पाँच करोडको कोकिनसाथ बोलिभियन पुरुष र भारतीय महिला

पाँच करोडको कोकिनसाथ बोलिभियन पुरुष र भारतीय महिला


करिव पाँच करोड रुपैयाँ मूल्यको लागुऔषध कोकिनसहित पक्राउ परेका एक बोलिभियन र एक भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । हिजो शनिबार साँझ ठमेलको एक होटलबाट लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले पक्राउ गरेका बोलिभियन पुरुष र भारतीय महिलालाई आइतबार सार्वजनिक गरिएको हो ।

पासपोर्ट नं ए ९६२२३१ वाहक २७ वर्षीय बोलिभियन नागरिक अधेमर एनेज्लोपेज र पासपोर्ट नं एच ३७९१७५० बाहक ५९ वर्षीया भारतीय महिला कमर जहनलाई दुई किलो ७०० ग्राम कोकिनसहित शनिबार साँझ ठमेलको एक होटलबाट लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले पक्राउ गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ठुले राईले बोलिभियन नागरिक एनेज्लोपेज सो लागुऔषधसहित बोलिभियाबाट ब्राजिल, युयईको दुबई हुँदै चार दिनअघि नेपाल आएका बताए ।

यस्तै, शनिबार भारतको दिल्लीबाट काठमाडौँ आएकी भारतीय नागरिक जहनले होटलबाट एनेज्लोपेजको साथमा रहेको सो कोकिन लिइरहेको अवस्थामा प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । उनले सो लागुऔषध दिल्ली लैजान लागको प्रहरीलाई बयान दिएकी छिन् ।

प्रहरीले शंकास्पद अवस्थामा रहेका एनेज्लोपेजलाई चार दिनअघि नेपाल आएलगत्तै निगरानीमा राखेको थियो । निकै महँगो लागुऔषध मानिने कोकिन अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो एक करोडदेखि दुुई करोडसम्म मूल्य पर्छ ।