मन्त्रीको चाहनामा हटाइए प्राधिकरणका महानिर्देशक

मन्त्रीको चाहनामा हटाइए प्राधिकरणका महानिर्देशक


दुई वर्षअघि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नियुक्त गरिएका सञ्जीव गौतमलाई उक्त जिम्मेवारीबाट सरुवा गरिएको छ । उनी त्यहाँ चार वर्षका लागि नियुक्त गरिएका थिए । यसअघि मन्त्रालयले महानिर्देशक गौतमललाई कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो ।

दुई वर्ष कार्यकाल बाँकी छँदै एकाएक पदबाट हटाइनुलाई आर्थिक चलखेलले काम गरेको चर्चा प्राधिकरणमा चलेको छ ।

बताइएअनुसार पर्यटनमन्त्री जीतेन्द्रनारायण देवको एकल निर्णयबाट गौतम हटाइएका हुन् । महानिर्देशक गौतमलाई आज मंगलबारदेखि नै लागू हुने गरी मन्त्रालयमा हाजिर गराइएको छ ।

महानिर्देशकबाट हटाइएका गौतमको संयोजकत्वमा प्राधिकरणले विभिनन आयोग बनाएर कामको जिम्मेवारी दिएको अवस्था छ । अब उनी प्राधिकरणमा नरहेपछि ती आयोगको काम, कारवाही के हुने भन्ने अन्योल पैदा भएको सम्बद्ध स्रोतको भनाई छ ।

गौतमनिकट सुत्रले जानकारी दिएअनुसार आफूलाई कार्यावधि पूरा नहुँदै हटाइएको विरुद्धमा उनी अदालत जाने सोच बनाइरहेका छन् । यदि अदालतको ढोका घच्घच्याएमा उनको पुनर्वहाली हुने सम्भावना प्रवल रहने अवस्था रहेको पनि स्रोतले दाबी गर्यो ।