गठबन्धन कि ‘ठग’बन्धन ?

गठबन्धन कि ‘ठग’बन्धन ?


– सुमन बराल

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालले केही दिनअघि तत्काल चुनावी तालमेल गर्ने अनि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरे । तथापि, नयाँ शक्ति नेपाल तालमेल र एकता प्रक्रियाबाट नै बाहिरिने लगभग निश्चित देखिएको छ भने यसबीच हृदयेश त्रिपाठीलगायतका केही नेता राजपा त्याग गरी सूर्य चिह्न लिएर चुनाव लड्ने तयारीमा रहेका समाचार पनि प्रकाशमा आएका छन् । यसैगरी, नेपाली काङ्ग्रेसले पनि विचार मिल्ने अन्य दलहरूसँग बृहत् लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास सुरु गरिरहेको छ । कुनै एक दलले तत्काल स्थायी सरकार बनाउने गरी बहुमत ल्याउन धेरै कठिन हुने धरातलीय यथार्थ हो । यद्यपि एक–अर्कालाई सिध्याउन लागिपरेका दलहरू रातारात समयको माग भन्दै एक ठाउँमा आफ्नै विवेकले आए वा सत्तास्वार्थ अथवा कसैले कुनै स्वार्थपूर्तिका लागि नजिक ल्याइदिए भन्ने कुरालाई नजरअन्दाज गर्नुहँुदैन । तसर्थ, नेपाली जनताले यी घटनाक्रमलाई नजिकबाट नियालिरहनु आवश्यक छ ।

राष्ट्रिय स्वाधीनता र एकता, भौगोलिक अखण्डता, आर्थिक समृद्धि अनि जनताको चाहना र भावनाअनुसार पार्टी एकता गर्ने ऐतिहासिक आवश्यकता रहेको प्रचण्ड र ओलीले बताएका छन् । नेपालमा करिब दुई सय दल भएको र कुनै एक दलको सामान्य बहुमत आउन कठिन भएकाले वर्षेनी सरकार परिवर्तन हुने गरेकोलगायतका कारण दलहरूबीच तालमेल वा एकीकरण हुनु सुखद पक्ष हो । तर, सत्ता र स्वार्थकेन्द्रित एकता भने बढी घातक हुन्छ । सत्ता सहयात्री माओवादी केन्द्रको विपक्षी दलसँगको गठबन्धनलाई काङ्ग्रेसका नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अप्रत्यासित र पर्दापछाडिको खेल भएको बताएका छन् । एमालेलाई न भाले न पोथी भन्ने माओवादी केन्द्र, माओवादीलाई खहरे खोला भन्ने र पत्तासाफ गराउन लागिपर्ने एमाले अनि कम्युनिस्ट शब्दसँगै सम्बन्धविच्छेद गरेर हिँडेका नयाँ शक्ति नेपालका बाबुरामबीचको मिलन ‘गठबन्धन’ हो वा ‘ठगबन्धन’ भन्ने कुरा भविष्यले निर्धारण गर्ने नै छ ।

राजनीति सम्भवानाको खेल हो र जे पनि हुन सक्छ भन्ने कुराको एक ज्वलन्त उदाहरण नेपाल हो । दिनभरि एक–अर्कालाई सत्तोसराप गर्ने नेताहरू साँझमा सँगै भेटिनु अनि सत्ताका लागि जोसँग पनि ऐतिहासिक आवश्यकता भन्दै मिल्नु र छुट्नु नेपालमा नौलो होइन । यी तमाम विकृतिको अन्त्य गर्न अनि देशलाई निकास र विकास दिन कम्तीमा सामान्य बहुमत ल्याउन सक्ने दल हुनु अत्यन्त आवश्यक छ । काङ्ग्रेसको नेतृत्वमा विचार मिल्ने अन्य दलहरूको एकता, एमालेको नेतृत्वमा माओवादी, अन्य वाम घटकलगायतका दलहरूको एकता र विवेकशील साझा पार्टीको नेतृत्वमा नयाँ वैकल्पिक शक्तिहरूको एकता अपरिहार्य छ । सङ्घीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी, राप्रपा प्रजातान्त्रिक, विप्लप र मोहन वैद्यले नेतृत्व गरेको माओवादीलगायतका दलहरूसँग कुनै ठूलो दलसँग एकीकरण वा गठबन्धन गर्ने अथवा सानो दलकै हैसियतमा निरन्तर जनताको मन र मत जित्ने कोसिस जारी राख्ने दुई विकल्प छन् ।

