समस्या समाधानको ‘मह’ सूत्र-स्वयम्भूनाथ कार्की

समस्या समाधानको ‘मह’ सूत्र-स्वयम्भूनाथ कार्की


पञ्चायती व्यवस्थाको उत्तर्रार्धतिर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हास्यव्यङ्ग्य जोडी उदय हुँदै गर्दाको प्रहसन थियो ‘अंशवण्डा’ । त्यसमा एक वकिलकोमा -मदनकृष्ण) फिरादपत्र लेखाइमाग्न झगडिया -हरिवंश) आउँछ । वकिललाई ‘अ’ झिकिपाऊँ भन्ने फिरादपत्र लेखाउन आउँछ । ‘अ’ झिक्ने अस्वाभाविक मागप्रति वकिलको आर्श्चर्य हटाउँदै झगडिया तर्क दिन्छ, ‘अ’ झिक्दा आफूलाई परेको अन्याय स्वतः न्याय हुन्छ अनि आफूलाई अंश ठग्ने ‘दाइ हो कि भाइ’ ले पाएको अधिकार धिक्कारमा बदलिन्छ । अंशवण्डामा समानता नभएर आफूकोमा आएको झगडियालाई अब आफूले जितेपछि अंश लगाउने तरिका वकिलले बखान्छ । यसअनुसार जसरी पहिले काम नलाग्ने कुरा जति अर्कालाई दिएर काम लाग्ने जति ‘दाइ हो कि भाइ’ले आफूसँग राखेको थियो त्यसभन्दा पनि कठोर रूपले अब काम नलाग्ने कुरा उसलाई दिने अनि काम लाग्ने कुरा जति आफूले लिने सल्लाह दिन्छ ।
वकिलकोमा आउने पञ्चायतइतर पक्ष र उसको झगडिया पञ्चायत पक्षका प्रतीक बनाएर व्यङ्ग्य गरिएको यो प्रहसन निकै लोकप्रिय भयो । यो प्रहसनमा प्रशासनले बन्देज लगाएको हल्ला चल्यो, तर यसका हजारौँ क्यासेट बिक्री भए । अझ कतिले त डबिङ गरेर भए पनि लिए । प्रशासनले प्रतिबन्धित गरेको हल्लाले कतैकतै केहीले प्रहरीको डण्डा पनि खाए । केहीलाई यस्ता प्रतिबन्धित वस्तु राखेको आरोपमा कारबाही चलाउन खोज्दा यो क्यासेट प्रतिबन्धित नभएको तथ्य थाहा भयो । यसपछि त यो जोडीको हरेक कार्यक्रम प्रतिबन्धित भएको चर्चा चल्यो, कार्यक्रमको लोकप्रियता र क्यासेटको बिक्रीमा यसले सघाउ पुर्‍यायो, बाँकी काम यो जोडीको क्षमताले गर्‍यो । फलस्वरूप पञ्चायती व्यवस्था अन्त्यसम्ममा मह जोडी सार्वजनिक व्यक्तित्व भए ।
पञ्चायतपछि स्थापना भएको बहुदलले मह जोडीको यो प्रहसनमा व्यङ्ग्यको रूपमा अगाडि सारिएको समस्या समाधानको सूत्रलाई मूल कार्यनीति बनायो । गाउँ पञ्चायतहरू गाउँ विकास समिति भए, नगरपञ्चायत नगरपालिका भए, जिल्ला पञ्चायत, जिल्ला विकास समिति । केवल व्यक्तिगत आधारमा लडिने चुनाव दलगत आधारमा लडिने भयो । कुनै स्थानको प्रतिनिधित्व गर्ने निर्वाचनमा भाग लिन त्यसै क्षेत्रको मतदाता हुन नपाउने व्यवस्था खारेज गरियो । पुरानो व्यवस्थाअनुसार एक व्यक्ति केवल एक ठाउँबाट चुनाव लड्न पाउँथ्यो भने अहिले एकै व्यक्तिले दुई ठाउँबाट चुनाव लड्न पाउने भयो । यसबाहेक आधारभूत संरचनामा कुनै फरक भएन । गाविसजस्ता स्थानीय निकायमा विकेन्द्रिकृत केही अधिकारहरू फेरि केन्द्रिकृत गरियो । यसले मुलुकका अन्य भागबाट समय-समयमा सदरमुकाम आउनैपर्ने अनि राजधानीको पनि चक्कर लगाउनैपर्ने बाध्यता सिर्जना भयो । दुर्गम स्थानको निमित्त ल्याइएका कार्यक्रम र आयोजनाका प्रधान कार्यालयहरू काठमाडौंका साँगुरा सडकमा खुले ।
