काङ्ग्रेस आत्तिनुपर्दैन, एमाले मात्तिनुपर्दैन

काङ्ग्रेस आत्तिनुपर्दैन, एमाले मात्तिनुपर्दैन


दुई साम्यवादी पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको चुनावी तालमेल अनि पार्टी नै एउटै बनाउने भनी ‘बाहिर देखिनमा आएको’ घोषणाले नेपाली राजनीति तरङ्गित बनेको छ । तालमेलसम्म ठीक हो, तर पार्टी एकता नै किन ? भन्ने प्रश्नले काङ्ग्रेस, एमाले, माओवादी यी तीनै ठूला दलका नेता–कार्यकर्ता हैरान छन् । अन्य दलका नेता, राजनीतिक विश्लेषक अनि आमजनताले पनि एकताको घोषणालाई सहज रूपमा लिन सकिरहेका छैनन् । खाटी कुरो गर्ने हो भने बहुमत जनसमुदायले एकताको घोषणालाई पचाउन सकिरहेका छैनन् ।

आफूलाई मन नपर्ने खानेकुरा खाइएको छ भने उल्टी आउलाजस्तो हुन्छ, पेट डम्म फुलेजस्तै हुन्छ र त्यसै–त्यसै बिमारी परेजस्तो हुन्छ । नेपाली जनतालाई अहिले त्यस्तै भएको छ । एकताको नाममा जुन गाँस नेपाली जनतालाई खुवाउन लागिएको छ, त्यो गाँस खानुपर्ला भनेर जनतालाई अहिलेदेखि नै वाकवाकी आउन थालिसकेको छ । आमजनतालाई यस्तो किन महसुस भइरहेको छ ? यसका अन्तरकुन्तरमा के–कस्ता कारण छन् ? यी तथ्य खोतल्नु सान्दर्भिक मात्र नभई अपरिहार्य नै भएको छ ।

नेपालका तीन ठूला दलको पृष्ठभूमि विश्लेषण गर्ने हो भने काङ्ग्रेस र एमाले पनि कुनै समय सशस्त्र विद्रोह गरेका पार्टी हुन् । तर, उनीहरूको त्यो क्रियाकलाप विस्मृतिको गर्भमा विलुप्त भइसकेको छ । माओवादीको सन्दर्भमा भने यो तथ्य लागू हँुदैन । इन्टरनेटको युगमा माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेको हो । कम्प्युटरको माध्यमबाट माओवादीका राम्रा–नराम्रा क्रियाकलाप घामजस्तै छर्लङ्ग भएर सारा जनताका सामु फैलिएको हो । पन्ध्र हजारभन्दा बढी नेपालीको रगतको खोलो जनयुद्धका नाममा बगेकै हो । त्यो तथ्य सबै जनसमुदायले कम्प्युटर, इन्टरनेट, मोबाइल अनि पछि स्मार्टफोनको माध्यमबाट थाहा पाएकै हुन् ।

बाटो बिराएका माओवादीहरूलाई शान्तिप्रक्रियामा ल्याउनुपर्छ र मूलधारको राजनीतिमा स्पेस दिनुपर्छ भन्ने तथ्यमा आमजनता सहमत थिए । तर, रगतमा लतपतिएर आएका उनीहरूलाई निश्चित दूरीमा राख्नुपर्छ भन्ने तथ्यमा पनि जनताको एकमत नै थियो । एमालेभित्रका नेता–कार्यकर्ताको अभिमत पनि यही नै थियो । अहिले पार्टी एकताको चर्चाले एमालेभित्रको बहुसङ्ख्यक अभिमतलाई ठेस पुऱ्याउने काम गरेको छ । यसो भनेर माओवादीलाई होच्याउन वा अलग्याउन खोजिएको होइन, तर जनताको स्मृति यति आलो छ कि ०५३-५४ सालदेखि अहिलेसम्मका घटनाक्रममा उनीहरूले हरेक पार्टीको क्रियाकलापलाई मूल्याङ्कन गरेर बसेका छन् र के ठीक हो, के बेठीक हो, राम्रोसँग छुट्याउन सक्ने भएका छन् ।

