प्रशासनद्वारा भाडादरको छड्के अनुगमन

प्रशासनद्वारा भाडादरको छड्के अनुगमन


अछाम प्रशासनले पछिल्लो समय निर्धारण गरिएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयन भए/नभएको बारे छड्के अनुगमन कार्य शुरु गरेको छ ।

दशैँ तिहारलाई मध्यनजर गर्दै यात्रु ओहोरदोहोर गर्ने क्रम बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको भाडादर व्यवसायीले कार्यान्वयन गरे÷नगरेको बारे छड्के अनुगमन शुरु गरिएको हो ।

मंगलसेन, जयगढ, साँफेबगर सडकखण्डमा सञ्चालन हुने जिप तथा बसले भाडादर कार्यान्वयन गरे÷नगरेको र नियमानुसार यातायात सञ्चालन गरे/नगरेको बारे निगरानी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको नेतृत्वमा गरिएको छड्के अनुगमनका क्रममा बाटोमा भेटिएका यातायातका साधन जिप तथा बस सञ्चालक र त्यसमा सवार यात्रुलाई सोधपुछ गरिएको बताइएको छ ।

अनुगमनका क्रममा केही यात्रुले आफूहरु साँफे, जयगढ मंगलसेनखण्डमा पुरानै भाडा तिरिरहेको बताएका प्रजिअ चौधरीले जानकारी दिनुभयो ।

यस्तै, यातायात सञ्चालक र सवारी चालकलाई पनि साँफे —मंगलसेनको रु १६० र साँफे–जयगढ तथा जयगढ–मंगलसेनको रु ८० निर्धारण गरिएकाले सो भाडादरमै यात्रुलाई सेवा दिन निर्देशन गरिएको उहाँको भनाइ छ ।

सवारी साधनको सिट क्षमताभन्दा बढी यात्रु नबोक्न निर्देशन गरिएको र त्यसो गरेको गुनासो आए तत्काल कारबाही गरिने प्रशासनले जनाएको छ ।

यात्रुलाई पनि सवारी चालक र सञ्चालकले निर्धारित भाडादरभन्दा बढी लिएमा र क्षमताभन्दा बढी यात्रु बोकेमा प्रहरीको १०० नंमा फोन गरी जानकारी गराउन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, अछामले तीनवटै सुरक्षा निकाय र यातायात व्यवसायीको सहभागितामा अछामका सबै क्षेत्रमा सञ्चालन हुने बस तथा जिपको भाडादर रु २० देखि १०० सम्म घटाएर नयाँ भाडादर निर्धारण गरिएको थियो ।