सहमतिपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ओपिडी सुचारु

सहमतिपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ओपिडी सुचारु


विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु अस्पताल प्रशासनसँग सात बुँदे सहमति गरेर काममा फर्किएका छन् । चिकित्सकलाई हातपात गरेको आरोप लागेका एक व्यक्ति पक्राउ परेपछि मंगलबार बिहान अस्पताल प्रशासन र जुनियर रेजिडेन्स वेल्फेयर सोसाइटी, मेडिकल एण्ड डेन्टल फ्याकल्टी सोसाइटीबीच भएको छलफलमा सहमति भई अस्पतालमा ओपिडी सेवा सुचारु भएको हो ।

आइतबार राती हृदयघात भएको बिरामीको सिसियुमा उपचारको क्रममा मृत्यु भएपछि आफन्तहरूले दुव्र्यवहार गरेको भन्दै चिकित्सकले पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै सोमबारदेखि ओपिडी सेवा बाहिष्कार गरेका थिए । चिकित्सकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउदै सिनियर फ्याकल्टीहरुले पनि मंगलबारदेखि ओपिडी बहिष्कार गर्ने चेतावनी दिएको थियो ।

अस्पताल प्रशासन र चिकित्सकहरुबीचमा भएको छलफलमा दोषी व्यक्तिहरुलाई सार्वजनिक मुद्दामा कारबाही गर्न प्रहरी प्रशासनलाई दबाब दिने, पक्राउ परेकालाई सार्वजनिक गरिनुपर्ने, अस्पतालले विस्तृत छानबिन गर्न सम्बन्धित पक्ष सम्मिलित छानबिन समिति तत्काल गठन गर्नेलगायत ७ बुँदे सहमति भएको छ । यस्तै, घटना हुन नदिन प्रतिष्ठानको सुरक्षाकर्मीहरुबाट उचित भुमिका निर्वाह हुन नसकेकोले ठहर गरी सो छलफलले केटिए सेक्युरिटी प्रालिलाई स्पष्टीकण सोध्ने सहमति पनि गरेको छ ।