माओवादीलाई शान्तिप्रक्रियामा ल्याउँदाखेरि नै एमाले नेता वामदेव गौतमले समग्र एमाले पार्टी माओवादी अध्यक्ष प्रचण्डलाई जिम्मा लगाउन खोजेकै हुन्् । अहिले फेरि त्यही हुटहुटी उनमा देखिएको छ । फरक यति मात्रै हो कि वामदेवले पार्टी अध्यक्ष केपी ओलीलाई समेत यसपालि आफ्नो प्रभावमा पार्न सफल भएका छन् । ओलीभन्दा अघि पार्टी हाँकेका माधवकुमार नेपाल र झलनाथ खनालमा ‘करिश्मा’ तत्व थिएन, तर उनीहरूले पार्टीलाई कलुषित हुनबाट जोगाएर राखेका थिए । त्यो ल्याकत केपी ओलीमा छ कि छैन भन्ने तथ्य उनी माओवादीसँग पार्टी एकता गर्छन् वा माओवादीलाई तालमेलसम्म गरेर निश्चित दूरीमा राख्छन् भन्ने तथ्यबाट छर्लङ्ग हुनेछ ।

प्रचण्डको सन्दर्भमा भन्नुपर्दा उनी एक कुशल रणनीतिकार हुन् भन्ने तथ्यमा कुनै शङ्का छैन । उनी हरेक घटनालाई रणनीतिकै रूपमा विश्लेषण गरी त्यहीअनुसार अघि बढ्न खप्पीस छन् । प्रचण्ड नेपाली राजनीतिका यस्ता व्यक्तित्व हुन् जसलाई कसैले पनि आजको समयमा नजरअन्दाज गर्न सक्दैन । बुझ्नुपर्ने तथ्य यो हो कि एकताको प्रस्ताव माओवादीबाट आएको हो । एमालेले त केवल चुनावी तालमेल गर्ने निर्णय मात्रै गरेको थियो । प्रचण्ड शान्तिप्रक्रियामा आइसकेपछि पनि एक समय सत्ता कब्जा गर्ने ध्याउन्नमा लागेकै हुन् । उनी अहिले नेपालको सबैभन्दा ठूलो दल कब्जा गर्ने रणनीतिमा लागेका रहेछन् भन्ने तथ्य बुझ्न अलिकति पनि गाह्रो छैन ।

ओली र प्रचण्डले आलोपालो नेतृत्व गर्ने अथवा ओली नै अध्यक्ष हुने भनिए पनि प्रचण्डको साम, दाम, दण्ड, भेदका अगाडि ओलीको केही चल्लाजस्तो देखिँदैन । एउटा शरीरको एउटा मात्र टाउको भयो भने शरीरलाई आफ्नो कार्यहरू सम्पन्न गर्न सजिलो हुन्छ । दुईवटा टाउका भएका शरीर, चाहे त्यो मान्छेको बच्चाको होस् या गाईको बाच्छाको, त्यो अल्पसमयमै मृत्युको सिकार बन्न पुग्छ । प्रचण्ड भनेका नेपाली राजनीतिका टाउका हुन् । उनी एमालेमा गएपछि त्यहाँ पनि टाउको नै भएर बस्छन्, शरीर भएर बस्दैनन् । बरु एमालेलाई शरीरको रूपमा उपयोग गरिदिन्छन्, अनि एमालेमा भएका टाउकाहरूलाई समेत शरीरमा रूपान्तरण गरिदिन्छन् । उनमा त्यति ल्याकत छ, यसमा कुनै विवाद छैन । एमाले नेताहरू प्रचण्डलाई पार्टी जिम्मा लगाउने गरी पराजित र समर्पणवादी मानसिकतामा पुगिसकेकै हुन् त ? जसको आधारमा उनीहरूले पार्टी एकता स्वीकार गर्नुप¥यो ? यो तथ्य समयक्रमले बताउने नै छ ।

वाम एकताको सन्दर्भमा भन्नुपर्दा यो अवधारणा व्यावहारिक (प्रागम्याटिक) भन्दा बढी खोक्रो आदर्शवादी (डगम्याटिक) देखिन्छ । वामपन्थी दलहरू टुक्रिनु भनेको मिल्न नसकेर नै टुक्रिनु हो । मिल्न सक्नेहरू त सँगै बसेकै छन् । एघारजना जम्मा हुनेबित्तिकै कमिटी गठन गरिहाल्ने अनि केन्द्रीय नेता बनिहाल्ने प्रवृत्तिले वामपन्थी पार्टीहरू एक हुन नसकेका हुन् । हुन त यो प्रवृत्ति वामपन्थी दलहरूमा मात्रै होइन, सबै दलहरूमा लागू हुन्छ । यद्यपि वामपन्थीहरू यस प्रवृत्तिबाट बढी नै पीडित छन् । अर्को महत्वपूर्ण तथ्य भनेको हरेक वामपन्थीको माक्र्सवादको सम्बन्धमा रहेको बुझाइ अर्को वामपन्थीको भन्दा निश्चित रूपमा फरक हुन्छ ।

