‘टर्निङ प्वाइन्ट’मा लोकतन्त्र

‘टर्निङ प्वाइन्ट’मा लोकतन्त्र


– इन्द्रबहादुर बराल

लगभग सात दशकदेखि थाती रहेको संविधानसभाबाट संविधान निर्माण गर्ने काम भर्खरै सम्पन्न भएको छ । प्रजातन्त्रको स्थापनादेखि पुनस्र्थापना हुँदै गणतन्त्रसम्म आइपुग्दा नेपालको राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेस पार्टीको भूमिका निर्णायक रह्यो । गणतन्त्र स्थापनाको यात्रामा माओवादी र एमालेचाहिँ सहयोगी–सहयात्री हुन् भन्न बिर्सियो भने उनीहरूप्रति अन्याय हुन्छ । यसर्थ, राजनीतिक परिवर्तनका सहयात्रीहरूबीचमा तिक्तता र बद्नियतपूर्ण व्यवहारलाई समयमै सचेततापूर्वक विचार गरिएन भने नेपालीहरूले मानवोचित जीवन जिउनबाट वञ्चित हुन सक्ने खतरा देखिँदै छ ।

जहाँ लोकतन्त्रमाथि खतरा रहन्छ त्यहाँ मानवता र मानवाधिकारको खास प्रत्याभूति हुँदैन । मानवताको कसी लगाउने राजनीतिक व्यवस्था नै लोकतन्त्र हो । यस सन्दर्भमा एक दार्शनिकले भनेका छन्, We are not found to put ourself outside humanities for the shake of remaining inside socialism. अर्थात्, मानवतादेखि बाहिर बसेर हामी समाजवादभित्र रहन सक्दैनौँ । यस वाक्यलाई वर्तमान वाम गठबन्धनको भावनासँग जोडेर हेऱ्यौं भने नेपालको लोकतान्त्रिक राजनीतिक प्रणाली ‘टर्निङ प्वाइन्ट’मा ठिङ्ग उभिएको देखिन्छ । यस्तो बेला गठबन्धन बनाएका कम्युनिस्ट राज्यसत्ताको अभीष्ट पूरा गर्न नसकी छटपटिएका माओवादी केन्द्र र एमालेको लोकतन्त्रप्रतिको भक्ति खोलाकिनारमा माछा ढुकेर बसेको बकुल्लाकै जस्तो देखिन पुगेको छ भन्दा अत्युक्ति नहोला ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट उत्साहित भएका र निराश बनेका दुई ठूला वामशक्तिको तत्कालको चुनावी तालमेल र त्यसपछि कम्युनिस्ट केन्द्र बनाउने उद्घोषका साथ पार्टी एकीकरणको भित्री चाहनाले लोकतन्त्रको भविष्य खतरामा पार्नेबाहेक मुलुकलाई कुनै उपलब्धि दिन सक्दैन । यही खतराको बिन्दुलाई ‘टर्निङ प्वाइन्ट’को रूपमा चित्रित गर्न खोजिएको हो ।

आमनेपालीको मानसिकताको परीक्षण सामाजिक सुरक्षा भत्ताबाट गरेका कम्युनिस्टहरू त्यसैबाट हौसिएर गाँस, वास, कपासको पुरानो नारा अब कारगर (सफल) हुने निष्कर्षमा पुगेका हुन सक्छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले प्राप्त गरेको सफलताको जश वृद्धभत्ताले पनि प्राप्त गरेको छ । यसर्थ, आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा वृद्धभत्ता अझ बढाउने उद्घोष वामगठबन्धनले गर्ने निश्चितप्रायः मान्न सकिन्छ ।

तर, नेपाली जनताले थोरै मात्र पनि गम्भीर भएर सोच्ने हो भने थाहा पाउनेछन् कि कम्युनिस्टहरू कहिल्यै पनि लोकतन्त्रवादी बन्न सक्दैनन् । झट्ट हेर्दा नेकपा एमाले र माओवादी केन्द्र यति धेरै लोकतन्त्रवादी देखिए कि वास्तविक लोकतन्त्रवादीभन्दा पनि बढी । तर, कम्युनिस्टले मुलुकको समस्या समाधानमा योगदान दिन नसक्ने रहेछन् भन्ने सिद्ध भइसकेको छ । समाधान होइन समस्या सिर्जना गर्नु यिनको चरित्र पुष्टि हुँदै आएको छ । समस्याको पहाड खडा गर्ने अनि त्यसैलाई आधार बनाएर सङ्गठन बढाउने यिनको रणनीति हुन्छ । ०६४ को संविधानसभामा पहिलो पार्टी बनेको माओवादी र तेस्रो ठूलो शक्ति बनेको एमालेले आलोपालो गरेर चार–चारजना प्रधानमन्त्री बनाएर लगभग पाँच वर्ष शासन गरे, तर जनताले दिएको कुन जिम्मेवारी पूरा गरे त ? यति मनन गर्न सके मात्र पनि कम्युनिस्ट जनताप्रति जवाफदेही छैनन्, छलछाम र जालझेल गरेर सत्ता हत्याउने चेष्टामा मात्र तल्लीन छन् भनी प्रस्ट हुन सकिन्छ ।

