जेटल्याग : कारण र न्युनीकरणका उपाय

जेटल्याग : कारण र न्युनीकरणका उपाय


– स्वामी आनन्द अर्हत

विश्व आर्थिक गतिविधिको एक महत्वपूर्ण पक्ष हवाइ उडान व्यवसाय हो । सन् २०१६ मा वायुसेवा कम्पनीहरूले ३५ अर्ब ६० करोड डलरको आय आर्जन गरेका थिए जसको कुल करोबार ५.७ खर्ब डलर थियो । अन्तर्राष्ट्रिय हवाई यातायात एसोसिएकस आइएटिएका अनुसार एक वर्षमा करिब ३ अरब ६० करोड मानिसले हवाई यात्रा गर्छन् । र, यो संख्या बढ्दो छ । एक दिनमा विश्वमा करिब १ लाख ५ हजार हवाई उडान भरिन्छ ।

हवाई यात्रा आफैमा एक रोमाञ्च हो । चरा उडेको देखेर आकाशमा उड्ने मानिसको कल्पनाले मूर्तरुप लिएको धेरै वर्ष भयो । केही घण्टाको हवाई यात्रा आनन्ददायक हुनसक्छ तर लामो यात्रा थकाउने, गलाउने हुन्छ । यसले तपाईंलाई थकाउने मात्रै होइन, भौतिक, मानसिक सन्तुलनलाई डामाडोल पार्न सक्छ । हवाई यात्रा गर्दा थाकिने मुख्य कारण तपाईं उड्दा तपाईंले कति टायम जोनहरू पार गर्नुभयो ? कुन दिशामा उड्दै हुनुहुन्छ ? तपाईंको उमेर के हो ? तपाईंको व्यक्तिगत भौतिक तथा मानसिक अवस्था कस्तो छ ? यात्रा शुरु गर्नुभन्दा अघि तपाईंले कत्तिको आराम गर्नु भएको थियो ? तपाईं निद्रा पुर्‍याएर या नपुर्‍याई यात्रा शुरु गर्दैहुनुहुन्छ, यस्ता कुराले ठूलो भूमिका खेल्छन् ।

जेटल्यागले हामी भित्रको जैविक घडी (इनर क्लक) लाई अस्तव्यस्त पार्छ । यसलाई सर्केडियन डिसरिद्मिया भनिन्छ । हवाई यात्रामा छिटोछिटो टायम जोनहरूलाई पार गर्दै जाँदा हामीभित्रको जटिल आन्तरिक निद्रा चक्रमा बाधा पर्छ । निद्रा मानिसको जैविक आवश्यकताको एक महत्वपूर्ण पक्ष हो । हाम्रो मस्तिष्क प्रणालीमा सकृय उर्जालाई गतिमान गर्ने ‘लड्ने या भाग्ने’ एक प्रणाली हुन्छ भने त्यसलाई सन्तुलित गर्ने अर्को प्रणाली ‘आराम गर्ने र खाना पचाउने’ हुन्छ । यी दुई पक्षको परस्पर सन्तुलनमा नै हाम्रो समग्र स्वस्थको कुंजी टिकेको हुन्छ । (यसलाई हाम्रो भित्री हिटिङ र कुलिङ सिस्टम झैं बुझ्न सकिन्छ ।) त्यही आराम गर्ने महत्वपूर्ण आयाम निद्रा हो । हाम्रो निद्रा लाग्ने र निद्रा खुल्ने चक्र हामीभित्रको आन्तरिक घडी (सर्केडियन साइकल) सँग जोडिएको छ । सर्केडियन साईकलले हामी भित्रको संवेदशनशील कार्यहरू जस्तै ब्लड प्रेसर, ह्दयको गति, शरीरको तापक्रम, हर्मोनको स्तर, निद्रा र मानिसको व्यवहारलाई पनि निर्देशित गरिरहेको हुन्छ ।

आखिर जेटल्याग हुने भित्री कारण के हो ? तपाईं पुगेको ठाउँको स्थानीय समय एउटा हुन्छ भने तपाईं आन्तरिक घडी तपाईंले छोडेको शहरकै समयमा चलिरहेको हुन्छ । त्यसैले यो भित्री घडीको समय एउटा र बाहिरको समय अर्को भइदिन्छ । यो समयको फरक जति बढी हुन्छ त्यति नै जेटल्यागको प्रतिकुल असर पनि देखिन्छ । यसले नयाँ वातावरणसँग घुलमेल गर्न असहज स्थितिको सृजना गर्छ जसले गर्दा सजगता र भित्री सुखबोधमा प्रतिकुल असर पर्छ । तपाईं नेपालबाट उडेर बिहान ५:४५ मा सिडनी पुग्नुभयो भने तपाईंको भित्री जैविक घडीमा नेपाली समयअनुसार रातको १२:३० बजेको हुन्छ । तपाईको भित्री घडीलाई सिडनीको बिहानीसँग खासै महत्व हुँदैन उ नेपालकै मध्यरातको निद्रामा डुब्न खोजिरहेको हुन्छ । तर सिडनीमा जीवन व्यवहार चलाउन सिडनीकै समयमा जतिसक्दो चााडो भित्री घडीलाई रिसेट गर्नु नै जेटल्यागलाई व्यवस्थापन गर्ने कला हो ।

