वर्षापीडितलाई जस्तापाता प्रदान

वर्षापीडितलाई जस्तापाता प्रदान


गत साउन अन्तिममा भएको वर्षातबाट अति प्रभावित झापा गाउँपालिकाका ४० घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ मेड्रिड (स्पेन)को सहयोगमा प्राप्त रकमबाट झापाको अति बाढी प्रभावित क्षेत्र मानिएको झापा गाउँपालिकाका ४० घर परिवारलाई जस्तापाता वितरण गरिएको हो ।

सहारा नेपाल साकोसको आयोजनामा भएको जस्तापाता वितरण कार्यक्रममा संस्थालाई प्राप्त रकममा थप गरी ५ लाख मूल्य बरावरको जस्तापाता वितरण गरिएको बताइएको छ ।

सहारा नेपाल साकोसका विपद व्यवस्थापन उपसमितिका संयोजक सोमनाथ तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बाढी पिडितहरुलाई झापा गाउपालिकाका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, गाउँपालिका वडा नं.–१ का अध्यक्ष राजकुमार यादव र विपद व्यवस्थापन उपसमितिका सदस्य हेमकुमार खड्काले जस्तापाता वितरण गर्नु भएको थियो ।

सोही कार्यक्रममा सहारा नेपाल साकोसको झापा सेवा केन्द्र अन्तरगतका मृतक शेयर सदस्यहरु धनमाया र्घोसाईने र पार्वती राजवंशीको परिवारलाई २५–२५ हजारका दरले संस्थाको तर्फवाट राहत नगद स्वरुप रकम प्रदान गरिएको थियो ।

सो अवसरमा वोल्दै गाउपालिका अध्यक्ष साहले बाढी प्रभावित बस्तीमा पुनःस्थापनाका लागि घर निर्माणमा सहारा नेपालले सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । सो अवसरमा सहारा साकोसका कार्यकारी निर्देशक गिरीले गैर आवासिय नेपाली संघ मेड्रिड (स्पेन)ले बाढी पिडितहरुको स्थायी बसोबासका लागि सहयोग गरेकोमा धन्यवाद दिदै संस्थाले झापा, मोरङ र सुनसरीका २ हजार परिवारलाई पुनःस्थापनाका लागि अस्थायी घर निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।

मोरङको पुष्पलाल चोकमा २८ परिवारलाई घर निर्माण गरिएको बताउँदै निर्देशक गिरीले संस्थाले बाढीपीडितकालागि २५ लाखको राहत कोष स्थापना गरि कार्य गरेको जानकारी दिनुभयो ।

– रेजिना गौतम