प्रचण्डले जोगाएको काङ्ग्रेस !

प्रचण्डले जोगाएको काङ्ग्रेस !


– दीपेन्द्र पाण्डे

बाह्य ‘दिग्गज’हरूको मलजल र आशिर्वादले हुर्किएको माओवादी हिंसाले गिरिजाबाबुलाई फकाउन र पगाल्न सफल हुँदा १२ बुँदे नामको ‘अस्त्र’ नेपाली राजनीतिले स्वीकार गर्न बाध्य पारियो । प्रचण्ड र बाबुराम नामको ज्यादतीलाई ठेगान लगाउने नाममा आफ्नो राजनैतिक सिद्धान्तलाई छाड्न तयार गिरिजाप्रसादको ब्यक्तिगत बाध्यताको उपज नेपाली प्रजातन्त्रको स्थानमा ‘लादिएको लोकतन्त्र’ स्याहार्न बाध्य नेपाली काङ्ग्रेस दिन–प्रतिदिन भू–राजनीति र इसाई रणनीतिको सिकार बन्दै गरेको बीपीभक्त कार्यकर्ता विस्तारै महशुस गर्दैछन् ।

प्रजातन्त्र पुनःप्राप्तिसँगै जननिर्वाचित गिरिजा सरकारलाई असफल गराउने तात्कालीन दरबार, भू–राजनीति र इसाई रणनीतिअनुरुप सिर्जना गराइएको कर्मचारी आन्दोलनको नेतृत्व एमाले पार्टीलाई गर्न लगाइयो । नेपालको कर्मचारीतन्त्रमा छिर्न सफल विभिन्न स्वार्थकेन्द्रहरूले जरा गाड्न सफल हुँदा काङ्ग्रेसको समाजवादी तप्कालाई किनारा लगाउँदै एमाले र गिरिजा काङ्ग्रेसको बीच औपचारिक पर्खाल निर्माण गरियो । अन्ततः तिनै स्वार्थी तत्वको उक्साहटमा हुँदाखाँदाको एकमना सरकार गिराउँदै निर्वाचनपश्चात देउवाको उदय गराइयो । त्यसपछि शुरु गराइएको माओवादी हिंसा, काङ्ग्रेसमा चरम विभाजन, गिरिजामा जागेको सत्तालिप्सा र पुत्रीमोहको अगाडि काङ्ग्रेसको भलो चिताउनेहरू निरर्थक र औचित्यहीन बनाइए । राजा ज्ञानेन्द्रलाई सबक सिकाउने नाममा ढाडमा टेकेर टाउकोमा हान्ने माओवादी प्रचण्डलाई बोक्न राजी गिरिजाको कदमपछि बीपीभक्त काङ्ग्रेसहरू गिरिजाले काङ्ग्रेस डुबाउने भए भन्दै बस्ने बाहेक केही गर्न सकेनन् । फलस्वरुप गिरिजाले कोरेको सिद्धान्तहीन मार्गले काङ्ग्रेस दिन–प्रतिदिन दुब्लाउन बाध्य बनाइयो ।

संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र र गणतन्त्रात्मक प्रजातन्त्रको भेदलाई मिहीन ढंगले बुझेका बीपीले नेपालको सवालमा किन संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र रोजे ? भन्ने सवाल गिरिजाको निम्ति प्रयोजनहीन बन्न पुग्यो । नेपालमा प्रजातन्त्र स्थापना गर्न वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्छ भन्ने पुष्पलालको प्रस्ताबलाई तात्कालीन समयमा बीपीले किन अस्वीकार गरे भन्ने सवाललाई न गिरिजाले ध्यान दिन चाहे न कि देउवाले । बीपीकालीन समयमा विश्व राजनीतिको एक सशक्त हिस्सा बनेर उदाएको कम्युनिष्ट शक्तिको सिद्धान्त र ब्यबहारलाई नजिकबाट नियालेका बीपीले नेपालमा कम्युनिष्टसँग सहकार्य नगर्ने नीति नितान्त सिद्धान्तको राजनीतिअन्तर्गत लिइएको कुरा वर्तमानमा सत्ताबिना बाँच्न नसक्ने ‘देउवा–काङ्ग्रेस’ले बुझ्ने कुरै थिएन । फलस्वरुप गिरिजाले प्रतिपादन गरेको सत्तामुखी मार्गमा देउवाजस्ता सत्ताका भोकाको निम्ति बरदान नै बन्न पुग्यो भन्दा अतिसयोक्ति नहोला ।