कतिपयले वाम घटक र काङ्ग्रेस गरी दुई ठूला दल नेपालमा पर्याप्त हुन्छ भन्ने गरेका छन् । यद्यपि जनता पालैपिलो दुवै ठूला खराब दललाई जिताउन बाध्य नहुन भन्नका लागि तेस्रो वैकल्पिक शक्ति पनि आवश्यक पर्छ । जनताले पनि विवेक प्रयोग गरेर कुनै एक दल वा गठबन्धनलाई कम्तीमा सामान्य बहुमत दिएर परीक्षा लिनुपर्छ । परीक्षा अनुत्तीर्ण भएको खण्डमा अर्को दललाई मौका दिनुपर्छ । थोरै दल भए स्थायी सरकार बन्ने प्रबल सम्भवाना हुन्छ । तर, उक्त दलभित्र सक्षम र इमानदार नेतृत्व पु¥याउने कर्तव्य भने जनताले पूरा गर्नुपर्छ । नेपालमा सत्ताका लागि एउटै दल पटकपटक फुटेको दुःखद इतिहास पनि छ, तर अब विकसित देशको तुलनामा कम्तीमा सय वर्षपछि घिस्रिरहेको देशलाई निकास दिन शीर्ष नेताहरू इमानदार बन्नैपर्छ ।

नेपालमा दुई वा तीनवटा ठूला दल भए सामान्य बहुमत आएर स्थायित्व प्राप्त हुने डरका कारण दलहरूलाई मिल्न नदिने अनि मिलेका दललाई फुटाउने देशी–विदेशी शक्तिकेन्द्रहरू सधैँ सक्रिय छन् । यद्यपि फुटाउने नै लक्ष्य भएकाहरू नभई सत्ताका लागि फुट्ने र जुट्ने हामै्र नेता र दलहरू बढी दोषी छन् । सत्ताका लागि मात्र नभई देशले विकासको गति समातोस् भन्ने अठोटका साथ दलहरू एक ठाउँमा उभिएका हुन् भने मिल्न नदिने सबै षड्यन्त्रहरू चिर्नुपर्छ अनि भागबन्डाका आधारमा नभई स्थानीय स्तरबाट नै कार्यकर्ताबाट चुनिएर माथि बढ्ने परिपाटीको विकास गर्नुपर्छ । विगतका कमी–कमजोरीबाट पाठ सिकेर फुटेर नभई जुटेर अघि बढ्न नेताहरूको बुद्धि वास्तवमै पलाएको हो भने ६०÷४० प्रतिशतको राजनीति अनि आलोपालो प्रधानमन्त्री र मन्त्री बन्ने गलत प्रवृत्ति त्याग्नुपर्छ ।

सयौैँ दल हुँदा अध्यक्ष र नेता भएर रहर पूरा गर्ने अनि वर्षेनी सरकार परिवर्तन हुँदा मन्त्री सधैँ पड्काउनेहरू निराश हुनु अनि दुई वा तीन ठूला दल बनिरहँदा नेता बन्न नपाइने डर भएका केही नेता तथा कार्यकर्ता असन्तुष्ट हुनु स्वाभाविक हो । तर, विचार मिल्ने दलहरूले गठबन्धन वा एकता गर्दा स्वतन्त्र नागरिक धेरै उत्साहित हुन वा अत्तालिन आवश्यक छैन । हाम्रा दल र नेताहरूको विगत र आचरण हेर्दा धेरै आशा गर्ने ठाउँ छैन किनकि उनीहरू पटकपटक सत्तामा पुगेर पनि असफल प्रमाणित भएका छन् । तर, उनीहरूलाई शङ्काको लाभ दिनुको विकल्प पनि छैन । अर्कोतर्फ विवेकशील साझा पार्टीको नेतृत्वमा वैकल्पिक शक्तिहरूले जनताको मन र मत जित्ने गरी निरन्तर मिहिनेत गर्न आवश्यक छ । अधिकांश जनता ठूला दलहरू अक्षम भएको तथ्यमा विश्वस्त भएकाले आफू सक्षम भएको कुरा प्रमाणित गर्न समय र बल खर्चिन आवश्यक छ किनकि जनताले उचित विकल्प नदेखेसम्म पटकपटक पुरानै खराब दललाई सत्तामा पु¥याउँछन् ।

