो, ‘हाम्रा मन्त्रीहरू चाँडै गन्हाए ।’ वि.सं.२०१७ सालको काण्डमा जिपमा माइक राखेर राजा महेन्द्रलाई चेतावनी दिने तिनै मार्शलजुलुम शाक्य आज कहाँ छन् –
धेरै दुःख लाग्छ- पवित्र इतिहास भएका नेताहरू, त्याग र तपस्या गरेर एउटा श्रद्धा प्राप्त गरिसकेका नेताहरू जब आर्थिक मामिलामा गन्हाउन थाल्छन् वा आरोपित हुन्छन् । यस्तै दुःख लागेको थियो, वि.सं. २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी, गणेशमानजीहरू नेपाल र्फकँदा एउटै प्लेनमा सँगै र्फकने गौरव प्राप्त गर्नुभएका खुमबहादुर खड्का अख्तियारको फन्दामा पर्दा ।
पटक-पटक सत्ताको केन्द्रबिन्दुमा रहेर पनि डेरामा बसिरहेका सुशील कोइराला सभापति रहेका नेपाली काङ्ग्रेसका केही उच्च नेताहरूको हालत उदेकपूर्ण त छ नै । अन्य पार्टीका नेताहरूका हविगत पनि त्योभन्दा फरक छैन । चाहे त्यो एमालेका प्रदीप नेपालले २०५६ चैत २६ गते नेपालको १ नं. भ्रष्टाचारी -एक अर्ब १६ करोड ९ लाखको सुन भित्र्याएको) भनी खुलामञ्चमा घोषित एमाले उपाध्यक्ष वामदेव गौतम हुन् वा डेढलाखे खाट र घडीको चर्चामा परेका माओवादीका अध्यक्ष प्रचण्ड हुन् । यी कुनै पनि समाचार र प्रसङ्ग उत्साहपूर्ण छैन । ‘नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेताहरू २०४७ साल फागुन/चैततिर सांसद बन्ने आकाङ्क्षामा पार्टीको टिकटको निम्ति बागबजार र पुतलीसडक ओहोर-दोहोर गर्दा चाइनिज वारियर जुत्तामा पैदलै ओहोर-दोहोर गर्थे । -स्रोत ः भ्रष्टाचारको शल्यक्रिया – हरिबहादुर थापा) । कठै कहाँ गए होलान् आज ती दिन –
अहिले नेपाली काङ्ग्रेस र नेकपा एमालेका कुन नेताहरू होलान् जो मन्त्री भएपछि काठमाडौंमा घर नबनाएका होऊन् । मन्त्री हुनुअघि न त एमालेका केपी ओली, भरतमोहनका काठमाडौंमा घर थिए न त नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्काका । तर आज… –
जब यी नेताहरू पहिलोपटक मन्त्री भएका थिए, तिनका सम्पत्ति-विवरण पेस हुँदा रामचन्द्र पौडेलको तनहुँ रिस्ती र दमौली बजारमा ७-९-० र खेतीयोग्य जमिन ३५-०-० । सुन ६ तोला र चाँदी १४ तोला । अनि चिरञ्जीवी वाग्लेको गोरखा बुँकोट-८ मा ६ रोपनी र खेतीयोग्य जमिन ५९ रोपनी । नगद ९० हजार र सुन ९ तोला । -स्रोत ः मन्त्रीहरूको सम्पत्ति विवरण, गोरखापत्र दैनिक २० भदौ २०४८) । त्यस्तै हविगत छ नौमहिने एमाले सरकारका मन्त्री केपी ओली, भरतमोहनहरूको पनि । यिनका पनि झापा र मोरङमा घरजग्गा मात्र छ भने ओलीको नाममा १,४५,००० बैंक ऋण -स्रोत ः मन्त्रीहरूको सम्पत्ति-विवरण, गोरखापत्र दैनिक २७ मंसिर २०५१) । तर आज यिनीहरूको हैसियत कहाँ छ – यी त दृष्टान्त मात्र हुन् । यो नियम अधिकांश नेताहरू मात्र होइन, प्रशासकहरूमा पनि लागू भएको छ ।