प्रजातन्त्रको जगमा सिक्किमको अस्तित्व कसरी समाप्त पारियो भन्ने बुझ्नासाथ रोगी र जीर्ण शरिरको परवाह नगरी राष्ट्र पहिला अनि मात्र प्रजातन्त्र र पार्टी भन्ने बीपी–सिद्धान्त देउवाले बुझ्नै चाहेनन् । संविधान जारीसँगै भू–राजनीतिले च्यापेको नेपाली सार्वभौमिकता जोगाउन नेतृत्व गर्नुको सट्टा उल्टो भू–राजनीतिकै कुप्रभावमा पर्दै प्रचण्ड जस्तो भरोसाहीन र अस्थिर ब्यक्तिलाई बोक्दै एमालेविरुद्ध घेराबन्दी गर्न पुगे । सबैखाले नैतिकतालाई पचाएकाहरूको घेराबन्दी र सहयोगमा ज्योतिषीको भर पर्दै पाँचौं पटक प्रधानमन्त्री बन्ने सपना देख्ने देउवा कृयाकलापको सजाय उनी र उनको पार्टीले भोग्ने करिव निश्चित देखिँदै छ । बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको निम्ति चुत्थो लाग्ने प्रधानमन्त्री पदको निम्ति प्रचण्डको बैशाखी बन्दै निर्माण गरिएका अनेकौँ काण्डहरू पछ्याउँदै जम्बो मन्त्रीपरिषद निर्माणले बीपीभक्त कार्यकर्ताहरूको उत्साह घाइते बनाइएको छ । प्रचण्डको बुई चढेर वैतरणी तर्ने देउवा–नीतिको कारण काङ्ग्रेस पार्टीले बोक्नुपरेको तमाम दाग काङ्ग्रेसको इतिहास भोग्ने, लेख्ने, पढ्ने र बुझ्नेहरूको निम्ति नमिठो याद लिएर बाँच्ने देखिँदैछ ।

एमाले, माओवादी र राजाको शासन बाहेक ०४६ देखि हालसम्म काङ्ग्रेसको गिरिजा र देउवाको ब्यक्तिगत सोच र ब्यबहारले काङ्ग्रेस पार्टीको शरिर जिर्ण हुन पुगेको आम काङ्ग्रेसजन मान्न तयार नै छन् । गिरिजाकालीन सत्ताको सिको गर्दै देउवाद्वारा स्थापित नातावाद, कृपावाद, भ्रष्ट्राचार र अनेकखाले गडबडीको भारी बीपीको पार्टीले कतिसम्म थेग्न सक्थ्यो र ? सत्ता-स्वार्थकै निम्ति पार्टी फुटाउने, प्रजातन्त्रलाई दरबारमा बुझाउने, आफ्नो स्वार्थअनुकुल राजालाई हेर्ने दृष्टिकोण बनाउने, सुरासुन्दरी, पजेरो, प्राडो संस्कृतीलाई नेपाली लोकतन्त्रको अभिन्न हिस्सा बनाउने, काङ्ग्रेस पार्टीलाई एक नम्बरको दुश्मन घोषणा गर्ने पार्टीको नेतालाई आफ्नै नेतृत्वमा प्रधानमन्त्री बनाउने, माओवादीद्वारा मारिएका काङ्ग्रेस कार्यकर्ताको रगतलाई प्रधानमन्त्री कुर्सीसँग साट्ने, पार्टीलाई गोजीको सम्पती सम्झँदै प्रचण्डपुत्रीलाई मेयर बनाउन काङ्ग्रेसको सभापती र प्रधानमन्त्री जस्तो मानिस आफै भाषण गर्न जाने, पत्रकार महासंघ जस्तो निकायलाई हिंसावादीहरूलाई जिम्मा लगाउने हर्कतको मूल्य काङ्ग्रेस पार्टीले कयौँ वर्षसम्म चुकाउनुपर्ने निश्चित देखिँदैछ ।

