बेइजिङमा इन्टरपोलको ८६औँ महासभा आयोजना हुँदै

बेइजिङमा इन्टरपोलको ८६औँ महासभा आयोजना हुँदै


चीनको बेइजिङमा यही असोज १० देखि १३ गतेसम्म सम्पन्न हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ८६औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक प्रकाश अर्याल शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । इन्टरपोलका १९० सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने महासभामा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक अर्यालसँगै प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारी र प्रहरी उपरीक्षक किरण बज्राचार्यले पनि सहभागिता जनाउने छन् ।

चीनका राष्ट्रपति सि जिन पिङद्वारा चाइना नेशनल कन्भेन्सन सेन्टर बेइजिङमा उद्घाटन हुने उक्त महासभामा इन्टरपोल कार्यसमितिका अध्यक्ष मेङ होङउई, महासचिव जर्गेन स्टक, कार्यसमितिका पदाधिकारीहरुलगायत इन्टरपोलका १९० सदस्य राष्ट्रका प्रहरी प्रमुखको साथै विशिष्ट प्रतिनिधिहरु एवम् सुपरीवेक्षकको समेत सहभागिता हुने बताइएको छ ।

चार दिनसम्म चल्ने उक्त महासभामा प्रमुख रुपमा ‘इन्टरपोल २०२० योजना कार्यान्वयन’ अन्तर्गत विश्वव्यापी चुनौतीको रुपमा स्थापित प्रतिआतंकवाद, संगठित अपराध (मानव बेचबिखन, वन्यजन्तु अपराध, प्रवासी तस्कर) र साइबर क्राइमका विषयमा छलफल केन्द्रित हुने नेपाल प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ । बताएअनुसार प्रहरी क्षमता अभिवृद्धिका निम्ति इन्टरपोलको प्रविधि र विकासलाई सदस्य राष्ट्रहरुमा विस्तार गरी ‘इन्टरपोल ग्लोबल ट्रेनिङ रणनीति’ माथि पनि महासभामा छलफल हुनेछ ।

प्रतिआतङकवादका सम्बन्धित विशेषज्ञलगायतका प्रतिनिधिहरुबीच त्यस्ता संदिग्ध व्यक्तिको पहिचान गरी तिनको भ्रमण, अनलाइन उपस्थितिलाई निरुत्साहित गर्नका लागि विशेष छलफल हुनेछ । साथै, इन्टरपोलका कार्यकारिणी समितिका विभिन्न पदमा निर्वाचनद्वारा पदाधिकारी चयन गरिनुको साथै नयाँ सदस्य राष्ट्रका रुपमा प्यालेस्टाइन र सोलोमोन टापुको चयन गर्नसमेत मतदान गरिने छ ।

यता, प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद जोशीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।