चौरासी पुगेकी हजुरआमालाई तमाखुको चिन्ता

चौरासी पुगेकी हजुरआमालाई तमाखुको चिन्ता


‘आफूलाई त खाना नभए पनि एक दुई छाक समस्या हुँदैन तर तमाखु भने नभई हुँदैन ।’

बझाङ दुर्गास्थली गाउँपालिका–५ की फाउरी जप्रेल यसै भन्नुहुन्छ । उमेरले ८४ वर्ष पुगेकी उहाँ तमाखुको धुवाँसँगै रमाउने गर्नुभएको छ । बाल्यकालमै कतिखेर तमाखुको लत बस्यो उहाँलाई थाहा छैन ।

चुरोट र बिंडी भने आफूले कहिले नखाएको उहाँको भनाइ छ । तीन छोरा र दुई छोरीकी आमा सुल्पा बज्यैका सात नातिनातिना छन् । ‘सँगैका सबै साथीसहेली रोग लागेर मरिसके मैले भने उपचारको नाउँमा एक चक्की सिटामोलसमेत खाएको छैन’, उहाँले फूर्तिसाथ भन्नुभयो ।

घरमा अरु कसैले तमाखु खाँदैन । अब बूढेसकालमा तमाखु खान नपाइने हो कि भन्ने डर उहाँलाई छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो पालामा त तमाखुमा आगो निकाल्न सक्ने र एकै सासमा सुल्पाको तमाखु सिध्याउने बाजीसमेत हुन्थ्यो ।’

उहाँ जस्तै अर्की जुना जप्रेलको पनि तमाखु नै जीवन सहारा भएको छ । ‘उमेर छँदै श्रीमान् बिते, दुई महिनाको दूधे बालक छोडेर अर्को विवाह गर्न सकिन, लागेको चिन्ता हटाउन तमाखु खान थालेँ अहिले लत नै बसेको छ’, उहाँ भन्नुहुन्छ । उहाँका छोरा अहिले ४३ वर्षको हुनुभयो । चार नातिनातिनि पनि छन् । उहाँले ५८ वसन्त पार गर्नुभो ।

‘तमाखुको पाग निकाल्न जंगलको मेल र गुडसँगै तिखे तमाखु मिसाउँदा बास्ना नै अर्को आउने हुन्छ ‘, उहाँ भन्नुहुन्छ । साथीसङ्गीसँग मेलापात र गाईबाख्रा चराउन जंगल जाँदा लहैलहैमा तमाुख खान सिक्नुभएका उहाँको अहिले तमाखु तान्ने बानी नै भएको छ ।

विश्वमा धूमपानले दैनिक १० हजार व्यक्तिको ज्यान जाने र विभिन्न रोग लागेर रोगको शिकार हुने गरेको विश्व स्वास्थ्य तथ्यांकले देखाए पनि बझाङमा भने बालबालिकादेखि वद्धवृद्धाले धूमपान गर्ने गरेका छन् ।

– ललित सिंह (रासस)