बिराटनगर प्रहरीद्वारा रातभर खोजी : बलात्कारी बाबा रहिमकी सहयोगी हनीप्रीत नेपालमा

बिराटनगर प्रहरीद्वारा रातभर खोजी : बलात्कारी बाबा रहिमकी सहयोगी हनीप्रीत नेपालमा


भारत हरियणाका विवादित बाबा गुरमित राम रहिम सिंह इन्सानको कथित छोरी भनिएकी हनीप्रीतलाई खोज्न  मोरङ प्रहरीको विभिन्न टोलीले सोमबार रातभरी खोजतलाश गरेको छ । उनी बलात्कार अभियोगमा भारतको रोहतक जिल्ला जेलमा सजाय भोगिरहेका ती विवादित बाबाको कथित धर्मपुत्री हुन् ।

भारतको हरियाणा पञ्चकुलास्थित केन्द्रिय जाँच ब्यूरो, सीबीआईको अदालतले राम रहिमलाई गत २८ अगस्तमा सजाए सुनाएको थियो । उनीमाथि एक पत्रकारको हत्या र अन्य ३८ साधवीमाथि बलात्कार आरोपको छिनोफानो हुन बाँकी नै छ ।

‘रातभरी खोज्यौं, प्रितम सिंह नाम भएको व्यक्ति विराटनगरमा फेला परेन,’ मोरङका प्रहरी प्रमुख उपरीक्षक अरुण बीसीले भने । हनीप्रीत यहाँ छन् भने उम्किन नदिने गरी सुराकीहरुसँगै सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । यससँग सम्बन्धित कुनै सूचना भएमा वा कतै शंकास्पद गतिविधि देखेमा खबर गरिदिन नागरिक समाजसँग प्रहरीले आग्रह गरेको छ । उनको नेपालमा पनि प्रशस्तै अनुयायीहरु छन् ।

भारतको राजस्थानमा जन्मेका ५० वर्षीय बाबालाई दुई साधवीको बलात्कार अभियोगमा अदालतले २० वर्ष सजाय सुनाएलगतै उनकी आत्मीय सहयोगी हनीप्रीत एकाएक बेपता भएकी थिइन् । भारतका राष्ट्रिय सञ्चारमाध्यमले उनी विराटनगरमा डेरा सच्चा सौदाका अनुयायी प्रितम सिंहको घरमा बसिरहेको भनेपछि मोरङ प्रहरीले रातभरी संभावित र शंकास्पद थलोहरुमा खोजी गरेको थियो ।

‘उनकै कारणले हाम्रो आन्तरिक सुरक्षामा समस्या नपरोस्, अनाहकको झमेला वा अनावश्यक होहल्ला नहोस् भनेर सतर्क छौं, फेला परेमा नियन्त्रणमा लिन्छौं, बाँकी प्रक्रिया दुई मुलुकका सरकारले पुरा गर्ने हो,’ एक प्रहरी अधिकारीले भने, ‘सीमावर्ती क्षेत्रमा कडा निगरानी राखेका छौं ।’

भारतीय न्यूज च्यानल एबिपि न्यूजले सोमवार साँझ यो खबर सार्वजानिक गरेको थियो ।  भारतका प्रमुख सञ्चार माध्यमका संवाददाताहरु हनीप्रीतलाई खोज्दै नेपालका प्रमुख सहरहरुमा पुगिरहेका छन् । उनी काठमाडौं, पोखरा, विरगञ्ज, विराटनगर, इटहरी र धरानमा देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । भारतीय प्रहरीले भने उनी नेपाल फरार भएको बारेमा केही बोलेको छैन ।

 

उनको लागि नेपालमा लुक्न सहज नहुने हुनाले अन्य कुनै छिमेकी मुलुकहरुतिर गएको हुनसक्ने एक उच्च सुरक्षा अधिकारीले विश्लेषण गरे । हनीप्रीत यसअघि पाकिस्तानमा रहेको भारतीय सञ्चार माध्यमले जनाएको थियो । उनको पक्राउमा सहयोग गर्नलाई भारतीय प्रहरीले पनि कुनै औपचारिक वा अनौपचारिक सहयोगका लागि नगुहारेको उनले बताए ।

धर्मपुत्रीको हैसियतमा उनी बाबा राम रहिमको हरियाणा सिरसास्थित डेरासच्चा सौदाको मुख्य आश्रममा बस्दै आएकी थिइन् । बाबाको महत्वपूर्ण कार्य, निर्णय, यात्रा र समारोहमा उनको मुख्य भूमिका हुन्थ्यो । भारत र विश्वभर डेरा सच्चा सौदाको ४६ सुविधा सम्पन्न आश्रम र लाखौ भक्तजन छन् ।  आश्रमका साधवी एवं आश्रमकै कलेजमा पढ्ने छात्राको बलात्कारमा बाबालाई सहयोग गरेको र सजाय सुनाउने बेलामा अदालतमाथि दबाब दिनलाई लाखौ अनुयायीहरुलाई उक्साएर हिंसा फैलाएको हनीप्रीतमाथि आरोप छ ।

फैसलाको दिन भएको हिंसामा ४० जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए । दोषी ठहरिएका बाबासँग हेलिकप्टरमा बसेर जेलसम्म गएकी थिइन् । राम रहिम अहिले बन्दी नं. १९९७ को पोसाक पहिरेर जेलमा सजाय काटिरहेका छन् । सजायलगतै उनले हेरचाहकोलागि हनीप्रीतलाई आफुसँगै राख्न जेल प्रशासनसँग आग्रह गरेका थिए । यो सबैबीच राम रहिमको ६ करोड भारतीय रुपैयाँ बराबरको सम्पति एवं आश्रमको उत्तराधिकारी मानिएकी हनिप्रीतको अत्तोपत्तो छैन । उनी पक्राउ परेपछि मात्र बाबाको बाँकी रहस्यबाट पर्दा उठ्ने भारतीय प्रहरीले भनिरहेको छ ।

उच्च महत्वाकांक्षी स्वभावकी उनी राम रहिमद्वारा निर्मित थुप्रै चलचित्रहरुको निर्देशक, सम्पादक एवं अभिनेत्री रहिन् । बाबामाथि बनेको चलचित्र ‘हिन्द का नापाक को जवाब’ मा २१ फरक भूमिका निभाएर उनले ज्याकी च्यानको रेकर्ड समेत तोडिन् । वास्तविक नाम प्रियंका तनेजा रहेको हनीप्रीतको विहे बाबाकै पुरानो अनुनायी विश्वास गुप्तासँग सन १९९९ को १४ फेब्रुअरीमा भएको थियो । नयाँ नाम भने बाबाले दिएका थिए ।