जेटल्यागले दिउँसै अतिशय थाक्ने र निद्रा लागिरहने या राति अनिदोपन हुने, स्मृतिशक्ति क्षीण हुने, बेलाबेलामा र विशेषत: राती उठेको बेला स्थानको बोध हराउने, खान मन नलाग्ने, कुनै विषय या वस्तुप्रति मन्द प्रतिकृया हुने, पाचनशक्तिमा समस्या आउने, टाउको दुख्ने, रुघा लाग्ने, झिंजोपन लाग्ने जस्ता अनेकौं समस्याहरू हुन्छन् ।

तीनभन्दा बडी टायम जोनहरूलाई पार गरियो भने जेटल्याग शुरु हुन्छ । जति बढी टायम जोनहरू पार गरिन्छ त्यति नै जेटल्यागको समस्या जटिल हुँदै जान्छ ।

o तपाईं जति पूर्व उड्नु हुन्छ अर्थात सुर्य परिभ्रमणको विपरित दिशातिर जति लामो उड्नु हुन्छ त्यति नै जेटल्यागको असर गहिरो हुन्छ ।

o पूर्व उड्दा जेटल्यागबाट मुक्ति पाउँन त्यति नै दूरीमा पश्चिम दिसातिर उडेको भन्दा ५० प्रतिशत बढी समय लाग्छ । पश्चिम उड्दा सुर्यपछि पछि आउने भएकोले दिनको लम्बाई बढ्दै जान्छ जसले गर्दा शरीरलाई नयाँ वातावरणमा घुलमेल गर्न सहज हुन्छ ।

o उत्तरबाट दक्षिणतिर उड्दा सुख्खापन र एकैनासे बसाईले शारिरीक तथा मानसिक थकान हुनु सक्छ तर जेटल्याग हुँदैन ।

o बढी उमेर भएकाहरूलाई जेटल्यागको असर लामो हुन्छ । ३ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई जेटल्यागको असर देखिदैंन । प्राय निदाइरहने भएकाले शायद उनीहरूको आन्तरिक घडी अझै विकसित भएको हुँदैन ।

o राति ढिलो सुत्ने बानी भएका व्यक्तिहरूलाई पश्चिम दिशाको उडान सहज हुन्छ भने पूर्व दिशाको उडान जटिल हुन्छ । बिहान छिट्टै उठ्ने व्यक्तिहरूलाई पूर्व दिशाको उडान सहज हुन्छ ।

o दैनिक शारिरीक व्यायाम गर्ने राम्रो स्वस्थ स्थिति भएका व्यक्तिहरूलाई जेटल्यागको असर कम हुन्छ ।

o तर, गहन इच्छा शक्ति भयो भने यसको असरलाई धेरै न्यून गर्न सकिन्छ । प्लेनबाट सिधै काममा जाने बानी भएकी बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरलाई जेटल्याग हुँदैनथ्यो । ३५१ दिनमा १०२ देशको भ्रमण गरेकी हिलारी क्लीटनले विदेशमन्त्रीबाट राजिनामा दिएको चार महिना पछि जिस्किएर भनेकी थिइन, ‘मलाई अहिलेसम्म जेटल्यागले छोडेको छैन ।’

जेटल्यागलाई न्यून गर्ने उपायहरू :

o बिहानको उडान नगर्ने । यसबाट छिट्टै उठ्ने बाध्यता हुन्छ जसले प्राकृतिक निद्रालाई बिगार्छ । पुरै रात सुतेर आराम गरिसकेपछि यात्रा शुरु गर्ने ।

o केही दिन अघिदेखि आफू पुग्ने शहरको समय अनुसार घडीलाई मिलाउनु होस् । जसले गर्दा त्यो समयका लागि अभ्यस्त हुने मनोविज्ञान तयारी हुन सकोस् ।

o पुर्वतिर उडिरहनु भएको छ भने छिट्टै सुत्ने र उठ्ने गर्नुस् । पश्चिम उड्दै हुनुहुन्छ भने ढिलो सुतेर ढिलो उठ्ने गर्नुस् ।

o अलिक समय लिएर एयरपोर्ट पुग्नुहोस् ताकि लेगरुम बढी भएको सिटहरू रोज्न सकियोस् । www.seatguru.com मा गएर प्लेनको कम्पनी र नम्बरबाट आफु उड्ने प्लेनको सिटहरूको बारेमा बुझ्न सकिन्छ ।

o सुर्य देखिने भन्दा विपरित दिशामा सिट लिनुस् ।

o मानिसहरू जम्मा हुन सक्ने स्थान जस्तै वाथरुम, ग्याले र बच्चाहरू बस्ने स्थानबाट दूरी मै बस्नुहोस् ।

