पार्टी प्रवेश गरे सामाजिक अभियन्ता

पार्टी प्रवेश गरे सामाजिक अभियन्ता


सङ्घारमै आइपुगेको विजयादशमी, दीपावली र संघ तथा प्रदेशको निर्वाचन समेतलाई मध्यनजर बनाई नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले शुक्रबार सचिवालय बैठक सम्पन्न गरेको छ । मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित बैठकमा नजिकिएका चाडपर्वलाई यथासक्य कम खर्चिलो ढङ्गले मनाउने, कसैले मदिरा सेवन गरी होहल्ला गर्ने या कानुनविपरीत आचरण गरेमा त्यस्ता प्रवृत्तिलाई कुनै हालतमा पश्रय नदिइने र तिनको संरक्षणका लागि प्रशासनिक निकायको ढोका नघच्घच्याइने निर्णय गरिएको बुझिएको छ ।

पार्टीप्रति जनाकर्षण बढाउन विजयादशमी मनाउन स्वदेश तथा विदेशबाट जिल्ला भित्रिनेहरूलाई सम्बन्धित गाउँ–बस्तीबाट सुझाव संकलनसहित शुभकामना आदानप्रदान गर्ने रणनीति एमाले अर्घाखाँचीले बनाएको छ ।

यसैगरी उक्त बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर १ को संयोजकमा दलबहादुर भट्टराई र क्षेत्र नम्बर २ को संयोजकमा बुद्धि भुसाललाई चयन गर्दै सम्बन्धित क्षेत्रभित्रका गाउँ तथा नगरपालिका संगठन कमिटीका सचिवालय सदस्यहरू सदस्य रहने निर्णय गरेको छ ।

नेकपा एमाले अर्घाखाँचीका लागि महत्वपूर्ण मानिएको सो बैठककै क्रममा सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसाललाई जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले टीका तथा खादा ओढाई पार्टीमा स्वागत गरेका थिए ।

स्वतन्त्र रूपले सामाजिक अभियानमा संलग्न रहेका भुसाल एकाएक एमाले पार्टी प्रवेश गरेकोमा कतिपयले आश्चर्य प्रकट गरे पनि स्वयम मुक्ति भुसालले चाहिँ पछिल्लो समयमा राष्ट्रवादी छवि मुखरित गरिरहेको एमालेमा आवद्ध हुँदा समाज र देशको लागि अझै थप कार्य गर्न सक्ने आफूले ठानेको तर्क दिएका छन् ।

मन्तव्य राख्दै उनले अर्घाखाँचीमा सुशासन र जिल्लाको अनियमितता सार्वजनिक गर्ने सवालमा घटना र विचार साप्ताहिक तथा सो पत्रिकाको अनलाइन संस्करणको महत्वपूर्ण भुमिका रहेको बताए । आफू पार्टीको आदर्र्शप्रति आस्थावान भए पनि एक सञ्चारकर्मी हुनुको नाताले गलत गर्ने कसैलाई पनि संरक्षण दिन नसक्ने उनले बताउँदा सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको सभापतित्व, प्रदेश नम्बर ५ का संगठन कमिटीका सदस्यहरू रामजी घिमिरे, नरेन्द्रकुमार क्षेत्री, पिताम्बर भुसाल, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कुटमदिन अली, पार्टी केन्द्रिय स्कुल विभाग सदस्य बुद्धिबहादुर रायमाझी आदिको विशेष उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन एमालेका जिल्लासचिव रामबहादुर चौहानले गरेका थिए ।


– जनार्दन धनन्जय