शान्ति सैनिकको तालिम समापनमा प्रधानसेनापति

शान्ति सैनिकको तालिम समापनमा प्रधानसेनापति


संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ हुन जाने सैनिकका लागि आयोजना गरिएको तालिमको नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले निरीक्षण तथा समापन गर्नुभएको छ । प्रधानसेनापति क्षत्रीले आइतबार काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत तालिमको अन्तिम निरीक्षण गर्नुभएको हो ।

उक्त अवसरमा प्रधानसेनापति क्षेत्रीले मिशनमा भाग लिन जाने शान्ति सैनिकलाई नेपाली सेनाका परमसेनाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले संयुक्त राष्ट्रसङ्घीय विभिन्न मिशनमा नेपाली सेनाले विगत ५९ वर्षदेखि प्रदर्शन गरेको उच्चस्तरको अनुशासन, बफादारिता, कार्यदक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धतालाई कदर गर्दै संयुक्त राष्ट्रसङ्घले नेपाललाई हाल एक अति विश्वसनीय र शान्ति स्थापनामा विषेश भूमिका निर्वाह गर्ने देशका रुपमा लिएको बताउनुभयो ।

कार्य क्षेत्रमा अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ भई दिएको जिम्मेवारी बहन गरी मिशनको उद्देश्य पूरा गर्न समर्पित भएर लाग्न तथा संयुक्त राष्ट्रसङ्घको नेपाल तथा नेपाली सेनाप्रतिको विश्वसनीयतामा थप अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै ईमान्दार, दक्ष तथा कुशल शान्ति सैनिकको रुपमा कार्य सम्पादन गरेर देखाउन उहाँले निर्देशन दिनुभयो ।

उक्त तालिममा मिशनमा भाग लिन जाने बरख गण ५९औं डफ्फा तथा युएनडिओएफ मिशन, सिरियामा तैनाथ हुन जाने फोर्स हेड क्वाटर सपोर्ट युनिट छैठौँं डफ्फा तथा ईञ्जिनियर दोस्रोे डफ्फाको सहभागिता रहेको थियो ।

नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको छ । हालसम्म एक लाख १७ हजार २२९ नेपाली शान्ति सैनिकले संयुक्त राष्ट्रसङ्घअन्तर्गत विभिन्न ४२ वटा मिशनमा आफ्नो अमूल्य योगदान गरिसकेका छन् ।

यस क्रममा हालसम्म ६३ शान्ति सैनिकले विश्व शान्तिको लागि आफ्नो ज्यान समर्पण गरेका छन् भने ६३ जना शान्ति मिशनमा खटिँद्यँ घाइते भएका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।