यात्रुले खचाखच भरिएको बस धादिङमा दुर्घटना (भिडियो सहित)

यात्रुले खचाखच भरिएको बस धादिङमा दुर्घटना (भिडियो सहित)


धादिङको गंगाजमुना गाउँपालिकाबाट सदरमुकाम धादिङवेशी आउँदै गरेको बस नीलकण्ठ नगरपालिका वडा नं १२ स्थित साँकोषमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने बसमा सवार ५३ जना यात्रु घाइते भएका छन् । दुर्घटना सदरमुकामबाट १ किलोमिटरको दुरीमा भएकाले तत्कालै घाइतेहरुलाइ उद्धार गरि जिल्ला अस्पतालमा ल्याइएको थियो ।

उत्तरी धादिङको गुम्दीबाट क्षमताभन्दा दोब्बर बढी यात्रु बोकेर सदरमुकाम आइरहेको वा ३ ख ४७८ नम्वरको यात्रुवाहक वस सडकबाट २ बल्ड्याङ खाँदै बारीमा पुगेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये गम्भीर घाइते सहित २३ जनालाइ जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ स्थित ट्रमा सेन्टरमा पठाइएकोमा १ जनाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।

मृत्यु हुनेमा गंगाजुमना गाउँपालिका वडा नं ३ का ५० वर्षिय होम बहादुर घले रहेका छन् ।  घाइते यात्रुका अनुसार कच्ची सडकमा बस तीव्र गतीमा रहको र बढीभारका कारण दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका नेत्रावती गाउँपालिका कटुन्जेका ओम प्रसाद सापकोटाले भने, ‘कच्ची बाटो भएपनि बसको गती अलि बढी नै थियो, त्यसैमाथि खचाखच यात्रु थिए, खाना खाएपछि ड्राइभर पनि परिवर्तन भएको थियो, बस पल्टिसकेपछि चाहि स्टेरीङ नै फेल भएको भन्‍ने सुने।’

दुर्घटनामा सामान्य घाइते भएका बसका चालक र सहचालकलाइ नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख ध्रुव कुमार राउतले जानकारी दिए ।

धादिङको ग्रामिण क्षेत्रबाट सदरमुकाम आउने बसहरु एउटा गाउँबाट एउटा मात्रै चल्ने हुँदा क्षमताभन्दा दोब्बर र तेब्बर सम्म यात्रुहरु वोक्ने गरेका छन् । प्रहरी चौकी र चेकिङ हुने ठाउँमा यात्रु आराले पनि प्रहरीको चेकिङ छलेर क्षमता भन्दा दोब्बर बढी यात्रु बोक्नाले उत्तरी क्षेत्रमा समय समयमा दुर्घटना भइरहेका छन् ।