कतिपयले वाम–एकता वा बृहत् लोकतान्त्रिक गठबन्धनले दुईतिहाइ बहुमत ल्याए भने जथाभावी संविधान संशोधन गर्लान् वा तानाशाही होलान् भनेर चिन्ता गरेको पाइन्छ । यद्यपि १०–१० वर्षमा पटकपटक आन्दोलित हुँदै आएका नेपाली जनताले अब फेरि तानाशाही सहने सम्भावाना अत्यन्त न्यून भएकाले सामान्य बहुमतले सरकार निर्माण गर्ने र दुईतिहाइ बहुमतले संविधान बनाउन पाउने अन्तर्राष्ट्रिय प्रचलनमा तानाशाही जन्मेला भनेर धेरै चिन्ता गर्न आवश्यक छैन । भ्रष्ट शासकहरूले पालैपिलो राजा, राणा, व्यवस्थालाई र अहिले अस्थायी सरकारलाई नेपाल संसारकै एक गरिब देश हुनुको दोषारोपण गर्दै छन् । तर, स्थायी सरकार भएको खण्डमा पनि यिनै प्रमाणित अक्षम शासकले निकास र विकास नदेलान् भन्ने चिन्ता भने अत्यन्त जायज छ । समृद्धिका लागि स्थायी सरकार नेपालजस्तो विधिको शासन नभएको देशमा आवश्यक, तर पर्याप्त सर्त भने होइन । स्थायी सरकारले सम्पन्नता दिने भए दशौँ वर्षदेखि एउटै शासक रहेका क्यामरुन, जिम्बाबे, इक्याटेरल गिनिया, कङ्गो, सिरिया, उत्तर कोरियालगायतका देश संसारकै सफल देश बन्ने थिए । तसर्थ देश र जनताप्रति इमानदार र जवाफदेहिता अनि नेतामा नैतिकता र इच्छाशक्ति पहिलो सर्त हो । विडम्बना, पटकपटक सत्तामा पुगेर पनि २४ घन्टामा सहजै गर्न सकिने कामहरू पनि नगरेका शासकहरू रातारात परिवर्तन हुने सम्भावना न्यून छ ।

नेपालमा धेरै शासकीय प्रणालीको प्रयोग भइसकेको छ, तर दल र शीर्ष नेताहरूको अक्षमता र गैरजिम्मेवारीपनका कारण संसारकै एक दरिद्र देश बनिरहन बाध्य छ । सरकारको नेतृत्व गर्नेहरूसँग अलिकति मात्र नैतिकता र इमानदारिता हुने हो भने धेरै समस्या केही दिनमै समाधान गर्न सकिन्छ । जस्तै, खराब म्यानपावर र कन्सल्टेन्सीका कारण दुःख पाएका लाखौँ नेपालीका समस्या केही दिनमै समाधान गर्न सकिन्छ । सरकारले तोकेको मापदण्ड पूरा गर्ने राम्रा म्यानपावरबाट मात्र वा सरकारी संयन्त्रबाट नै कामदार पठाउने, खराब म्यानपावर बन्द गर्ने, मानव बेचबिखनमा संलग्न अत्यन्त खराब म्यानपावर र दलालहरूको सबै सम्पत्ति जफत गरेर जेल हाल्ने काम गर्न १ दिन पर्याप्त छ । साथै, नेपालमा रोजगारी दिन नसकुन्जेल निःशुल्क वा सस्तोमा सीप भएका र दक्ष श्रमिक पठाउने अनि कामदार जाने देशको आधारभूत भाषा र कानुन अनिवार्य सिकाउने कानुन बनाएर कार्यान्वयन गर्न आणविक हतियार बनाउनजस्तो कठिन हँुदैन । साथै, सबै नागरिकसँग आयआर्जनअनुसार कर लिएर शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न इमानदार सरकारलाई धेरै कठिन हुँदैन । तसर्थ, जनताले भविष्यमा बन्ने गठबन्धन वा एकतामा दल र नेताहरू इमानदार भए–नभएको कुरामा सतर्क भएर मात्र मताधिकार प्रयोग गर्नुपर्छ ।

प्रचण्डले राजनीतिक स्थिरतासहित आर्थिक समृद्धिका लागि कम्युनिस्ट र मधेसकेन्द्रित दल अनि अन्य लोकतान्त्रिक दलहरूसँग पनि चुनावी तालमेल र एकताको पहल गर्ने बताएका छन् । उनले आर्थिक समृद्धिबिना समाजवादको आधार सम्भव छैन भन्दै २१औँ शताब्दीको मोडल खडा गरेर विश्वलाई नयाँ सन्देश दिने कुरा पनि बताए । यी भाषणले जनतालाई झुक्याउन सक्छन्, तर नेपाली जनताले दलहरूबाट अहिले धेरै अपेक्षा नै गरेका छैनन् र कुनै मोडल संसारलाई दिइरहन आवश्यक पनि छैन । मासिक १५–२० हजारका लागि २०औँ लाख नेपाली बिदेसिने बाध्यताको अन्त्य गरेर नेपालमा नै रोजगारी वा बेरोजगारी भत्ता दिएर आधारभूत आवश्यकताको ग्यारेन्टी गर्ने राजधर्म मात्र निभाए पुग्छ । अधिकांश जनताले नबुझ्ने समाजवाद, साम्यवाद, पुँजीवाद, माक्र्सवाद, माओवादको रटान लगाएर जनता ठग्ने नभई संसारका सबै मोडलको सबल पक्ष लिएर नेपालमा प्रयोग गर्ने इमानदार र नैतिकवान नेतृत्व आजको आवश्यकता हो ।
[email protected]