‘अभिव्यक्ति’को निरन्तरता !

‘अभिव्यक्ति’को निरन्तरता !


– स्वयम्भूनाथ कार्की

पुराणमा ‘पौण्ड्रिक कृष्ण’को चर्चा पाइन्छ जो शरीरमा दुई नक्कली हात थपेर ‘म असली श्रीकृष्ण हुँ’ भन्दै हिँड्ने गर्दथे । श्रीकृष्णको भागको मान खोस्दै हिँडेका उनलाई जब श्रीकृष्णको शत्रु सामना गर्नुपऱ्यो, ज्यान बचाउन कठिन भयो । यस्तो अवस्थामा उनलाई श्रीकृष्णले नै बचाउनुपऱ्यो।

२०७४ सालको भाइटीकामा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै राजा ज्ञानेन्द्रले ‘असली फूल छोडेर कागजको फूलमा सुगन्ध खोज्ने’ भन्दै त्यस्तै सङ्केत गरेका छन् । खुल्ला रूपले आफूलाई पाखा लगाएर देश चलाउन सक्छु भन्नेहरू अक्षम बनेको तथ्य उनले औँल्याएका छन् । यो प्रहारले नेताहरू अहिलेसम्म रन्थनाइरहेका छन्, कसैको बोली फुटेको छैन ।

केही नाम चलेका गणतन्त्रवादीहरूचाहिँ राजालाई कुनै पार्टी प्रवेश गर्न ‘उपदेश’ दिएर ज्ञानको खोक्रोपना प्रदर्शन गर्दै छन् । मूल प्रश्न हो– उनले लगाएको आरोपको खण्डन गर्न सक्ने कि नसक्ने ? तर, त्यो आरोपको कुरासमेत कोट्याउने हिम्मत कसैको छैन । जनताको मत लिन मदन भण्डारीको शैलीमा चुनौती दिनेहरूले राजाले ‘जनताले जिम्मेवारी दिए नेतृत्व गर्ने’ भनेका छन् । जब जनतासँग नै जिम्मेवारी माग्दै छन् भने जनताको साथ लिएर आउनु भन्ने ‘तर्क’ त्यसै बेअसर हुन्छ । यति सामान्य कुराको पनि ज्ञान नहुनेहरू एकतर्फी आफ्नो मात्र कुरा सुनाउन पाउने माध्यममा नायक भएका छन् ।

यस्तालाई नायक बनाउने माध्यम कस्तो होला भन्नैपर्दैन । तर, आधुनिक जमानामा हिम्मत गरेर सामाजिक सञ्जालमा आएका यस्ताको साह्रै दयनीय हालत भएको छ । प्रतिप्रश्नमा नाजवाफ भएर कुरो मोड्न धौ–धौ परेको छ । सामाजिक सञ्जालमा रक्षाकवचको रूपमा रहने कार्यक्रम सञ्चालक रहँदैन । यहाँ आफ्नो तथ्य र कौशल मात्र काम लाग्छ । यो यति विस्तृत छ कि यस्ता नामीहरूको जानकारी राख्छ त्यसैले प्रतिप्रश्नहरू ती तथाकथित जुझारूले अरूलाई प्रश्न गर्न प्रयोग गर्ने भाषासरहका नै हुन्छन् । यस्ता भाषा उनीहरू अरूको निमित्त प्रयोग गर्छन्, तर आफू सहन गर्न सक्दैनन् ।

नेपालमा धेरै व्यवस्था बदलिए, तर पुरानो व्यवस्था कायम गर्न वैचारिक सङ्घर्ष राजतन्त्रको निमित्तजस्तो लगातार र असरदार रूपले भएन । तीस वर्षपछि बहुदल फर्कन सक्यो किनकि झिनो रूपले त्यो फिलुङ्गो कायम थियो । तर, राजसंस्थाको माग सत्ताधारीको मुटु हल्लाउँदै एकनिमेष पनि मधुरो नभई लगातार छ । यो सबै देख्दा–भोग्दा पनि राजा किन हमेसा जनताले चाहे भने भन्ने सर्त राख्दै छन् ? अब जनताले आफूले चाहेको कुरा थप कुन तरिकाले व्यक्त गर्नुपर्ने हो ? यस्तो चर्चा पनि उठ्न थालेको छ ।

अहिलेसम्म राजाका हरेक अभिव्यक्ति तथा सार्वजनिक उपस्थितिले समर्थक तथा विरोधीको ध्यान तान्दै आएको छ । तर, नियमित अभिव्यक्ति मात्र आइरहने हो र त्यसतर्पm कुनै काम भएको नदेखिने हो भने निरन्तर अनन्त कालसम्म ध्यान तानिइरहन्छ भन्ने छैन । यो अवस्था उन (राजा)को निमित्त प्रत्युत्पादक नहोला भन्न सकिन्न । विरोधीहरूको ध्यान समर्थकहरूको प्रतिक्रियाले तानिने हो, अभिव्यक्तिले होइन । यो कुरामा सल्लाहकारको टोलीले ध्यानाकर्षण गराएको छैन भने त्यो टोली अक्षम हो भन्न कर लाग्छ । त्यसै पनि त्यो टोली सक्षम भएको भए पत्रकार सम्मेलन गरेर रातमा नारायणहिटी छोड्नुपर्ने अवस्था आउने थिएन ।

गणतन्त्र घोषणा भए पनि त्योभन्दा पहिले प्रत्यक्ष शासन चलाएका राजा मुलुकभित्र नै छन् । यो विश्व–इतिहासमा विरलै पाइने अवस्था हो । भारतका रियासतहरूमा रहेका रजौटाहरू सङ्घीय भारतमा प्रिभिपर्स लिएर सामेल भएका थिए । कुनै कुनै रजौटाहरूले रियायाको मान पनि पाएका छन्, तर त्यो नेपालको भन्दा भिन्न अवस्था हो । यहाँ राजा मुलुकभित्र नै छन्, उनको सार्वजनिक उपस्थितिमा उनलाई सत्ता लिन आग्रह गरिन्छ । उनलाई हटाउने भनेको शक्ति–धम्की दिन लाग्छ, धम्की नै कमजोरीको लक्षण होे । त्यसैले केवल वक्तव्यवाजी मात्र हुँदै छ भन्ने जनतालाई नपरोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यान पुग्नु राम्रो हुन्छ ।