मेयरका उम्मेदवार एमालेमा प्रवेश

मेयरका उम्मेदवार एमालेमा प्रवेश


सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचनमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाबाट नगरप्रमुख पदका उम्मेदवार प्रेम बन्जाडे गत बुधबार एमाले प्रवेश गरेका छन् । ०६१ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध बन्जाडे सोही वर्षमा कतार नेपाली समाजको महासचिव रहनुका साथै प्रगतिशील पत्रकार संघको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए । ०६७ मा डिलाराम समुहबाट राजमो नेपालका केन्द्रिय सदस्य बन्जाडेले लुम्बिनी राप्ती क्षेत्रिय ब्युरो सदस्यको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । तत्कालीन समयमा प्रगतिशील पत्रकार महासंघको महासचिवको जिम्मेवारीका अलावा ०६८ सालमा क्रान्तिकारी पत्रकार संघका उनी केन्द्रिय सदस्य रहेका थिए । पछिल्लो समयमा नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर ५ का सदस्य रहेका बेला उनलाई पार्टीको निर्देशनअनुसार भूमिकास्थान नगरपालिकावाट मेयर उम्मेदवारको जिम्मा दिएको थियो ।

राजनैतिक अनुभव र मिलनसार ब्यक्तित्वका धनी प्रेम बन्जाडे जिल्लाको पार्टी कार्यालय मदन आश्रित स्मृति भवन सन्धिखर्कमा एक समारोहका बीच एमालेमा प्रवेश गरेका छन् । उनीसँगै उनकी पत्नी राधिका बन्जाडे पनि सोही कार्यक्रममा पार्टी प्रवेश गर्दै उनले एमालेले लिएको राष्ट्रिय अडानलाई मुक्तकन्थले प्रशंसा गरेकी थिएन । बन्जाडे दम्पतीलाई एक विशेष समारोहका बीच जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले टीका तथा खादा ओढाई पार्टीमा स्वागत गर्दै प्रवेश गराएका थिए ।

पार्टी प्रवेश गरेका बन्जाडेले आफ्नो भनाई राख्ने क्रममा अर्घाखाँचीमा एमालेको संगठन बलियो बनाउने कार्यमा आफुबाट कुनै कमी नरहने प्रतिबद्धता सहित नेता तथा कार्यकर्ताहरूको खुलेर प्रंशसा गरेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको सभापतित्व, प्रदेश नम्बर ५ का संगठन कमिटी सदस्यहरू रामजी घिमिरे, पार्टी केन्द्रिय स्कुल विभाग सदस्य बुद्धिबहादुर रायमाझी लगायतको आथित्यता रहेको सो कार्यक्रमलाई जिल्लासचिव रामबहादुर चौहानले सञ्चालन गरेका थिए । ज्ञातव्य छ, केही दिनअघि मात्र अर्घाखाँचीका सामाजिक अभियन्ता मुक्तिनाथ भुसाल पनि नेकपा एमालेमा प्रवेश गरेका थिए ।

– गोमा भुसाल