यसरी लगाए राजपरिवारले टीका

यसरी लगाए राजपरिवारले टीका


पूर्व श्री ५ ज्ञानेन्द्रबाट यस पटक दशैंमा सर्बसाधारणलाई टिका नलगाएपनि आफ्नो परिवारसंग दशैंको टीका लाउने काम सम्पन्न भएको छ ।

पूर्व राजपरिवारले नारायणहिटी राजदरबार स्थित महेन्द्र मञ्जिलमा दशैं मनाएको थियो । महेन्द्र मञ्जिलमा मुमा बडामहारानी रत्न बस्दै आउनु भएको छ ।

प्राप्त जानकारी अनुसार, शरीरमा आराम नभएपनि पूर्व श्री ५ ज्ञानेन्द्र आमाको हातको टीका लगाउन बिजया दशमीको बिहान ११ बजे महेन्द्र मञ्जिल पुग्नु भएको थियो ।

पूर्व बडामहारानी कोमल, छोरा पारस, बुहारी हिमानी तथा नाति नातिनी गरी परिवारका सबै सदस्यले टीकाको साइतमा ११ बजेर ५५ मिनेट जाँदा टीका लगाएको थियो । आफ्नो परिवार र राज परिवारका सबै सदस्यहरुले यस पटक महेन्द्र मञ्जिलमैं टीका लगाएका छन ।

पूर्व अधिराजकुमारी शोभा भनें अस्वस्थ भएर नयाँ दिल्लीमा उपचाररत हुनु भएकोले टीकामा उपस्थित हुन सक्नु भएन । उहाँका पति कुमार मोहन बहादुर शाही उक्त पारिवारिक टीका समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

साथै स्वर्गिय अधिराजकुमारी शारदा शाह र शान्ति शाहीका सन्तानले पनि मुमा बडामहारानीबाट टीका लगाए ।

राजपरिवारका सदस्य बाहेक राजाका सचिबहरु पशुपतिभक्त महर्जन, डा. फणिन्द्र पाठक, मधु तिम्सिना र शम्भु प्रसाद अधिकारीको सहभागिता रहेको थियो ।

टीकाको दिन राज परिवारले मुमा बडामहारानीसंगै खाना खाएका थिए । स्वास्थ अवस्थामा खासै सुधार नआएपछि राजा ज्ञानेन्द्रलाई चिकित्सकहरुले ‘रेष्ट’ मैं रहन सुझाब दिएको बुझिएको छ ।