श्रम र सीपशक्तिको जनशक्ति नै राष्ट्रको धनशक्ति

श्रम र सीपशक्तिको जनशक्ति नै राष्ट्रको धनशक्ति


– खगेन्द्रराज सिटौला

‘आफ्ना देशका कपरा बन्न जान्यालाई नमुना देखाई सघाउनु र बन्न लगाउनु’ । सीपयुक्त दक्ष जनशक्तिलाई श्रमशक्तिमा रूपान्तरण गरेर उत्पादन र विकासमा मुलुकलाई छिटै अगाडि बढाउन सकिन्छ भन्ने नेपाल राष्ट्रका निर्माता एवम् बडानेता पृथ्वीनारायण शाहको दृढमान्यता माथिको उक्तिबाट थाहा हुन्छ । जनतालाई वैज्ञानिक प्रविधि सिकाउनु, अरूबाट समेत सिकाउनु, आफैँबाट पनि सिक्नु र त्यो सीप आप्mनो र राष्ट्रको समृद्धिका लागि लगाउनु भन्ने पृथ्वीविचारको अर्थ छ महत्व छ ।

दुईमत छैन राष्ट्रलाई सम्पन्न बनाउन दक्ष जनशक्ति चाहिन्छ । दक्ष जनशक्ति भएन भने राष्ट्रले विकासको लक्ष्य भेट्न सक्तैन । त्यस्तै जनतामा शिक्षा, सैद्धान्तिक तथा व्यावहारिक दक्षता भएन भने पनि स्वयं नागरिक पनि सक्षम र सम्पन्न हुन सक्तैनन् । नेपालका बडानेता पृथ्वीनारायण शाहले धेरै वर्षअगाडि बुझेको यथार्थलाई पछ्याउँदै चीनका नेता तेङ स्याओ पिङले विकासको लागि सीप सिकाउन आफ्ना देशका धेरै युवालाई अमेरिका तथा अन्य पश्चिमा मुलुकहरूमा पठाएका थिए । सीप सिकेका युवाले सम्पन्न चीन बनाउन निकै ठूलो योगदान दिएका छन् । यसबाट जनतालाई सीप सिकाउनुकोे अर्थ र महत्व बुभ्mन सकिन्छ पृथ्वीनारायण शाहको ।

सीप सिकाउनुलाई व्यापक अर्थमा लिनु र बुझ्नुपर्छ । विकासका व्यापक क्षेत्रलाई सम्बोधन गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने सवालसँग जोडिएको छ सीपको सवाल । वैज्ञानिक शिक्षा होस् कि व्यावसायिक शिक्षा होस् अथवा व्यावहारिक वा प्राविधिक सबै सीप सिकाउनुभित्र पर्छन् । अल्पकालीन होस् कि दीर्घकालीन सबै तालिम सीप सिकाइभित्र पर्छन् । सबै क्षेत्रमा दक्ष नागरिक तयार गर्ने आप्mना दक्ष नागरिकबाट आप्mनो मुलुक र स्वयम् नागरिकको समेत विकास गर्ने बृहत् सीप अभियानको खाँचो छ नेपाललाई । सीप सिकाउ सबै नागरिकलाई गरिखाने बनाऊ । सीप अभियान आफैँमा गरिखानेवाद जिन्दावादको अभियान हो, आन्दोलन हो । स्वार्थपूर्ण राजनीतिका सडकमा पोखिने अर्थहीन जिन्दावाद र मुर्दावादभन्दा धेरै अर्थ र महत्वको छ गरिखानेवाद जिन्दावाद ।

