मजदुरको गाँसमाथि खेलबाड नगर्न आग्रह

मजदुरको गाँसमाथि खेलबाड नगर्न आग्रह


सरकारले पावरटिलर (ट्याक्टर) उपत्यकामा संचालन गर्न रोक लगाउन खोजि मजदुरको गाँसमाथि खेलबाड गरेको एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् ।

नेपाल स्वरोजगार श्रमिक संघ अन्तरर्गतको नेपाल पावरटिलर (ट्याक्टर) स्वरोजगार श्रमिक संघले आयोजना गरेको संघको ३ नम्बर प्रान्त भेला एवं विजयादशमी, शुभदिपवली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले हचुवाकोे भरमा राज्यले पावरटिलर (ट्याक्टर) उपत्यकामा संचालन गर्न रोक लगाउन खोज्दा ६० हजार मजदूरको गाँस गुम्ने खतरा बढेको बताएका हुन ।

कार्यक्रममा बोल्दै स्वरोजगार श्रमिक संघका अध्यक्ष खिलनाथ बस्नेतले ६० हजार मजदूरलाई राज्यले अन्यत्र रोजगार दिई व्यवस्थापन गरेर मात्रै पावरटिलर (ट्याक्टर) संचालनमा रोक लगाउन चेतावनी दिए । उनले मजदूरको गाँसमाथी राज्यले खेलबाड गरिरहे आफूहरु हातमा दही जमाएर नबस्ने बताउँदै राज्यको दमनप्रति आफूहरु सजक रहेको बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वार, नेपाल यातायात व्यवसायी महासंघ (मालबाहक) का संयोजक यादवलाल श्रेष्ठ लगायतले यतायात क्षेत्रमा देखिएका समस्यालाई राज्यले सही रुपमा संम्बोधन गर्नुको साटो व्यवसायीलाई त्रसित पार्ने नीति लिनु गलत भएको जिकिर गरे ।

उनीहरुले राज्यलाई ठूलो मात्रमा कर तिरेका यातायात व्यवसायी, सम्बद्ध मजदूरलाई राज्यले सहि रुपमा चिन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ट्राफिक महाशाखाका एसएसपी उमेश रंजितकारले यातायात क्षेत्रमा देखिएका समस्या राज्य र व्यवसायी दुवै मिलेर हल गर्नुपर्नेमा जोड दिएका थिए ।