समाज विकास र कम्युनिष्ट विचारको सापेक्षता

समाज विकास र कम्युनिष्ट विचारको सापेक्षता


– दामोदर पौडेल

निजी सम्पत्ति, आदिम साम्यवाद, समाज विकास क्रम, यी समेतको ब्याख्या आदिमा माक्र्सदेखिका केही धारणाहरू केहीले अधिकारिक मान्ने र सोही कारणले केहीबीच विवादित बन्ने गरेका छन् । केही हदसम्म भए पनि यस सम्बन्धमा प्रष्ट हुनुपर्ने भन्ने केहीको सोच रहेको पाइन्छ ।

बारबार निजी सम्पत्ति र विवाहको सबन्धमा चर्चा हुने गरेको छ । नेपालमा कम्युनिष्ट पक्षधरहरू र प्रदिप गिरि जस्ता लोकतान्त्रिक समाजवादी विश्लेषकहरूले आलेखमार्फत आफ्ना धारणा राखेका पाइन्छन् । प्रथमतः निजी सम्पत्तिको सुरुसँगै विवाहको सुरुवात भएको भनाइ बढि विश्वासिलो देखिन्छ । आदिम साम्यवादमा एउटा झुण्डको अर्को झुण्डको युद्धमा पुरुषहरू मारिने र विजित महिला र बालबालिकाहरू दास बन्ने र महिलालाई जित्नेले पत्नी बनाउँदा उनी विजित भएकोले उनको हैसियत दोश्रो हुने र यो क्रम बढ्ने एउटा उदाहरण हो । यसले गर्दा महिला पुरुषभन्दा कम शक्तिशाली वा कम महत्वका मानिन थालियो । देवीहरूको अवधारणा परिवार ब्यवस्थित बन्न भन्दा पहिलाको हो भन्ने अनुमान छ । तर सबै अनुमानहरू पूर्ण र निर्विवाद छैनन् ।

अहिले पुँजीवादको विकास भएको र हुने क्रम छ । यस प्रसङ्गमा भन्नै पर्दछ कि निजी सम्पत्तिको अन्त्य हुने सम्भावना बढि नै छ । निजी सम्पत्तिको अन्त्यसँगै विवाह संस्थाको पनि अन्त्य हुने छ । सन्तानको लागि समेत विवाह भन्ने अवधारणा अब कमजोर बन्दै गएको पनि छ । यो समाज विकासको परिणाम नै हो । तर कम्युनिष्ट र धर्मभिरुहरूले यो अवस्थालाई टाढा पु¥याउँदैछन् । यदि जनसङ्ख्या वृद्धि, प्रदुषण, युद्ध आदिले विकासको अन्त्य भएन भने निजी सम्पत्तिको अन्त्य अवश्यम्भावी छ । अहिले लोकतान्त्रिक समाजवादीले पनि बुझेका छैनन् यो कुरा । बरु पुँजीवादीहरूले नबुझेर पनि र यस विषयमा असहमत भएर पनि केही सहयोग गरिरहेका छन् । किनभने उनीहरू विकास गर्दछन् भने यसले गर्दा जसरी पनि परिवार र निजी सम्पत्तिको अन्त्यको बाटोमा अगाडि बढिन्छ नै । यो आवश्यक पनि हो । कम्युनिष्टहरू निजी सम्पत्तिको अन्त्यको धारणा राख्थे । तर अहिले कम्युनिष्टहरूको एउटा धार निजी सम्पत्तिको उन्मुलन हुँदैन भन्ने पनि गर्दछ । तर स्वयम् बीपीले भनेका थिए कि साम्यवादमा लोकतन्त्र थपिए समाजवाद हुन्छ । कम्युनिष्टको निजी सम्पत्तिको उन्मुलन त्रासको माध्यमबाट र बीपीले भनेको निजी सम्पत्तिको उन्मुलन जनताको चाहनामा स्वभाविक रुपमा र कसैलाई त्यसमा विमति आउने अवस्थाको श्रिजना हुन नदिई हुने भनिएको हो । इमान्दारी र विकास तथा जनताका अवश्यकता पूरा भएमा मानिस निजी सम्पत्तिको लागि आशक्त हुँदैन ।