हरेक वामपन्थीले लेनिनवादलाई फरक रूपमा बुझेका हुन्छन् । हरेक वामपन्थीले स्टालिनवाद र माओवादलाई पनि फरक रूपमा बुझेका हुन्छन् । एक वामपन्थीको निम्ति माक्र्सवाद, लेनिनवाद, स्टालिनवाद र माओवाद भनेको साम्यवादसम्म पुग्ने बाटाहरू हुन् । तर, जब बाटाहरूकै सम्बन्धमा बुझाइहरू बाझिन्छन् भने, अति धेरै अलमल हुन्छन् भने, यी बाटाहरूबाट कुन ‘एक्जिट’ लिएर हिँडेमा ‘साम्यवाद’ नामक गन्तव्यमा पुगिन्छ त ? यस तथ्यमा वामपन्थीहरू आफ्नो स्थापनाकाल वि.सं. २००६ देखि अहिलेको मिति वि.सं. २०७४ सम्म कुल ६८ वर्षको अवधिसम्म पनि एकमत हुन सकेका छैनन् । जब हिँड्ने बाटो नै स्पष्ट छैन भने तोकिएको लक्ष्यमा पुग्नु त असम्भव नै भइहाल्यो ।

एमाले र माओवादी पार्टीबीच एकता भई नै हालेछ भने पनि यी दुई दलले आफ्नो नयाँ नाम राख्दा एकल पार्टीको शासनको झल्को दिने नाम, जसमा ‘साम्यवादी’ अथवा ‘कम्युनिस्ट’ शब्द जोडिएर आएको हुन्छ, त्यस्तो नाम राख्नुहुन्न । नयाँ पार्टीको नाममा पनि ‘साम्यवादी’ अथवा ‘कम्युनिस्ट’ शब्द जोडिएर आयो भने कामकुरो एकातिर (बहुदलीय प्रतिस्पर्धा), अनि कुम्लो बोकी ठिमीतिर (एकल पार्टीको साम्यवादी व्यवस्था) भनेजस्तै हुन्छ । तर, ‘लालसलाम’ भन्न पाउने छुटचाहिँ दिनुपर्छ ।

‘साम्यवाद’को सन्दर्भमा कुरा गर्दा, विश्लेषकहरूले विश्व–परिवेशमा देखेको तथ्य यो हो कि साम्यवाद भनेको यस्तो राजनीतिक सिस्टम हो, जहाँ केवल एक मात्र पार्टी अस्तित्वमा रहन्छ र एक मात्र पार्टीको शासन हुन्छ । अरू पार्टीहरू अस्तित्वमा रहँदैनन् किनकि उनीहरूलाई अस्तित्वमा रहन दिइँदैन र निमिट्यान्न पारिन्छ । क्युबामा फिडेल क्यास्त्रोको पार्टी, तत्कालीन सोभियत सङ्घमा लेनिन र स्टालिनको पार्टी, उत्तर कोरियामा किम इल सुङको पार्टी र भियतनाममा होची मिन्हको पार्टीको एकल शासन नै व्यवहारमा देखिएका ‘साम्यवाद’का उदाहरणहरू हुन् । नेपालका साम्यवादी राजनीतिक दलहरू, जसले आफ्नो नाममा साम्यवादीको अङ्ग्रेजी अनुवाद ‘कम्युनिस्ट’ शब्द प्रयोग गर्छन्, उनीहरूले नेपाललाई पनि क्युबा, तत्कालीन सोभियत सङ्घ, उत्तर कोरिया र भियतनामजस्तै एक मात्र पार्टीबाट शासित साम्यवादी राज्य बनाउन खोजेका हुन् त ? नेपाल साम्यवादी पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) अर्थात् नेकपा एमालेको सन्दर्भमा भन्नुपर्दा यो पार्टीले ‘जनताको बहुदलीय जनवाद’को सिद्धान्त नै अङ्गीकार गरेर बहुदलीय प्रतिस्पर्धा स्वीकार गरिसकेको अवस्था छ ।

त्यसैगरी, नेपाल साम्यवादी पार्टी (माओवादी केन्द्र) अर्थात् नेकपा (माके)ले पनि बहुदलीय प्रतिस्पर्धा स्वीकार गरेर यहाँसम्म आइसकेको अवस्था छ । व्यवहारमा यी दुई दल र अन्य वामपन्थी दलहरूले आफूलाई बहुदलीय भनेर चिनाउने तर पार्टीको नामचाहिँ अझै पनि ‘साम्यवादी’ राख्ने– यस हिसाबले कुन बाटोबाट हिँडेर कहाँ पुगिने हो त ? राजनीतिको एक सामान्य विद्यार्थीले पनि यो निक्र्योल गर्न सक्छ कि यस किसिमको हिँडाइ अत्यन्त अलमलयुक्त हिँडाइ हो र यसबाट लक्ष्यमा पुग्ने त के कुरा, छेउसम्म पनि पुग्न सकिँदैन । ‘नेपाल साम्यवादी पार्टी’ नाम भएका सम्पूर्ण दलहरूले गहन विचार गर्नुपर्ने अत्यन्त महत्वपूर्ण प्रश्न हो यो ।