राजनीतिमा अलिकता पनि नैतिकता छ भने सम्बन्धविच्छेद गरेकासँगको सहयात्रा एक रात पनि शोभनीय मानिँदैन । तर, विनाविभागीय तुल्याइदिँदा पनि शरम पचाएर सत्तामा टाँसिएर माओवादी केन्द्र गाईजात्रा देखाउँदै छ । निर्वाचन सार्ने षड्यन्त्र भएको बहानामा सत्तामा टाँसिएको माओवादी उम्मेदवारहरूको मनोनयनपछि के हेरिरहेको छ कुन्नि ? कि अब पनि चुनाव हुन सक्दैन भन्ने उसको ठहर हो ? होइन भने निर्वाचनको सुनिश्चितता भएपछि ५ गतेपछि सरकारबाट बाहिरिन्छौँ भनी गरेको वाचा पूरा गर्नुपर्ने होइन र ? कम्युनिस्टका लागि सत्ता कति प्यारो हुँदोरहेछ, यसबाट पनि प्रस्टिएको छ ।

यस परिप्रेक्ष्यमा लोकतन्त्रको मूलप्रवाहको नेतृत्व गर्दै आएको नेपाली काङ्ग्रेस थप गम्भीर र जवाफदेही हुनैपर्ने देखिन्छ । अब आत्मकेन्द्रित भएर सोच्ने र बोल्ने बेला होइन, राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई पूर्ण रूपले व्यवहारमा उतार्ने मार्गचित्रसहित नेपाली काङ्ग्रेस आन्तरिक एकता मजबुत तुल्याएर अघि बढ्न जुर्मुराउनैपर्छ । भावनात्मक एकताको अभावमा लोकतन्त्रको संरक्षण र सम्बद्र्धन सम्भव हुँदैन । यो मनन नगरी फगत सत्ताप्राप्तिलाई अहम् ठानेर एकोहोरो हिँड्न खोजे टर्निङ प्वाइन्ट काटेर लोकतन्त्र खतराको मार्गतर्फ लाग्ने निश्चित नै छ ।

लोकतन्त्र र नेपाली काङ्ग्रेसबीच अन्योन्याश्रित सम्बन्ध रहेको कुरा कोरा आदर्श मात्र होइन । सात दशक लामो राजनीतिक यात्रामा यो कहीँ–कतै चुकेको छैन, यदि चुकेको छ भने आन्तरिक विभेद र विरोधमा मात्रै हो । अब यस्ता कमी–कमजोरी सच्याएर अघि बढे कसैले काङ्ग्रेसलाई हल्लाउन सक्नेछैन । काङ्ग्रेस नहल्लनु भनेको लोकतन्त्र अडिग हुनु हो ।

नेपाली काङ्ग्रेसका चार तारामध्येको एक तारा सामाजिक न्यायको सङ्केत हो भने अर्को तारा आर्थिक न्यायको प्रतीक हो । यस्तै, अर्को ताराले राजनीतिक स्वतन्त्रताको प्रतिनिधित्व गर्छ भने बाँकी एक ताराले धार्मिक स्वतन्त्रताको वकालत गर्दछ । त्यस्तै, चारतारे झन्डाको माथिल्लो रातो रङले राजनीतिक क्रान्तिको सङ्केत गर्छ भने बीचको सेतोले राजनीतिक क्रान्तिपछिको शान्ति अनि तलको रातोले शान्तिपछिको आर्थिक क्रान्तिको सन्देश दिएको छ । त्यसैले अब काङ्ग्रेसजन विचलित नभई एकढिक्का भएर लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मार्गमा देशलाई लैजान प्रतिबद्ध हुनुपर्छ । सस्ता नारा र भाषण दिने शक्ति र समूहहरूको बाटो हेरेर देश र जनताले केही पाउने छैनन् भन्ने तथ्य बुझेर काङ्ग्रेसले नै अबको अगुवाइ गर्नुपर्छ । यस अर्थमा आगामी मङ्सिर १० र २१ गते हुने दुई तहको निर्वाचन मुलुकको लोकतन्त्रका लागि ‘टर्निङ प्वाइन्ट’ साबित हुँदै छ । उक्त बिन्दुबाट मुलुकलाई अघि लैजाने कि पछिल्तिर धकेल्ने ? आममतदाता नेपाली जनताको विवेकले फैसला गर्नेछ ।