प्रेमको कुरा गर्दा प्रेम भन्ने कुरालाई समाज विकासको क्रमअनुसार अब गहिराइमा लिइँदैन । यो सामान्य विषय हुने छ र हुँदैछ अर्थात् प्राणीजन्य केमेस्टी । परिवारको अन्त्यपछि हुने प्रेम, समाजिक सस्था र ब्यवहार पनि त्यसैअनुरुप ब्यवस्थित हुने छन् । तर सबै कुरा लोकतन्त्र र बहुलवादको माध्यमबाट नै भए मात्र स्वभाविक हुन्छ । त्यो अवस्थामा धनी–गरिव भन्ने नै हुँदैन । मानिसको सर्वोत्तम हित हेरिन्छ । तर कम्युनिष्ट आदि शब्दले यो अवस्थालाई अस्वभाविक होकि जस्तो देखाएको छ । आन्दोलन, हिंसा, समाज विकासक्रमको पट्यारलाग्दा ब्याख्या तर परिणाम भने रुसमा भन्दा अमेरिकामा विकास हुने, माओको निजी सम्पत्तिको उन्मुलनयुक्त चीनमाभन्दा निजी सम्पत्ति दिएको अहिलेको चीनमा बढी विकास हुने जस्ता विषयले समाज विकासले नै साम्यवाद छिटो अउँछ भने त्यो कम्युनिष्टहरूबाट भन्दा पुजिवादीहरूबाट छिटो आउँछ भन्नु स्वभाविक हुन्छ ।

कम्युनिष्टहरूले अहिले पनि पुर्ण लोकतन्त्र नभएको र समाज कम विकसित भएको अवस्थामा माक्र्स माओ आदिले गरेको ब्याख्यालाई नै मूल आधार मान्ने गरेका छन् । यो उनीहरूको ब्रेनवास भएको परम्परागत सोच नै हो । त्यसैले पूर्ण समानताको यो अवस्थामा पुग्न लोकतन्त्र र समाजवाद अपरिहार्य छ । यसलाई ब्यवस्थित र सुन्दर बनाउन भौतिकता र आध्यात्मको समायोजन पनि आवश्यक छ । मैले कुनै धर्म भन्न खोजेको पनि होइन । तर सत्य बुझन् निष्पक्षता र सत्यलाई स्विकार गर्ने स्वभावको पनि उत्तिकै आवश्यता छ, वर्गविहीन र परिवार तथा पति–पत्नीविहीन अवस्थामा पुग्नको लागि । मानवजाति रह्यो भने र विकास अवरुद्ध भएन भने कुनै दिन मानिस भन्ने मात्र बाँकी रहने छ । धनी–गरिव यो धर्म त्यो धर्म, यो परम्परा त्यो परम्परा आदि अन्त्य हुने छन् । पृथ्वीको स्वर्ग भने पनि बुझ्नको लागि त्यो अवस्था हो ।

एक्काइसौँ सताव्दीको समाजवाद सन्दर्भमा :

साम्यवाद, समाजवाद, जनवाद तथा समानताका सबन्धमा कम्युनिष्टहरूले भनेका सबै उल्टो कुरा लाग्दछ । उनीहरूले समाज विकासको क्रमलाई आफ्नै प्रकारले गलत ब्याख्या गरेका छन् र यो नेपाली सञ्चारमाध्यममा पनि देखिएको छ । प्रथमतः सोभियत रुसले पूर्वी युरोपमा समाजवाद स्थापना गर्नका लागि सहयोग गरेका भनिन्छ । त्यसो होइन, बरु कठोर हस्तक्षेपवाट कम्युनिष्ट नाम गरेको पार्टीको एकदलीय अधिनायकत्व सुरु गरेको हो । त्यस्तै अन्य कतिपय देशहरूमा भएको हो । वस्तुगत आधारलाई हेर्ने हो भने पनि रुस र पूर्वीयुरोपमा कथित समाजवाद आइसकेपछि अहिले पूँजीवाद आएको छ । कतै आदिम साम्यवादवाट पशुपालन कृषियुग दासप्रथा आएकोमा पशुपालन युगबाट आदिम साम्यावादमा तथा कृष्यिुगबाट पशुपालन युगमा फर्केको उदाहरण छ ? तर पूर्वी युरोप समेतमा समाजवादबाट साम्यवादमा पुग्नै लागेको भनेर कम्युनिष्टहरूले भन्ने गरेको समयमा पुजिवाद आयो । यो कस्तो समाजवाद र समाजवादको विष्लेषण होला ?