यदि अहिले रामचन्द्र पौडेलका बारेमा छापिएका समाचार सही हुन् र बालाजु बोहोराटारको साढे तीन रोपनी जग्गामा बनेको १३ कोठे घर अपायक परेर लाजिम्पाटको आनाको साठी लाख पर्ने तीन रोपनी जग्गामा बनेको १२ करोड -मालपोत कार्यालयले तोकेको न्यूनतम मूल्यमा पास गरेको मूल्य) को घर किनिएको हो भने डेरामा बसिरहेका पार्टी सभापति चुप बस्नु अन्याय हुन्छ । अख्तियारले खोजी गर्ला भन्ने आशा गर्ने हो भने यसरी नै अकुत कमाएका र यिनै नेताहरूले भागवण्डामा सिफारिस गरेकाहरूले के खोजी गर्लान् – बरु उल्टै त्यसलाई देखादेखी कानुनी बनाइदिन्छन् । अरू पार्टीले के गरे/गरेनन् -एमालेले पार्टी एकतापछि गौतममाथि लगाएको भ्रष्टाचारको आरोप फिर्ता लिने निर्णय एमाले स्थायी समितिको निर्णय २०५९ मङ्सिर ४) भन्नेतिर जानुभन्दा आर्थिक रूपमा स्वच्छ छवि बनाएका सुशील कोइरालाले आफ्नो पार्टीभित्र छानबिन सुरु गर्न सक्नुपर्छ । यसमा दुईवटा कुरा हुनसक्छ । यस मामिलामा कि त पार्टीले खण्डन गरेर बचाऊ गर्न सक्नुपर्छ -यदि होइन भने) या त छानबिन गरेर कानुनी दायरामा उभ्याउन सक्नुपर्छ । चाहे त्यो कुनै राम, श्याम वा हरि किन नहोस् । मौन बस्नु, सम्बन्धित व्यक्ति र पार्टीप्रति अन्याय हुनसक्छ ।
‘सुशील दा’ तपाईं सत्तामुखी कहिल्यै हुनुभएन, तर्सथ अब तपार्इंले लोभिनुपर्ने, तर्सनुपर्ने र आश गर्नुपर्ने कुनै पद र स्तर छैन । इतिहासको यस्तो मोडमा तपार्इं हुनुहुन्छ- राजनीतिलाई पेसा बनाएर सार्वजनिक सम्पत्ति लुँड्याउने आफ्ना पार्टीभित्रका नेताहरूको सम्पत्ति खोजी गर्नुहोस् । भ्रष्टाचारको प्रमाण सधैँ भेटिन्न । यसमा नेपाली काङ्ग्रेसकै नेता पूर्वसभामुख तारानाथ रानाभाटको तत्कालीन प्रतिक्रिया उद्वरण गर्न चाहन्छु । ‘भ्रष्टाचारका प्रमाण खोजेर पाइँदैन, प्रमाण भनेको जिम्मेवार तहमा बस्नेका जीवनस्तरमा आएको अस्वाभाविक परिवर्तन हो ।’ -२०५९-प्रतिनिधिसभा) । अझ भारतीय समाजवादी नेता डा. राममनोहर लोहियाको कथन सापटी लिँदा ‘नेतृत्वको विलासपूर्ण जिन्दगी आडम्बर र भ्रष्टाचारले जनताको मन कुँडिन्छ । शासक वर्ग विलासमा मस्त हुने र भ्रष्टाचार गर्ने अनि जनतालाई भने कष्ट सहन आह्वान गर्न सुहाउँदैन । आमजनतालाई प्रेरणा दिनका लागि पहिले शासक वर्गले नै सादगीको उदाहरण पेस गर्न सक्नुपर्छ । यसको मतलब आफू मात्र सादगी जीवन बिताउने भन्ने होइन । आफू डेरामा बसेर मात्र आर्थिक अनुशासन बन्छ भन्ने होइन । नेतृत्वको सर्वोच्च तहमा बसेपछि अरूलाई आर्थिक अनुशासनमा राख्न सक्नुपर्छ र यो आफ्नो कर्तव्य पनि हो । हाम्रो जस्तो गरिब देशका लागि राजनीतिमा आर्थिक स्वच्छता नै देश स्थापित प्रणालीमा हिँड्ने स्वावलम्बी बन्ने र बनाउने प्रमुख आधार बन्न सक्छ । यसको सुरुवात आफ्नै पार्टीका संसदीय दलका नेताबाट सुरु गर्नुहोस् । किनकि नेपाली काङ्ग्रेस आफ्नो इतिहासको यस्तो कठघरामा उभिएको छ, कमसेकम यसलाई बचाउन र देशलाई बनाउन केही त गर्नैपर्ने भएको छ ।