माओबादी बन्नुअघि मारबाडीको कामदार, जो बने अर्वौंको मालिक !

माओबादी बन्नुअघि मारबाडीको कामदार, जो बने अर्वौंको मालिक !


माओबादी अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्मा प्रभाकरको अति निकतम व्यक्तिको रुपमा रहेका र प्रचण्ड–केपी ओलीलाई निर्णायक एकता वार्ताको लागि आफ्नो दरबार उपलब्ध गराएपछि चर्चामा आएका अर्वपति ठेकेदार शारदा प्रसाद अधिकारीको पृष्ठभुमि विपन्न तर बिबादास्पद रहेको जानकारीमा आएको छ ।

प्राप्त जानकारी अनुसार राजधानीको सुनाकोठी र मानभवन सहित ललितपुरको विभिन्न स्थानमा ६ वटा घर रहेको छ । विभिन्न ठेक्का पट्टाका साथ केही अदृष्य व्यापारमा समेत संलग्न अधिकारीलाई प्रचण्ड र जनार्दनको ‘गुप्त बैंक’ का रुपमा समेत लिइन्छ ।

वि.स.०४५/४६ सालतिर कालिमाटी क्षेत्रमा एउटा कोठा डेरा लिइ बसेका उनी ०५४ सालसम्म काठमाडौंको नयाँ सडक स्थित एक मारबाडीको कम्प्युटर पसलमा कामदार थिए ।

अधिकारीलाई कम्प्युटर स्टोरबाट झिकेर पसलसम्म ल्याउने र पसलबाट ग्राहकको गाडीसम्म बोकेर पु-याइदिने ‘जिम्मेवारी’ थियो ।

०५८ सालमा माओबादीसङ्ग पहिलो पटक वार्तालाप हुँदा उनीहरुले अनामनगरमा एक सम्पर्क कार्यालय स्थापना गरेका थिए र कार्यालय सचिव बनाइएका थिए नुवाकोटका भरत ढुङ्गाना ।

यिनै ढुङ्गानाले आफ्नो कार्यालयमा शारदा अधिकारीलाई कार्यालय सहयोगी (पिएन) का रुपमा राखेका थिए ।

वार्ता भङ्ग भएपछि उक्त कार्यालय बन्द भयो र भरत ढुङ्गना पनि त्यसको केही समयपछि धादिङ्गमा सूरक्षाकर्मीद्वारा मारिए ।

शारदा अधिकारी माथी चाहिं माओबादीको नाममा चन्दा उठाएर ठूलो रकम जम्मा गरेको भन्ने उजुरी प-यो । कृष्ण ध्वज खड्का संयोजकत्वको कमिटीमा परेको उजुरी माथी छानवीन हुँदा दोषि पाइएपछि शारदालाई ‘सफाया’ गर्ने निर्णय भएको थियो ।

तर माओबादीको जन वर्गिाय ङ्गठन र जनपरिचालनको उपत्यका संयोजक रहेका मोहन कार्कीको विशेष अग्रसरतामा शारदाले ज्यान माफी पाएका थिए । त्यसबेला माओबादीबाट जोगिन यिनले आफूलाई भुमिगत बनाएका थिए । भुमिगत बस्दाबस्दै यिनले एउटा च्यानल मार्फत जापान जाने व्यवस्था मिलाएर केही वर्ष उतै बसे ।

२०६२/०६३ को परिवर्तनपछि शारदा अधिकारी नेपाल फर्केर ‘बी’ श्रेणीको सुपर शेर्पा नामक निर्माण कम्पनी खरिद गरे र नाम परिवर्तन गरी शैलुङ्ग निर्माण कम्पनी बनाए ।

यिनको देखिने व्यवशाय ठेक्का पट्टा मात्रै हो । ठेक्का लिने क्वालिटीको काम नगर्ने र समयमै काम पनि सम्पन्न नगर्ने ठेकेदारका रुपमा समेत चिनिएका शारदा अधिकारीले माओबादी नेताहरुको कमाइ समेत उपयोग र उपभोग गरिरहेको बताइन्छ ।

विद्युत प्राधिकरणबाट गरिने कैयन काममा एजेण्टको भुमिका समेत यिनैले निर्वाह गर्ने गरेका छन् । जनार्दन शर्मा उर्जामन्त्री भएयता उनको ‘उर्जा गतिविधि’ ले गति लिएको हो । माओबादी बन्नु अघि मारबाडीको पसलमा कामदार रहेका शारदा माओबादीमा लागेपछि दशक भित्रै अबौंको मालिक बन्न सफल भएका छन् ।

प्रचण्डको खास मानिस बनेका उनलाई केही समय अघि प्रचण्ड पुत्र प्रकाशले भने कुटपीट गराउन खोजेका थिए । प्रकाशले शारदालाई कुटाउन किन खोजेका थिए सो भने स्पष्ट हुन सकेको छैन ।