राखेपको नाममा ‘राखेप च्याम्पियनसिप’

राखेपको नाममा ‘राखेप च्याम्पियनसिप’


राष्ट्रिय खेलकुद परिषद्ले पहिलो पटक आफ्नै नाममा च्याम्पियनसिप आयोजना गर्ने भएको छ । राखेप च्याम्पियनसिप सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेपका सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतियोगिता कार्तिक १५ गतेदेखि संचालन हुने समितिका सदस्य एवं राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जानकारी गराए । ‘राखेप च्याम्पियनसिप’ को नाममा च्याम्पियनसिप सञ्चालन गरिने छ । नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदलाई मध्यनजर गरी राखेप च्याम्पियनसिप हुन लागेको हो ।

च्याम्पियनसिपमा विभिन्न २७ खेल समावेश गरिएको छ । जस्मा गोल्फ, पौडी, आर्चरी, सेपाकताक्रो, लनटेनिस, साइक्लिङ, ट्रायथलन, सुटिङ, कुस्ती, जुडो, खो खो, बक्सिङ, स्क्वास, उसु, टेबलटेनिस, ह्यान्डबल, फुटबल, भलिबल, कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, भारोत्तोलन, हक्की र फेन्सिङ रहेका छन ।

उक्त खेलका सम्बन्धित राष्ट्रिय संघलाई राखेपले प्रतियोगिता सञ्चालन गर्न बजेट उपलब्ध गराउने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ४ करोड ३१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बैठकले मयुरलाई मस्कटका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । करिब २ हजार ५ सय खेलाडीको सहभागिता रहने यो प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट समेत गरिने छ ।
प्रतियोगितालाई व्यवस्थित एवं सफलतापूवर्क सम्पन्न गर्न बजेट बाँडफाँड तथा आर्थिक व्यवस्थापन, संघ समन्वय, प्रचार प्रसार, खेल सामाग्री तथा पोशाक व्यवस्थापन, अनुगमन तथा निरीक्षण, प्राविधिक समन्वय र समारोह गरी विभिन्न ७ उपसमितिहरु पनि गठन गरिएको छ । प्रतियोगिता कात्तिक मसान्तसम्ममा सम्पन्न हुनेछ ।