विश्व शारीरिक सुगठनमा रुजेशलाई कांश्य

विश्व शारीरिक सुगठनमा रुजेशलाई कांश्य


मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी रुजेश शाहीले कांस्य जितेका छन् । रुजेशले पुरुष ६० केजीमा नेपाललाई कांस्य दिलाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जानकारी गराएका छन । विभिन्न ११ राष्ट्रका खेलाडी सहभागिता जनाएको उक्त स्पर्धामा म्यानमार र मलेसियाका खेलाडी क्रमशः पहिलो र दोश्रो भएका थिए ।

रुजेश वर्षेनी हुने विश्व च्याम्पियनसिपअन्तर्गत २०१५ मा थाइल्यान्डको बैंककमा भएको सातौं संस्करणका रजत विजेता हुन् । त्यत्ति बेला उनले ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए ।

दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका अर्का नेपाली खेलाडी कमल भण्डारी भने पदकविहीन बने । ८ खेलाडी सहभागी पुरुष ५५ केजीमा कमल प्रि जजिङ राउन्डबाटै बाहिरिएका थिए । गत अगष्टमा दक्षिण कोरियाको सिओलमा भएको ५१ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा भने कमलले कांस्य जितेका थिए । त्यो उनको ‘डब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

प्रतियोगिताअन्तर्गत आइतबार एथलेटिक फिजिक्सतर्फ महिला १६० सेन्टीमिटर उचाईसम्ममा ननिता महर्जनले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । ननिताको स्पर्धामा पनि ८ प्रतिस्पर्धी रहेका छन् । सोही स्पर्धामा ननिताले थाइल्यान्डको पटायामा २०१६ मा भएको आठौं संस्करणमा कांस्य जित्दै नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो पदक जित्ने महिला खेलाडीको इतिहास रचेकी थिइन् । आठौं संस्करण ननिताको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।