आफ्ना अग्रज नेताले देखाएको बाटो र पार्टी सिद्धान्त, संस्कार र ब्यबहारलाई भुल्दै भू–राजनीति र इसाई स्वार्थअनुरुप ओली सरकार विस्थापन गर्न प्रयोग हुन पुग्नुको सजाय देउवाको कारण काङ्ग्रेस र नेपाली लोकतन्त्रले भोग्नुपर्ने संकेत मिलिसकेको छ । देउवा, रमेश लेखक, मीन विश्वकर्मा र विमलेन्द्र निधीको महत्वकाङ्क्षासामु निरीह भएको काङ्ग्रेस पार्टी दशवर्षे माओवादी ज्यादतीको विरुद्ध सँगै लडेको एमालेलाई किनारा लगाउने बचकाना राजनीतिले प्रचण्ड जस्तो अस्थीर, भरोसाहीन ब्यक्तिलाई बोक्दै अगाडी बढ्ने काँचो सोच काङ्ग्रेसको निम्ति धेरै महँगो पर्ने सन्देश निर्वाचनको मुखैमा प्रयोगवादी प्रचण्डले भान्सा परिवर्तन गर्दै दिइसकेका छन् । काङ्ग्रेस सभापति निर्वाचित हुनासाथ श्रीमती उपचारको बहानामा दक्षिण प्रस्थान गर्दै सुरु गरिएको सत्ताकेन्द्रीत खेलले हिंसा, छलछाम, षडयन्त्र, धोकाधडी गर्न माहिर धुर्त खेलाडी प्रचण्डको विगत खोतल्ने जरुरत देखेनन् । पार्टीको विधानलाई कहिल्यै सम्मान गर्न जरुरी नदेख्ने देउवाले प्रचण्डमार्फत धोखा पाएका वा प्रयोग गर्दै समाप्त गरेका शक्ति र ब्यक्तिहरू दरबार, गिरिजा, भारत, बैद्य, बाबुरामपछि ओलीको कहानी भुल्दै देखेको र देखाइएको उडानको औपचारिक बिघटनपछि काङ्ग्रेस पार्टी गुहार्दै छन् ।

संविधानसभाको दोश्रो नतिजासँगै नेपाली जनताले दिएको जनादेशविरुद्ध जाने भू–राजनीति र इसाई स्वार्थको कारण अस्थीर बनाइएको राजनीतिमा माओवादी केन्द्रलाई एमालेविरुद्ध खडा गर्ने अल्पकालिन सोच देउवा दिमागको उपज किमार्थ थिएन । संविधान जारी गर्ने समयमा दुई दिन जनताको अभिमत बुझ्न जनता सामु पुगेका दलहरू र सभासदलाई दिइएको जनताको सन्देश र अभिमतलाई लत्याउँदै बाह्य शक्तिको एजेण्डालाई नेपाली जनताको जनादेश भन्दै लादिएको संविधानसँगै सुरु गराइएको राजनैतिक अस्थीरताबीच देउवामार्फत प्रयोग हुन पुगेको नेपालको सबैभन्दा पुरानो राजनैतिक शक्ति नेपाली काङ्ग्रेस बामपन्थी गठबन्धनको नाममा अस्तित्व रक्षाको निम्ति तडपिन बाध्य हुनु देउवाको हुस्सुपन र सत्ता लिप्साको कारण मान्नु मनासिव देखिन्छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको हरेक मोर्चामा अग्रस्थानमा रहेको नेपाली काङ्ग्रेस ०४६ को परिवर्तनपछि विकृति र विसङ्गतिको मार्गमा सवार हुनपुग्दा काङ्ग्रेसका हस्तीहरू गणेशमान र कृष्णप्रसाद भट्टराईहरू पाखा लगाइए । रैतीबाट मानव बनाउने आन्दोलन होस् कि प्रजातन्त्र पुनःप्राप्तिको आन्दोलनपछि जनताको जनजिविकासँग सम्बन्धित विषय–बस्तुबाट विमुख हुँदै सत्ताको जालझेलमा फस्न पुग्यो । दरबार, भू–राजनीति र इसाईले राम्रोसँग चिनेको काङ्ग्रेसको असली तागत उसले लिएको सिद्धान्त, बीपीको दूरदर्शिता, गणेशमानको हठ र कृष्णप्रसाद भट्टराईको त्यागलाई गिरिजामार्फत घाइते बनाइयो । सत्ताको निम्ति सबैथोक जायज मान्ने गिरिजा पथलाई इसाईहरूले नजानिदो ढंगबाट काङ्ग्रेस पार्टीको सिद्धान्त बनाउने कार्यमा सफलता पाउने बित्तिकै दरबारले जन्माएको, भू–राजनीतिले हुर्काएको अनि इसाईले हाईज्याक गरेको प्रचण्ड माओवादीलाई एमालेकै हाराहारी बनाउँदै इसाई एजेण्डालाई सहर्ष स्वीकार गर्न बाध्य पारियो । गिरिजालाई देखाइदिने नाममा गणेशमान र कृष्णप्रसादको आशिर्वाद मिलाईदिने शक्तिकेन्द्रले काङ्ग्रेस पार्टीलाई समुल नष्ट गर्न देउवालाई ब्यक्तिबाट प्रवृत्ति बनाउन सफल भयो । जसको सजाय वर्तमानमा ‘प्रचण्ड झापड’ खाँदै काङ्ग्रेस अस्तित्व रक्षाको निम्ति छ्टपटाउन बाध्य पारियो ।