राज्य सीप कार्यक्रम लिएर युवाहरूमा जाऊ । युवाहरू संगठित भएर सीपकेन्द्र वा कार्यक्रममा जाऊ । सीप सिकेर युवाहरू आपूmलाई आप्mनो परिवार र आप्mनो राष्ट्रलाई धनी बनाऊ । आफूसँग भएको सीपलाई अझ तिखार्ने नभएको सीप अरूबाट लिने र त्यो सीपलाई श्रममा लाने भन्ने हो राष्ट्रनिर्माताको सीप सिकाउनुको मर्म र धर्म । विकासलाई गति दिन र दक्ष जनशक्तिको राज्यले सेवा लिन जनतामा सीप अभियान लिएर जानु अनिवार्य राष्ट्रिय आवश्यकता छ नेपालमा । यो आवश्यकता पूर्ति गर्न व्यवस्थित, व्यावहारिक, वैज्ञानिक र नियमित सीप अभियानका रूपमा सिकाउन अब राज्यले ढिला गर्न हुँदैन । तसर्थ सीपको महत्व बुभ्mने र जोड दिने आधुनिक नेपालका बडानेता एवम् राष्ट्रनिर्माता पृथ्वीनारायणको सोच, काम र नामको सम्मानमा राज्यले, सरकारले पृथ्वी सीप केन्द्र खोलेर युवाहरूलाई सीप सिकाउन थालिहाल्नुपर्छ । केमा जोड दिने, कसरी सीप सिकाउने भन्नेमा राष्ट्रिय बहस थालिहालौँ ।

कृषिलाई वैज्ञानिक, आधुनिक र व्यावसायिक बनाउन नेपाललाई ठूलो सीपयुक्त श्रमशक्तिको खाँचो छ । पर्यटन होस् कि निर्माण होस्, स्वास्थ्य होस् कि शिक्षा होस्, कारखानामा होस् कि यातायतमा होस् सीपयुक्त जनशक्ति नचाहिने कुन क्षेत्र छ नेपाललाई ? अझ नयाँ प्रविधि र वैज्ञानिक विकासले गर्दा त यस्तो सीपयुक्त जनशक्तिको खाँचो झन् धेरै बढेको छ सबैतिर । अनुसन्धान, उत्पादन, रूपान्तरण, भण्डारण, वितरण, व्यवस्थापन, विज्ञापन, बजारीकरण, मेसिनीकरण, आधुनिकीकरण, आयआर्जन लगानी आदि–इत्यादि सबै क्षेत्रमा नयाँ–नयाँ सीप प्रविधि आइरहेका छन् । यी सबैलाई सम्बोधन गर्न सक्ने, आएका चुनौतीको कुशलतापूर्वक सामना गर्न सक्ने सीपयुक्त जनशक्ति उत्पादनमा पृथ्वीविचारतिर कसैको ध्यान नजानाले नेपाल विकासमा यति पछि परेको हो । अझ पनि यतातिर ध्यान गएन भने उचित सीपहीन जनको कारणले नेपाल झनै पछि परिरहनेछ । तसर्थ नेपालमा सीपकरणको विकल्प छैन । कसरी सफल बनाउने त सीपकरणको राष्ट्रिय कार्यक्रमलाई ?

मुलुकलाई सीपमय बनाउन राज्यले योजनाबद्ध सीप अभियानको थालनी गर्नुपर्छ । सबै क्षेत्रमा सीपको आवश्यकता जगैदेखि सीप शिक्षा भन्ने कार्यक्रम बनाएर सरकार अघि बढ्नुपर्छ । व्यावसायिक तथा प्राविधिक शिक्षालाई तलैदेखि जोड दिनुपर्छ । यो शिक्षा क्षेत्रको कुरो हो । यसको साथै सीपकरणलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाउन माथि भनिएको पृथ्वी राष्ट्रिय सीप केन्द्र स्थापना गर्नुपर्छ । यो सीप केन्द्रले राष्ट्रलाई कसरी सीपकरण गर्ने भन्ने सवालमा गुरुयोजना बनाउँछ । योजना आयोगले विकासको लक्ष्य तय गर्छ । सीप केन्द्रले त्यो लक्ष्य भेट्टाउन चाहिने दक्ष जनशक्ति उत्पादन गर्छ । नेपालमा चल्ती छ एउटा भनाइ– पाखुरीमा सीप भए भोकै मर्नुपर्दैन । सीप सिकाउनु भनेको सबै क्षेत्रमा सिपालु बनाउनु हो । व्यवसाय चलाउने सिपालु मालिक होस्, उत्पादन निकाल्न सिपालु मजदुर होस् । अप्रेसन गर्न सिपालु डाक्टर होस् या अनुसन्धान गर्न सिपालु वैज्ञानिक होस् । सीप नहुने र सीपले नछुने कुनै क्षेत्र छैन । खेलको मैदानमा होस् कि खेतबारीका मैदानमा होस् अथवा कलामा होस्, गलामा होस् कि गाईका थलामा होस् सबैमा सीप आकर्षित हुन्छ । आकाशमा उड्ने होस् या जमिनमा गुड्ने होस् वा टेबुलमै घुम्ने किन नहोस् सीपले नछुने कुनै क्षेत्र छैन । सीपले भलो नहुने कुनै क्षेत्र छैन ।