एमाले र माओवादी पार्टीबीच एकता भई नै हालेछ भने पनि यी दुई दलले आफ्नो नयाँ नाम राख्दा एकल पार्टीको शासनको झल्को दिने नाम, जसमा ‘साम्यवादी’ अथवा ‘कम्युनिस्ट’ शब्द जोडिएर आएको हुन्छ, त्यस्तो नाम राख्नुहुन्न । नयाँ पार्टीको नाममा पनि ‘साम्यवादी’ अथवा ‘कम्युनिस्ट’ शब्द जोडिएर आयो भने कामकुरो एकातिर (बहुदलीय प्रतिस्पर्धा), अनि कुम्लो बोकी ठिमीतिर (एकल पार्टीको साम्यवादी व्यवस्था) भनेजस्तै हुन्छ । तर, ‘लालसलाम’ भन्न पाउने छुटचाहिँ दिनुपर्छ, किनकि आखिर यो संस्कारको कुरा न हो । तर, ‘लालसलाम’ पनि कालान्तरमा बिलाएरै जाने शब्द हो । यसको सट्टामा नेपाल, राष्ट्र वा देश जोडिएर प्रयोग हुने कुनै शब्द लोकप्रिय भएर अगाडि आउन सक्छ ।

एमाले र माओवादीबीच पार्टी एकता भएनछ भने पनि यी दुई दलले आफ्नो नामबाट साम्यवादी अर्थात् कम्युनिस्ट शब्द निकालेर फ्याँक्न सक्ने हिम्मत देखाउन सक्नुपर्छ । विश्व परिपे्रक्ष्यमा साम्यवादी सिद्धान्तका उपासकहरू, जो बहुदलीय प्रतिस्पर्धामा आएका छन्, उनीहरूले आफ्नो नाम राख्दा समाजवादी, प्रगतिशील, अग्रगमनकारी यस्तै–यस्तै अथवा कुनै नवीनतम नाम राखेको पाइन्छ । एमाले र माओवादीले पनि समयको यो आवाजलाई सुन्न सक्ने सामथ्र्यको विकास गर्न सक्नुपर्छ । तर, वाम एकताको नाममा अव्यावहारिक ध्रुवीकरण गर्दै जाने हो भने त्यसले अहिलेसम्मकै उपलब्धिहरू, जस्तै गणतन्त्र, सङ्घीयता, बहुदलीय प्रतिस्पर्धा आदिलाई धरापमा पार्ने काम गर्नेछ र मुलुकलाई फेरि अस्थीरतातर्फ धकेल्नेछ ।

एकता नै गर्नु छ भने वाम–गैरवामबीचको भेदभाव त्यागेर मुलुकभरका राजनीतिक दलहरूले राष्ट्रिय विकासका लागि एकता गर्नुपर्छ, आमनेपाली जनताको सबलीकरणका लागि एकता गर्नुपर्छ । त्यस्तो एकता दुई पार्टीलाई जोडेर एकै बनाउनुपर्छ भन्ने हिसाबबाट होइन, तर राष्ट्रिय महत्वका सवालहरूमा अलग–अलग पार्टीहरू भईकन पनि झगडा नगरीकन एकचित्त, एकस्वर, एकशरीर भएर अघि बढ्नुपर्छ भन्ने तथ्यबाट अभिप्रेरित हुनुपर्छ । यदि यस्तो भयो भने एमालेले माओवादीसँग चुनावी तालमेल ग¥यो भनेर नेपाली काङ्ग्रेस आत्तिन पाउँदैन, न त नेकपा (एमाले) माओवादीसँग तालमेल गर्न पाइयो भनेर मात्तिन नै पाउँछ । माओवादीले पनि अब तिकडमबाजी र सत्ता कब्जाको धङधङीबाट आफूलाई पूरै अलग्याएर इमानदार राजनीतिको जग बसाल्नुपर्छ । सुरुवात गर्नलाई ढिलो कहिले पो भएको छ र । मैदान अझै पनि खाली नै छ ।
twitter: @manojrjl