देश कार्यवाहकहरुको जिम्मामा !

देश कार्यवाहकहरुको जिम्मामा !


रोशन कार्की

देशको तीनवटै निकायका प्रमुखहरु बिदेश भ्रमणमा रहेका कारण यतिवेला कार्यवाहकहरुले सम्हालेका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुखहरु विदेश भ्रमणमा गएपछि कार्यवाहकको जिम्मा देश रहेकोा छ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औं महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका छन् ।

सभामुख ओनसरी घर्तीमगर पनि विदेश सयरमा रहेकी छिन् । सभामुख घर्ती मगरले एकै दिन २२ वटा प्रस्ताव संसद बैठकमा पेश गरेर विदेश भ्रमणको हतारो प्रस्तुत गरेको भनेर यसअघि नै उनको बारेमा आलोचना भएको थियो । उनी एक साता लामो विदेश भ्रमणमा गएकी छिन् । सभामुख घर्ती, सत्तारुढ कांग्रेस, माओवादी र प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतकको मिलेमतोमा आधा दर्जन विद्येयकलाई हतारमा पास गर्दै उनी विदेश भ्रमणमा गएको आरोप सासंदहरुले समेत लगाएका छन् ।

व्यवस्थापिका संसदको गत मंगलबार बसेको दुई वटा बैठकमार्फत सभामुख घर्तीले विधेयक पास गरेकी हुन् । संसदको मंगलबार बसेको दोस्रोे बैठकमा सांसदहरुले विद्येयक पढ्न समेत नपाई हतारोमा पारित गरेको आरोप लगाएका छन् । उनी यतिवेला श्रीलंकामा रहेकी छिन् । त्यसपछि उनी लगत्तै रसिया जाने कार्यक्रम रहेको छ । त्यसैगरी, न्यायापालिका प्रमुख प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पनि यतिवेला विदेशमा रहेका छन् । सर्वोच्च अदालत पनि कामुकै जिम्मामा रहेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितलनिवासमा आयोजना गरेको डिनरमा मुलुकका तीन वटै निकायका प्रमुखहरुको उपस्थिति भएन । उक्त कार्यक्रममा समेत मुलुकका बागडोर सम्हालेका प्रमुखहरुको यस्तो विदेश मोह हुनु राम्रो संकेत नभएको भन्दै आलोचना भएको थियो ।

यसैगरी, महानिरीक्षक प्रकाश अर्यालले अतिरिक्त महानिरीक्षक माधवप्रसाद जोशीलाई निमित्तको कार्यभार सुम्पिँदै चीनतर्फ लागेका छन् । महानिरीक्षक अर्याल चीनको बेइजिङमा असोज १० देखि १३ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८६ औं महासभामा भाग लिन शनिबार त्यसतर्फ गएका हुन् । उनीसँगै वरीयतामा दोस्रो रहेका बमबहादुर भण्डारी समेत सहभागी रहेका छन् । वरीयतामा तेस्रो रहेका जयबहादुर चन्द र चौथो रहेका देवेन्द्र सुवेदी उपत्यकामा कार्यरत रहे पनि अर्यालले जोशीलाई जिम्मेवारी सुम्पिएर चीन प्रस्थान गरेका छन् । चौंथो र पाँचौं वरियतामा रहेका पशुपति उपाध्याय र केशरीराज घिमिरे समेत उपत्यकाबाहिर कार्यरत रहेका छन् ।