प्रधानन्यायाधीश पराजुलीलाई बेलायतले दियो पहिलो मौका

प्रधानन्यायाधीश पराजुलीलाई बेलायतले दियो पहिलो मौका


सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई एक साथ तीन समृद्ध मुलुकका प्रधानन्यायाधीशहरूबाट विशेष निमन्त्रणा प्राप्त भएको छ । जापान, रसिया र बेलायतका प्रधानन्यायाधीशहरूले उहाँलाई निम्ता दिएका हुन् ।

एसिया प्यासिफिक चिफ जस्टिसहरूको सम्मेलनमा भाग लिनका लागि जापानका प्रधानन्यायाधीशले निम्ता दिनुभएकोले गत आइतबार (असोज १ गते) उहाँ जापानतर्फ प्रस्थान गर्नुभएको छ । सम्मेलनमा प्रधानन्यायाधीश पराजुलीले एक कार्यपत्र पनि प्रस्तुत गर्नुहुने बुझिएको छ । जापानबाट उहाँ सोझै रसियामा आयोजित कार्यक्रममा सहभागी हुन जानुहुने र रसियाको कार्यक्रम समाप्त भएपछि लन्डनमा आयोजित समारोहमा भाग लिन जानुहुने भएको छ । लन्डनमा आयोजित समारोहमा पनि प्रधानन्यायाधीश पराजुलीले आफ्नो विचार प्रकट गर्ने कार्यक्रम रहेको छ ।

बेलायतका प्रधानन्यायाधीशबाट नेपालको प्रधानन्यायाधीशलाई विशेष निमन्त्रणा भएको यो पहिलो घटना भएको र यस्तो मौका पाउने प्रथम प्रधानन्यायाधीश पनि गोपाल पराजुली बन्नुभएको छ । पराजुली बेलायतमा आयोजित कार्यक्रमको समापनपश्चात् अबको दुई सातापछि स्वदेश फर्कनुहुने बताइएको छ ।