पृथ्वीविचारले अघि सारेको सीप सिकाउने विषयलाई राष्ट्रले बुझ्ने र व्यवहारमा कसरी लैजाने भन्ने चनौती वास्तवमा गम्भीर चुनौती हो । माथि भनेजस्तै सीपको क्षेत्र व्यापक छ । विज्ञान र प्रविधिमा भएको विकासले सीप शिक्षाका नयाँ–नयाँ क्षेत्रको उद्घाटन भइरहेका छन् । यसले गर्दा सम्भावनाका पनि नयाँ क्षेत्रहरू थपिँदै गएका छन् । यी क्षेत्रहरूले सीपमा दक्ष भएका जनशक्तिको मागलाई तीव्र बनाएका छन् । त्यसैले राष्ट्रका लागि सीपकरण गर्नुबाहेक अर्को विकल्प छैन । मुलुकलाई सीपमय बनाउन राज्यले योजनाबद्ध सीप अभियानको थालनी गर्नैपर्छ । फेरि दोहो¥याएर जोड दिनुपर्ने हुन्छ– सबै क्षेत्रमा सीपको आवश्यकता जगैदेखि सीप शिक्षा भन्ने मूल नारा बनाएर शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ । खासगरी सीपमूलक, वैज्ञानिक, व्यावसायिक र व्यावहारिक शिक्षानीतिमा जोड दिनुपर्छ । र, सीपशक्तिलाई श्रमशक्तिमा रूपान्तरण गर्नुपर्छ भने श्रमशक्तिलाई सीपशक्तिले तिखार्नुपर्छ ।

श्रममा नगएको सीप र श्रममा नभएको सीपको कुनै अर्थ छैन । त्यस्तै, श्रम र सीप नभएको मुलुकको पनि कुनै भविष्य छैन । श्रम र सीपको लहर चलाउनु र श्रम तथा सीपलाई कदर गर्ने संस्कृतिको विकास गर्नु भनेको राष्ट्रको विकासको पूर्वाधारको पनि पूर्वाधार हो । अहिले नेपालको अदक्ष श्रमशक्तिलाई दक्ष श्रमशक्तिमा रूपान्तरण गर्नुपर्ने काम चुनौतीपूर्ण राष्ट्रिय आवश्यकताको प्राथमिकता हो । यो चुनौतीको सामना योजनबद्ध कार्यक्रम र सङ्कल्पका साथ सरकारले सबै पक्षको सहयोग जुटाएर गर्न सक्नुपर्छ । यो दुई दिन या दुई वर्षमा सम्पन्न हुने काम होइन । दीर्घकालीन योजनाको साथ अघि बढ्नुपर्छ । उच्चस्तरको सीप बेचेर नै लामो समयदेखि नै धेरै मुलुक धनी भइरहेको हामी सबैले देखिरहेका छौँ । हामीचाहिँ सीपशक्तिको मुलुक किन नहुने त ?

जनतालाई रोजगार, स्वरोजगारका लागि योग्य बनाएर बेरोजगारी समस्याको समाधानको पूर्वाधार तयार गर्नु भनेको नै सीप सिकाउनु हो । समयले मागेको सीप सिकाउँदै लानु भनेको राष्ट्रलाई अगाडि बढाउँदै लानु हो । श्रमशक्ति र सीपशक्तिको जनशक्ति राष्ट्रको धनशक्ति हो । वास्तवमा यो हरेक राष्ट्रको मूलशक्ति हो । पृथ्वीविचारले यही भन्छ । आउनुहोस् पृथ्वीविचार बुझौँ । सीप सिकौँ । श्रम र सीपले आफूसमेत सम्पन्न भई समृद्ध नेपाल उठाऔँ ।