o यात्रालाई सहज र आरामदायी बनाइराख्न आईसेड, एयरप्लग, मोइस्चराइजर, लिप वाम, पानीको व्यवस्था गर्नुस् ।

o क्याविनको सुख्खा वातावरणबाट जोगिन यथेष्ट पानी पिउनुहोस् ।

o मदिरा सेवनबाट बच्नुहोस् । उचाईमा उड्दा हुने क्याविन प्रेसरले त्यतिकै पनि रगतमा अल्कोहलको मात्रालाई बढाउँछ । त्यसले मदिराको असर शरीरमा बढी पर्छ । अल्कोहलले शरीरलाई अझ सुकाउँछ जसले शरीरको अक्सिजन लिने क्षमतालाई कमजोर तुल्याउँछ ।

o आयल स्पेसमा बेलाबेलामा उठेर हिड्ने गर्नुस् । हात, खुट्टा, टाउको, काँधको व्ययाम गर्नुस् । जुत्ता फुकालेर बस्नुस् ।

o तपाईं पुग्ने शहरको समय अनुसारको व्यवहार गर्नुस् । अहिले दिन छ तर तपाईं पुग्ने शहरमा रात छ भने खाना र मनोरञ्जन छोडी न्यानो व्लाङकेट ओढेर आरामले सुत्नुस् ।

o पूर्व दिशामा उडेर आइपुग्दा त्यहाँ बिहान भइसकेको तर तपाईंको भित्री घडीले अझै रात्री कै अनुभव गरिरहेको छ (अर्थात तपाईंले छोडेको शहरमा अझै राती नै छ) भने तपाईं थाकेकै भएपनि तुरुन्तै सुत्न नजानुस् । ‘थाकेको छु एकछिन सुत्छु’ भनेर सुतेपछि ७–८ घण्टासम्म सुतिन्छ । जसले गर्दा राती फेरि निद्रै आउँदैन । यसले तपाईंको भित्री घडीको समायोजनलाई झन जटिल बनाउँछ । सुर्यको किरण तपाईंको भित्री घडीलाई असर गर्ने शक्तिशाली तत्व हो । केही घण्टा बाहिर घाममा घुम्न निस्किनुस् । बरु बेलुका छिट्टै सुतेर स्थानिय समय अनुसार आफूलाई ढाल्ने कोशिश गर्नुस् ।

o साधारणत: आफु पुगेको २४ देखि ३६ घण्टासम्म आराम गरेर मात्र काममा लाग्नुस् ।

o तपाईं धेरै उडिरहने व्यवसायिक यात्रु हुनुहुन्छ भने लामो यात्रा गर्नु सट्टा बीचको कुनै शहरमा केही दिन रोकिएर अघि उड्ने व्यवस्था मिलाउनु होस् । यसले समग्र स्वास्थ्यमा कम दवाव पर्छ । विश्वनेताहरूले लामो विश्वभ्रमणलाई विभिन्न देशहरूमा रोकिएर समय समायोजन गरी मुख्य यात्रा पुरा गर्ने गर्छन् । यसो गर्दा जेटल्यागको प्रभाव कम पर्छ ।

यस वर्षको चिकित्सा क्षेत्रको नोबेल पुरस्कार तीन अमेरिकी वैज्ञानिकले पाए । खासै महत्वपूर्ण नठानिएको विषयमा गरेको खोज र अनुसन्धानका लागि उनीहरूले यो पुरस्कार पाएका हुन् । विरुवा, जनावर र मनुष्यले कसरी आन्तरिक जैविक घडी अनुसार आफुलाई समायोजन गर्छन् र प्रकृतिको चक्रअनुसार आफुलाई अघि बढाइरहेका हुन्छन् भन्ने विषयमा उनीहरूको अनुसन्धान केन्द्रीत थियो । शरीरका महत्वपूर्ण भित्री कार्यहरूको रेखदेख गर्ने आन्तरिक जैविक घडीलाई नियन्त्रण गर्ने जीनहरूलाई अलग गर्न सफल यो अनुसन्धानले भविष्यको चिकित्सालाई नयाँ दिशा दिनेछ । वैज्ञानिकहरू भन्छन्– भविष्यमा आन्तरिक जैविक घडीसँग जोडिएको विषय निद्रापनि चिकित्साको एक महत्वपूर्ण अंग हुनेछ । योगमा पहिले देखि नै योग निद्राको अभ्यास एक आध्यात्मिक रुपान्तरणका लागि प्रयोग हुँदै आएको छ । निद्राबाट जागरणको यात्रामा प्रवेश गर्न यो अभ्यास महत्वपूर्ण मानिएको छ ।

हामीले आफ्नो जैविक, मनोविज्ञानिक र शारिरीक सत्यलाई बाहिरी प्रकृतिको विशाल आयोजनमा सन्तुलिन समायोजन गर्न सक्यौं भने हामी कम दु:खी हुन्छौँ । यो जगतसँगको समस्वरतामा मिलेको जीवन नै चेतनाको उच्च प्रस्फुरण हुने सम्भावनाको सहज उपाय हो ।