हतियारसहित राजविराजबाट यादव पक्राउ

हतियारसहित राजविराजबाट यादव पक्राउ


सप्तरीको राजविराज नगरपालिका–१३ बाट हतियारसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही वडा नं बस्ने ५४ वर्षीय लक्ष्मण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका यादवको साथबाट बुधबार एक थान कटुवा पेस्तोल, सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

यादवले अवैधरुपमा हतियार घरमा लुकाई राख्ने र हतियार देखाएर स्थानीयलाई धम्काउने गरेको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा यादव सुत्ने कोठाको खाटमुनि प्लाष्टिकमा लुकाएको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको उहाँले जानकारी दिनुभयो । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसैबीच, सप्तरीको राजविराज नगरपालिका–११ मा करेन्ट लागेर बुधबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–११ झल्ही बस्ने विनोद यादवकी १२ वर्षीया छोरी बबिताकुमारी रहेको प्रहरीले जनाएको छ ।

बबितालाई आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएकी उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शव परीक्षणको लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।