धिमेबाजामा नसंचानासः खल पहिलो

धिमेबाजामा नसंचानासः खल पहिलो


काठमाडौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगितामा नसंचानासःखलले प्रथम स्थान हासिल गरेको छ । मानन्धर व्यायाम मन्दिरको २५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा २१ समूहलाई पछाडि पार्दै एकै परिवारका चार दाजुभाइको समूह नसंचानासले एक सय पूर्णाङ्कमा ९१।५ अंक पाएर प्रथम स्थान हासिल गरेको हो । पहिलो संस्करणको समेत विजेता रहेको नसंचाले उपाधिसँगै एक थान धिमेबाजा र एक–एक जोडी सिछ्याय तथा भुछ्याय पुरस्कार हात पारेको छ ।

त्यस्तै काठमाडौँस्थित बालकुमारी धिमे खल भने गोला प्रथाबाट दोस्रो र ठिमीस्थित मानन्धर मचापुचः तेस्रो भएका छन् । बालकुमारीले उपविजेताको उपाधि, पदक र प्रमाणपत्रसँगै एक थान धिमेबाजा र एक जोडी भुछ्याय पुरस्कार प्राप्त गरेको छ ।

तेस्रो मानन्धर मचापुचःले भने एक थान धिमेबाजा प्राप्त गरेको छ । भक्तपुरको घट्खादाफाधिमे खलले भने सान्त्वना पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा मध्यपुरथिमिको मानन्धर युवा समूहले उत्कृष्ट वेशभूषा तथा काठमाडौँको श्रीनाथ गुरु पुचःले उत्कृष्ट हाउभाउको उपाधि पाएका छन् ।

प्रतियोगी धिमे बाजाका खल तथा पुचःलाई तिनीहरुको प्रस्तुतिका लागि पाँच मिनेटको समय दिइएको मानन्धर व्यायाम मन्दिरका अध्यक्ष तुलसीकाजी मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार धिमेबाजाको बोल तथा तालका लागि ५०, वाद्यवादनको हाउभाउका लागि २०, वेशभूषाका लागि १५, अनुशासनका लागि १० र बाँकी पाँच गरी एक सय अंक छुट्याइएको थियो ।

निर्णायकमा वरिष्ठ वाद्यवादक गुरु श्रीगोपाल प्रजापति, शेषनारायण महर्जन, मोहन व्यञ्जनकार, राजकुमार त्वायना र विष्णुबहादुर मानन्धर रहनुभएको थियो । प्रतियोगिताका विजेता, उपविजेतालगायतलाई उपाधि, पदक र प्रमाणपत्रसहित पुरस्कार वितरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कला, संस्कृति र गीत–संगीतमा धेरै शक्ति भएको बताउनुभयो । रासस