बल्झिँदै बालक हत्या-प्रकरण

बल्झिँदै बालक हत्या-प्रकरण


झापाको शनि अर्जुन नगरपालिका–११ का एघार वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्या भएको एक हप्ताभन्दा बढी बितिसक्दा पनि हत्यारा पत्ता नलगाएको भन्दै आइतबार स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

लक्ष्मणले अध्ययन गर्ने विद्यालय हिमाली अंग्रेजी बोर्डिङका विद्यार्थीसहित विद्यालय परिसरबाट निस्किएको विरोध र्यालीले विर्तामोड नगर परिक्रमा गरी इलाका कार्यालय विर्तामोडमा पुगेको थियो ।

सैयौंका संख्यामा रहेका प्रदर्शनकारीद्वारा गरिएको नारासहितको र्यालीमा मानवअधिकारको रक्षा गर, पीडितलाई न्याय दे, घुस खान पाइँदैन, पुलिस प्रशासन होसियार जस्ता नारा लगाइएको थियो ।

नगर परिक्रमापछि केही समय इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका स्थानीयले केहीबेर चक्काजाम समेत गरेका थिए ।

हत्या भएको यत्तिका समय बितिसक्दा पनि प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि नबढाएको मृतकका स्थानीय तथा मृतकका आफन्तले कारवाहीको माग गर्दै आएका छन् । बालकको नियोजित हत्या भएको पीडित परिवारको दाबी छ ।

दसैंको टीकाका दिन मनिष थापालाई उनका बुबाले विदेशबाट पठाइदिएको जुत्ता लिन आफ्नै साथी मनिषसँग लक्ष्मण पोखरेलका घर पुगेको उनका काका विष्णु शिवाकोटीले बताए ।

साथीसँग घरबाट निस्किएको २४ घण्टापछि असोज १५ गते आइतबार बिहान लक्ष्मणलाई चारपानेको ठाकुर मन्दिरदेखि २ सय मिटर पूर्वको खाडीमा शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा मृत फेला पारिएको थियो । खाडीमा भेटिएका मृतक लक्ष्मणको गोलीगाठोभन्दा तलको भाग मात्र पानीमा डुबेको र उभिएको अवस्थामा फेला परेको काका विष्णु बताउनु भयो ।

घटनापछि पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि चारदिन अघि दवावसहितको र्यालीले इलाका प्रहरी कार्यालय घेराउ गरेपछि प्रहरीले जाहेरी दर्ता गरेको थियो । घटनालगत्तै बिर्तामोडका डिएसपी राजकुमार सिलवाल बिदामा बसेको स्रोतले जनाएको छ ।

शिवाकोटी परिवारले लक्ष्मणको मृत्यु आकस्मिक घटना नभइ कर्तव्य भएको दाबी गर्दै आएको छ ।

स्थानीयबासीले लक्ष्मणको हत्याको घटनालाई दबाउन र पानीमा डुबेर मृत्यु भएको देखाउन खाडीमा लगेर हालिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । लक्ष्मणका काका विष्णुप्रसाद शिवाकोटीले सुरेश पोखरेलसहित सातजनाउपर किटानी जाहेरी दिएका छन् । शिवाकोटी परिवारले मन्दिरा, सन्तोष, बेनु, समिर, राधिका, सुधिर र स्मृति पोखरेल उपर जाहेरी दिएको हो । यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सन्तोष, समिर, सुधिरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मृतक बालकको पोस्टमार्टम वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएको र दाहसंस्कार पनि गरिसकिएको छ । उनको पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट आइसके पनि विस्तृत रिपोर्ट आउन अझै समय लाग्ने बताइएको छ ।

मृतक लक्ष्मणका बुबाआमा दुवै जना सुस्त मनस्थितिका रहेको बताइएको छ ।