कारागारका संरचना जीर्ण

कारागारका संरचना जीर्ण


कञ्चनपुर कारागारका भौतिक संरचना जीर्ण अवस्थामा रहेका छन् । भौतिक संरचना मर्मत सम्भारको अभावमा जीर्ण भएका हुन् । कारागारको सुरक्षाका लागि बनाइएको उत्तर पूर्वतर्फको प्रहरी सेन्ट्री बस्नका लागि बनाइएको बुर्जा जीर्ण हुँदा जुनसुकै बेला पनि भत्कने अवस्थामा रहेको कारागार कार्यालयका प्रमुख श्यामराज भट्टले बताउनुभयो ।

सडकमा गाडी गुड्दा बुर्जा हल्लिने गरेको छ उहाँले भन्नुभयो, “यसले मानवीय क्षति निम्त्याउने खतरा बढेको छ ।” उहाँका अनुसार प्रहरीले डरैडरले बुर्जामा सेन्ट्री बस्ने गरेका छन् । भूकम्प आएका बेला बुर्जामा क्षति पुगेको थियो । हालसम्म आर्थिक अभावले कारागार प्रशासनले बुर्जा मर्मत गर्न सकेको छैन । कैदीबन्दी बस्नका लागि बनाइएका भवनको छतबाटसमेत वर्षात्का बेला पानी चुहिने गरेको छ ।

विसं २०३२ मा बनेका भवन मर्मत नहुँदा जीर्ण बन्दै गएको कारागार प्रमुख भट्टले बताउनुभयो । वर्षात्का बेला भवन चुहिँदा चुहिएको पानीमै कैदीबन्दीले बस्नुपरेको छ । भवन र पर्खालका इँटा समेत पुराना हुँदा खिइएर झर्न थालेको कारागार प्रमुख भट्टले बताउनुभयो ।

“कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने अवस्था भएकाले नयाँ भवन निर्माणको आवश्यकता छ” उहाँले भन्नुभयो । कैदीबन्दीको संख्या क्षमताभन्दा बढी भएपछि ग्यालरी, टिनको टनेलमा कारागार प्रशासनले बस्ने, सुत्ने व्यवस्था गरेको छ । कारागारमा २३३ पुरुष र २१ महिला गरी २५४ जना कैदीबन्दी राखिएका छन् । रासस