आजभोलि भाषण गर्नु नै काम भएको छ । आफ्नो जिम्मेवारीको कुर्सी बसेर सम्पादन गर्नुपर्ने काम राजधानीका गल्लीहरूमा भएका रिपोर्र्टर्स क्लबजस्ता गफाडी थलोमा गफ छाँटेमा गरेको ठहरिने भयो । दलभित्रको आपसी खिचातानीको समाधान दलको बैठकबाट होइन बरु यस्तै गफाडीस्थलमा एक-अर्कामाथि हिलो छ्याप्दा हुन्छ भन्ने मान्यता स्थापित भएको छ । आर्थिक समस्या समाधानका उपाय खोज्न आज विज्ञहरूसँग छलफल तथा सल्लाह गरिँदैन, बरु यस्तै गफाडी अखडामा गएर माइकमा बोलिन्छ । मुलुकको मौद्रिक नीति राष्ट्र बैंकको बैठक कक्षबाट होइन पुतलीसडकको भाषण स्थलबाट बन्छ । विकास निर्माणका योजना राष्ट्रिय योजना आयोगमा होइन कुनै उद्घाटन समारोहको भाषणमा बन्दछन् । तर, जनताले बनाउने भनेको संविधानसँग सम्बन्धित छलफल भने दैनिक लाखौँको खर्च गरेर कुनै विलाशितापूर्ण रिसोर्टमा गोप्य छलफल गरेर हुन्छ । करोडौं खर्च गरेर यस्ता काम गर्न निर्धारण गरिएको स्थल तथा उपकरण प्रयोग गर्नु भनेको अपमानजनक मान्ने प्रवृत्ति हावी हुँदै छ । यसै हो भने यस्ता भौतिक साधनस्रोतहरू सरकारले किन राख्ने – यो प्रश्नको उत्तर जनताले खोज्ने बेला भयो ।
अन्यायको अ झिकेर न्याय बनाउने सिद्धान्तअनुसार जब प्रजातन्त्र शब्दबाट प्रजा झिकेर लोक शब्द हालियो यो प्रवृत्ति तीब्र गतिले बढ्दै छ । आज राजमार्ग लोकमार्ग नामकरण गरिँदै छ, मानौं राज शब्द नै रागको जड हो । त्यसै हो भने राजधानी कहिलेबाट लोकधानी हुने हो – राजविराज लोकविलोक हुने साइत सम्भवतः जर्ुर्दै होला । नवीन्द्रराज जोशीले आफ्नो नाम नवीन्द्रलोक जोशी पार्ने साइत आइसकेकै हुनुपर्छ । अझ सबै नेताहरू तथा अगुवाहरूले फलाक्ने गरेको राज्य लोक्य कहिले हुन्छ – ठाउँठाउँमा भएका महेन्द्रचोकहरूको नाम जनआन्दोलन चोक राख्ने बुद्धिजीवीहरूले कुनै महेन्द्र यादवलाई जनआन्दोलन यादव भन्नु नै अग्रगमन भएको छ । दुई सय चालीस वर्ष अगाडि -नेपाल एकीकरण हुनुभन्दा अगाडिको) रियासत युगमा नेपाललाई फर्काउनु डलर पोषित बुद्धिजीवीहरूका नजरमा अग्रगमन भएको छ । नेपालमा करिब करिब समाप्त नै हुन लागेको जातीय भेदभाव फेरि जातीय उत्थानको नाममा स्थापना गर्नु नै अग्रगमन हो भने पाषण युगमा फरि्कनु त सम्भवतः त्योभन्दा ठूलो अग्रगमन होला नि, होइन त आईएलओ –