बेपत्ता युवाको अवस्था अज्ञात

बेपत्ता युवाको अवस्था अज्ञात


पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर हराएका भरतपुर महानगरपालिका–२७ मेघौलीका २८ वर्षीय प्रकाश महतोको अवस्था अझै अज्ञात छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनी दुई महिनाअघि मात्रै फर्केका थिए । असोज १ गते विश्वकर्मा बाबाको पूजाको दिन साथीहरुसँगै पौडीखेल्न गएका उनी नदीमा डुबेर बेपत्ता भएका थिए ।

आज दशैंँको फूलपातीमासमेत उनको अवस्था थाहा नभएपछि परिवार चिन्तित भएका छन् ।

डुङ्गाको सहयोगमा उनको खोजी जारी राखिए पनि १० दिन हुँदासम्म भेटन नसकिएको उनका काका मायाराम चौधरीले बताउनुभयो ।

उनीसँगै १९ जना साथी गोलाघाटमा पिकनिक गएका थिए । त्यसपछि नारायणी र राप्ती नदीको दोभानमा पौडी खेल्न पुगे । पौडी खेलेर घर फर्किने बेलामा मात्रै प्रकाश हराएको थाहा भएको सँगैपौडी खेल्न गएकाहरुले बताएका थिए ।
‘सबैले कपडा लगाएछन्, प्रकाशको मात्रै कपडा बाँकी रहेछ, चौधरीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भन्नुभयो, “त्यसपछि मात्रै हराएको थाहा भयो, अनि केही घण्टा खोज्दा फेला नपरेपछि हामीलाई खबर गरे ।”

प्रहरी प्रशासनलाई जानकारी गराएपनि खोजीमा खासै चासो नदिएको गुनासो गर्दै उहाँले उनको खोजीका लागि सहयोग गरिदिन स्थानीय प्रशासनलाई आग्रह गर्नुभएको छ ।

दिव्यनगर इलाका प्रहरी कार्यालयले भने बोटेहरु लगाएर डङ्गाको सहयोगमा खोजी कार्य गरेपनि फेला पार्न नसकिएको जनाएको छ ।