प्रधानन्यायाधिशले गरे मस्कोमा महत्वपूर्ण वार्तालाप

प्रधानन्यायाधिशले गरे मस्कोमा महत्वपूर्ण वार्तालाप


रसियाली सर्वोच्च अदालतका अध्यक्ष (प्रधान न्यायाधिश) लेवदेव र नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधिश गोपाल पराजुलीबीच महत्वपूर्ण विषयमा छलफल भएको छ ।  रसियाली समकक्षीको निमन्त्रणामा मस्को पुगेका प्रधान न्यायाधिश पराजुलीसंग दुई मुलुकको न्याय प्रणाली, मानव शंसाधन, विश्वमा विकसित न्यायिक प्रणाली र तालिम आदान प्रदान लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

पराजुलीले दिनुभएको नेपाल भ्रमणको निमन्त्रणालाई लेवदेवले स्विकार गर्नुभएको छ र भ्रमणको तिथि चाँडै नै टुंगो लाग्ने बताइएको छ । लेवदेवलाई नेपाल प्रेमी व्यक्तिको रुपमा लिइन्छ । उहाँ यसअधि दुई पटक नेपाल आइसक्नु भएको छ । सन् १९९१ देखि रुशी सर्वोच्च अदालतको अध्यक्ष रहनु भएका लेवदेव राष्ट्रपति पुटिनको अति निकटतम मानिनुहुन्छ । त्यसैले उहाँ विगत २६ वर्षदेखि सो महत्वपूर्ण जिम्मेवारीमा रहन सफल हुनुभएको छ ।

प्रधानन्यायाधिश पराजुली मस्कोबाट बेलायतको लण्डन तर्फ प्रस्थान गर्ने कार्यक्रम छ । व्रिटेनको सर्वोच्च अदालतका प्रधान न्यायाधिशको निमन्त्रणामा उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । उहाँ आजै मस्कोबाट लण्डन प्रस्थान गर्नुहुने बुझिएको छ ।