पूर्वराजाको प्रश्न– किन र कसका कारणले यस्तो स्थिति ?

पूर्वराजाको प्रश्न– किन र कसका कारणले यस्तो स्थिति ?


पूर्वराजा ज्ञानेन्द्र शाहले पारस्परिक विश्वास, सम्मान र एकताले मात्र नेपाली समृद्धिको यात्रामा अघि बढ्न सक्ने धारणा अघि सार्नुभएको छ । विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै पूर्वराजाले देशभित्र र देशबाहिर रहे–बसेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि कामना गर्नुभएको हो ।

‘पारस्परिक विश्वास, सम्मान र एकताले मात्र हामी समृद्धिको यात्रामा अगाडि बढ्न सक्छौँ’ भन्दै पूर्वराजाको शुभकामना सन्देशमा अगिाडि भनिएको छ– ‘तर, देश शान्त, सुस्थिर र सम्मानित भएको हेर्ने हाम्रो चाहना अझै पूरा हुन नसकेकोमा हामी दुःखी छौँ ।’

‘राष्ट्रिय स्वाभिमानसहितको प्रगति, नेपाली जनताले चाहेको हो । दुई विशाल छिमेकी मित्र राष्ट्रहरुबीच रहेको सुन्दर नेपाल, सेतू राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केही बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हुँदै आएको अनुभूति नेपाली जनतामा हुनु सुखद विषय हुँदैहोइन । त्यसैले, एकातिर सबैको सामुहिक दायित्व इतिहास जोगाउन भएता पनि यहाँ स्वाभिमान गुम्ने र समृद्धि टाढिने स्थितिको सामना हामीले गरिरहनु परेको छ ।’ – पूर्वराजाको सन्देशमा भनिएको छ ।

यस्तै, ‘मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्तापित गर्दै जाने र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित भइरहेकोप्रति हामी गम्भीर बन्नु परेको छ । राज्यका सबै संयन्त्रहरूको राजनीतिकरण भइरहेको असामान्य अवस्था यतिबेला हामी बेहोर्दै छौँ । राज्यप्रतिको विश्वास र भरोसामा ह्रास आउनु देशका लागि शुभ संकेत कदापि होइन । किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनीति हुनु आवश्यक भइसकेको छ’ उल्लेख गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सन्देशमा अगाडि भन्नुभएको छ– ‘दूरगामी महत्वका राष्ट्रिय मुद्दाहरूको निरुपण जनमतमार्फत खोज्न हिच्किचाउनुलाई प्रजातन्त्रसम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरूको निष्पक्ष भूमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दलविशेष गर्दै जाने नीतिले देशलाई कहाँ पुर्‍याउँछ ? पहुँच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महसुस गर्नुपर्ने जुन परिस्थिति बनाइएको छ, त्यसको जिम्मेवारी कसले लिने ? यस्ता अनेकौं प्रश्नहरू जनमनमा रहँदारहँदै, जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरी तर्कन खोजेको अनुभूति हामीले गरेका छौँ ।’

अन्त्यमा पूर्वराजाले ‘श्री नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सदभाव र सम्मानको पुनर्जागरण होस्, यही मेरो कामना छ’ भन्दै ‘जय नेपाल’को अभिवादनसहित सन्देश टुङ्ग्याउनुभएको छ ।