पूर्वराजाको आँखामा आँशु

पूर्वराजाको आँखामा आँशु


देशवासीहरूमा कठोर मानिसको छवि बनेका पूर्वराजा ज्ञानेन्द्र सुदूरपश्चिमका जनताले आँशु बगाएको देखेपछि आफू भावविह्वल भए । यही चैत १६ देखि २० गतेसम्म ‘राजा’बाट भएको सुदूरपश्चिमाञ्चल भ्रमण विशुद्ध धार्मिक भनिए पनि त्यहाँका जनताले उक्त भ्रमणलाई भावनात्मक बनाइदिए । ‘राजा’ जहाँ-जहाँ गए त्यहाँ असाध्यै ठूलो भीड मात्र जम्मा भएन मानिसले आँखाभरि आँशुसमेत बगाएको आयोजक पक्षले जनाएको छ । धनगढीबाट महेन्द्रनगर जाँदा बीचबाटोमा रोकिने कुनै कार्यक्रम थिएन तर जनताको भीड र एकैछिन भए पनि भेटघाटको आग्रहले ठाउँठाउँमा रोकिँदै हिँड्नुपर्‍यो । राजा हेर्न लाम लागेका धेरैजसो सर्वसाधारणले भने, ‘काठमाडौंमा के भयो, कसले किन राजसंस्था हटायो हामीलाई थाहा छैन । अरूको दोषको भागीदार हामीलाई नबनाइयोस् हामी यो मुलुकमा राजसंस्था चाहन्छौँ । मुलुकको मियोको रूपमा राजसंस्था हुनुपर्दछ ।’ जवाफमा पूर्वराजाले केही भनेनन्, केवल आँखाभरि आँशु पारे । गहिरो भावुकताबीच धेरै ठाउँमा उनले बोलेनन्, हात मात्र हल्लाए ।

यसपटक सुदूरपश्चिममा ‘राजा’को भ्रमणमा युवा जमातको भारी सहभागिता देखेर आयोजक आफैं छक्क परे । यसअघि बूढापाकाहरू राजसंस्थाप्रति बढी समर्पित भएको पाइन्थ्यो । भ्रमणभरि युवाहरूले सयौ“ मोटरसाइकलमा स्कर्टङि गरिरहे, जुन कुरा ‘राजा’ काठमाडौंबाट हिँड्दा कल्पना गरिएको थिएन । धनगढी र महेन्द्रनगरमा ‘राजा’को फोटोसहितको प्लेकार्डमा सर्वसाधारण उभिएका थिए । तीमध्ये कतिले ‘सरकार, राजा नहुँदाको मुलुक हामीलाई राम्रो लागेन’ भनेर साधारण स्थानीय भाषामा भनेका थिए ।

महेन्द्रनगर र धनगढीका विभिन्न मन्दिरहरूमा पूजाआजा गर्दा सर्वसाधारणको भीड लागेको थियो । भ्रमणपछि धनगढीमा पत्रकारहरूस“ग भेटघाटको कार्यक्रम पनि रोचक रह्यो । पत्रकारहरूले राजनीतिक दलका नेताहरूलाई भन्दा फरक ढङ्गले प्रश्न गरेका थिए । राजनीतिक प्रश्नको जवाफ भने उनले दिएनन्, बरु भने, ‘तपाईंहरूलाई जस्तै महशुस मलाई पनि भएको छ । मुलुकमा राम्रो होस् भन्ने एक मात्र चाहना छ ।’

यसैबीच पूर्वराजा ज्ञानेन्द्रलाई रूपन्देही, कपिलवस्तु, अर्घाखाँचीलगायतका स्थानहरूबाट पनि निमन्त्रणा आएको बुझिएको छ । विभिन्न धार्मिक समारोहमा सरिक हुन तथा मठमन्दिरको दर्शन गर्न जेठको पहिलो साता पश्चिमाञ्चलको भ्रमण गरिने कुरा निर्मलनिवासनिकट स्रोतले जनाएको छ । यसअघि फागुनको अन्तिम साता ‘राजा’बाट पूर्वाञ्चलको भ्रमण भएको थियो । पूर्वाञ्चलमा पनि जनताले अगाध स्नेह देखाएका थिए ।-स्रोतः घटना र विचार