नेहरू–नीतिलाई पछ्याउँदै इन्दिरा गान्धीले स्थापना गरेको भारतीय खुफिया संस्था ‘रअ’मातहत बनेको मिशन नेपालको भेउ पाउने बीपी दिमाग नभएको वर्तमान काङ्ग्रेस नेतृव एकैपटक भू–राजनीति, इसाई र प्रचण्डको छलकपटबाट बच्न करिब असम्भव थियो भन्ने पुष्टि भैसकेको छ । सुरुमा दरबार सक्ने त्यसपछि एमाले भन्ने योजनामा माओवादीको बढ्दै गरेको अनुपयुक्त शक्तिको कारण परिवर्तन गरिएको नीतिअनुरुप इसाई एजेण्डाले भरिपुर्ण संविधान काङ्ग्रेस र एमालेमार्फत जारी गराइयो । इण्डियाभित्रको भारत जाग्दै हिन्दू राष्ट्रवादीहरूको सत्तामा आगमनले निम्त्याएको पछिल्लो गडबडीमा हिन्दूवादीमाथि इसाईहरू हाबी हुन पुग्दा पहिला काङ्ग्रेस सक्ने त्यसपछि एमाले भन्ने नयाँ खेलअनुरुप प्रचण्ड अवतार खुलेको मान्नेहरू प्रशस्त भेटिन्छन् । स्थानीय निर्वाचनकै बीच बडो नैतिकवान बन्दै राजीनामा दिने प्रचण्ड खेल देउवालाई थाङ्नामा सुताउँदै ओलीको निम्तो स्वीकार गर्ने खेल नेपाली नेताको दिमागले खेल्नै नसक्ने ढुक्कसँग भन्न सकिन्छ । नेपालको भाषा, संस्कृती, परम्परामाथि धावा बोल्नेहरू जाती, क्षेत्र, लिङ्ग र पहिचानको कुरा गर्दै देशको पहिचान मेटाउने सारथीहरू अकस्मात एकजुट गराइएको घटनाले तीनछक खाएको देउवा काङ्ग्रेस दश वर्षसम्म एमाले एक्ल्याउने र सत्ताको चास्नीमा डुबाउने असफल नीतिको कारण दोबाटोमा उभिन पुगेको छ ।

प्रजातन्त्रको आगमनसँगै गिरिजाले जन्माएको देउवाले हुर्काएको तमाम बेथितिलाई त्याग्दै फेरि नयाँ यात्रा शुभारम्भ गर्ने अवसर प्रचण्डको धोकापछि देउवाले प्राप्त गरेका छन् । सत्र सालदेखि ०४६ सालसम्म सत्ता लिप्सा र प्रचण्ड सङ्गतको कारण नेपालका प्रधानमन्त्रीहरूमा सबैभन्दा धेरै पखालिएका देउवा सत्ताबिना बाँच्न सिकेका आम बीपीभक्त चेलाहरूसँग अन्तरक्रिया गर्दै अगाडी बढे बीपीपछिको नेता बन्ने छन् । विदेशी राजनीतिको दुश्चक्रमा फसेको नेपाली राजनीतिबाट पार पाउने उचित अवषरलाई नेपाली काङ्ग्रेसले पक्डिन चाहेमा तत्काल हिन्दूधर्मको वकालत, संघीयताको खारेजी, पुर्ण अधिकारसहितको बिकेन्द्रीकरणको एजेण्डा सहित अगाडी बढ्ने हिम्मत गरे सत्ता राजनीतिमा अल्पकालमा धक्का लागे पनि दीर्घकालमा काङ्ग्रेस मालामाल हुने निश्चित देखिन्छ । प्रचण्डकै निम्ति दिन प्रतिदिन अनेक गडबडी गर्न बाध्य देउवाले अस्ती भर्खर खुबै नैतिकवान बन्दै दिएको प्रधानमन्त्री पदको पुरस्कार काङ्ग्रेसको निम्ति अभिसाप थियो भन्ने खुल्दै गर्दा वर्तमान काङ्ग्रेस प्रचण्डकै कारण जोगिन पुग्दैछ । प्रचण्डले काङ्ग्रेससँग सहकार्य छाडेझैँ काङ्ग्रेसले पनि विदेशी एजेण्डा छाड्दै काङ्ग्रेसलाई बीपी सिद्धान्तमा फर्काउने हिम्मत गरे भविष्यको काङ्ग्रेस प्रचण्डले जोगाएको काङ्ग्रेस हुनेछ ।