चीनमा माओले नौलो जनवादबाट समाजवाद स्थापना गर्दै निजी सम्पत्ति उन्मुलन गरे तर अहिले त्यहाँ सबैभन्दा बढि करोडपति छन् । गरिवहरू हरेक ठाउँमा भएकाले चिनिया राष्ट्रपति सीले जिल्ला अधिकारीहरूलाई गरिवी निवारणका लागि योजना बनाउन भनेका सन् २०१७ को नवौँ महिनामा नै हो । कतिपयहरू समाजवाद रोक्न समाजवादीको सिको पूँजिवादीहरूले गरे भन्ने गरेका छन् त्यसो हो भने त्यो अहिलेको चिनीयाँ समाजवादले कसको सिको गरेको हो त ? त्यसैले समाजवादको परिभाषा गर्ने आधिकारिक पण्डित, मौलवी वा पादरी बन्नेहरूबाट जनता सावधान हुनैपर्दछ, अर्थात जे गरे पनि समाजवाद ।

लोकतन्त्र भनेको पूँजीवाद र समाजवाद भन्ने पनि होइन । कम्युनिष्टहरूले भन्ने गरेजस्तो कसैको सिको गरेको वा साम्यवाद आउने डरले लोककल्याणकारी कार्य भएका भन्नु सबैभन्दा ठुलो प्रोपोगण्डा नै हो । लोकतन्त्रमा जनताको चाहनाअनुसार दल बन्दछ वा सरकार बन्दछ । इटलिमा दोश्रो स्थानमा कम्युनिष्टहरू नै थिए । तर जनताले पछि नरुचाएकोले हराउँदै गए । रुसमा पनि कम्युनिष्ट ब्यवस्थाका पक्षमा मत दिने अधिकार अहिले पनि छ । रुसका गेन्नाडीहरूलाई जनतालाई सघाउने अधिकार छ । तर उनीहरू जनताबाट अनुमोदित हुन सकेनन् । अब जनतालाई भ्रमित गर्ने र अलाप गर्नुको कुनै आधार छैन ।

कम्युनिष्टहरूको व्रेनवास पनि बेजोड नै छ । एकातिर विकासको क्रममा समाजवाद वा समानतामुलक ब्यवस्था आउँछ भन्दछन्, अर्कातर्फ पूँजीवादले आफूलाई गरिवको हितकारी बनाउँदै समानता दिँदा कम्युनिष्टको डरले गरेको भनिन्छ । विकासको क्रम भन्ने माक्र्सवादको ऋचा यहाँ सम्झना गरिएन ।

कम्युनिष्टहरूको समाजवाद पूँजीवादमा परिवर्तन भएजस्तो गरेर बेरोजगार भत्ता तथा समाजिक सुरक्षा भत्ता लोककल्याणकारी देशबाट हट्दैन । कम्युनिष्टको डरले त्यसो गरेको भए अब त उल्ट्याउनुपर्ने किनभने कम्युनिष्टहरू अब रक्षात्मक पङ्क्तिमा छन, तर किन भएन त ?

बहुदलियता र बहुलवाद नभएको शासन प्रणालीमा जनतालाई मुर्ख बनाउने कुरा बोलिन्छ तर शासनमा बस्नेहरू देशका शोषक सामन्त र वसीखाने हुन्छन् अनि मजदुर किसानहरू पीडित र पिल्सिएका हुन्छन् । विरोध गर्ने वैधानिक उपाय नहुँदा कम्युनिष्ट पार्टीका मानिसको दास बन्न पर्छ । दक्षिण अमेरीकी देशहरूमा समाजवादीले मतले जितेको पनि सत्य हो तर त्यस्तो सधै रहँदैन । ब्राजिलमा समाजवादी भनिने लुला डि सिल्भाको कुरा थाहै छ होला । जित्ने मात्रै होइन हार्छन् पनि । भारतमा नै बंगाल त्रिपुरा र केरलामा कम्युनिष्टले जितेका थिए उनीहरूको शासन थियो । जनताले उनीहरूको झुठ बुझेर पछि उनीहरूलार्ई मत दिएनन् । समाजवादको नाममा एकदलीय ब्यवस्था ल्याएको भए जति अन्याय गरे पनि जनतालार्ई विरोधमा उत्रन नदिने अवस्था प्रवल हुन्थ्यो । उत्तर कोरिया सबैभन्दा मिल्ने उदाहरण हो । त्यहाँ जनता सुकेनासले मरेका छन् र किम फ्रान्सबाट आयातित चुरोट र रक्सी नै कडोरौँको खपत गर्दछन् । बोल्न नपाउनु र अन्याय सहनु नै समाजवाद हो र सैनिक बल बढाएर जनता र विश्वलाई डर देखाउनु नै सफलता हो भने केही भन्नु छैन ।

लोकतन्त्र र बहुलवादको माध्यमको सदुपयोग गरी जनतालाई सम्झाएर लोकतान्त्रिक समाजवादको माध्यमबाट मात्र वर्गविहीन र पूर्ण समानतामा आधारित विकशित समाज बनाउन सम्भव छ । जनता चेतनशील भए र नेता कार्यकर्ता असल भए यो काम छिट्टै पनि हुन्छ । तर एकदलीय कम्युनिष्ट सिद्धान्तबाट उनीहरूले समेत भनेको त्यो ठाउँमा कहिल्यै पुग्न सकिँदैन ।