काङ्ग्रेसको अबको बाटो र सिद्धान्त

काङ्ग्रेसको अबको बाटो र सिद्धान्त


नेपालका दुई ठूला वामपन्थी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल अनि पार्टी एकता गरी एक विशाल कम्युनिस्ट केन्द्र स्थापना गर्ने घोषणाले नेपाली राजनीति मुलुकका अन्य आवश्यकताहरूलाई पछि धकेल्दै तीव्र ध्रुवीकरणको प्रक्रियाबाट गुज्रिनु परिरहेको छ । कम्युनिस्टहरूमा कहाँ पुग्ने, गन्तव्य के हो भन्ने सम्बन्धमा सैद्धान्तिक बहसमै ध्यान बढी केन्द्रित भइरहेको छ । काङ्ग्रेसमा पनि अब त्यो किसिमको बहस हुन जरुरी भइसकेको छ ।

काङ्ग्रेसमा धेरैजसो सैद्धान्तिक बहस गरिँदैन, किनकि लोकतन्त्रप्रति व्यावहारिक प्रतिबद्धता जनाइसकेपछि त्यो नै काफी हुन्छ, बकम्फुसे कुरा गरिरहनुपर्दैन भन्ने तथ्यमा काङ्ग्रेसको विश्वास रहेको पाइन्छ । तर, कम्युनिस्टहरूले सैद्धान्तिक बहसलाई जोडतोडका साथ उठाइरहेको अनि जनतालाई केही डरलाग्दा भ्रमहरू बाँडिरहेको सन्दर्भमा काङ्ग्रेसले पनि सैद्धान्तिक बहसलाई एक उचाइमा पुऱ्याउनु र जनतासमक्ष त्यो सैद्धान्तिक बहस लिएर जानु आवश्यक भइसकेको छ । यसबाट जनतालाई बाँड्न ठिक्क पारिएको कम्युनिस्टहरूका भ्रमहरू चिर्न सजिलो हुन्छ भने काङ्ग्रेसकै पनि आफ्नो सिद्धान्त के हो भन्ने तथ्य छर्लङ्ग हुनेछ ।

सर्वप्रथम नेपालका वामपन्थी पार्टीहरूको नाम स्वयम् नै जनतालाई अत्यन्त गुमराह गर्ने खालका र अस्थिरता निम्त्याउने खालका छन् । जस्तै, साम्यवादी वा कम्युनिस्टको वास्तविक अर्थ भनेको कुनै पनि मुलुकमा एक मात्र राजनीतिक पार्टीको शासन भन्ने बुझिन्छ । क्युवा, उत्तर कोरिया, भियतनाम, पूर्वसोभियत सङ्घ यस्तै साम्यवादी कम्युनिस्ट मुलुकहरू हुन् । यी देशमा बहुदलीय प्रतिस्पर्धा हुँदैन । मानवअधिकारको स्थिति अत्यन्त नाजुक हुन्छ । जनताको हिँडडुल गर्ने अधिकारलाई कुण्ठित पारिएको हुन्छ । इन्टरनेटमा प्रतिबन्ध वा सेन्सरसिप लगाइएको हुन्छ । जनताले दोस्रो राजनीतिक पार्टी खोल्न पाउँदैनन्, खोलेमा मृत्युदण्डसम्मको सजाय हुन सक्छ । शासन सत्ता चलाउने एक मात्र पार्टीको निरङ्कुशतन्त्र र तानाशाहीका विरुद्धमा कोही जान सक्दैनन् । अलिकति मात्रै विरोध गरेमा त्यसको परिणामस्वरूप शारीरिक र मानसिक यातना भोग्नुपर्ने हुन्छ ।

नेपालमा साम्यवादी नामधारी जति पनि पार्टीहरू छन्, उनीहरूले लैजान चाहेको गन्तव्य यही नै हो भन्ने तथ्य उनीहरूको नामबाट नै स्पष्ट हुन्छ । जस्तैः नेकपा (एमाले)को वास्तविक नाम नेपाल साम्यवादी पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) हो भने नेकपा (माके)को वास्तविक नाम नेपाल साम्यवादी पार्टी (माओवादी केन्द्र) हो । यी पार्टीहरूको नाममै जुन ‘साम्यवादी’ भन्ने शब्द छ, त्यसबाटै थाहा हुन्छ कि यिनीहरूको अन्तिम लक्ष्य भनेको निरङ्कुश र तानाशाही एक मात्र पार्टीको राज चल्ने ‘साम्यवादी’ शासनको स्थापना गर्नु हो । अनि नेपाललाई उत्तर कोरिया, क्युवा र भियतनामजस्तै निरङ्कुश र तानाशाही शासनमा परिणत गर्नु हो । साथै, त्यो लक्ष्य प्राप्त गर्न माक्र्स, लेनिन र माओले देखाएको हिंसात्मक बाटोमा हिँड्नु हो । जनताको हक–अधिकार सुनिश्चित गर्न बहुदलीय प्रतिस्पर्धा स्वीकार गरेर गणतन्त्र र सङ्घीयतासम्म आइपुगिसकेको अवस्थामा कम्युनिस्टहरू मात्र अस्तित्वमा रहने, तर नेपाली काङ्ग्रेसलगायत अन्य दलहरू अस्तित्वमा नै रहन नपाउने साम्यवादी दलहरूको यस्तो नाम र सिद्धान्तले मुलुकलाई भयङ्कर दुर्घटनामा पुऱ्याउने निश्चित छ ।

सहअस्तित्व, सहकार्य र समतावादको सिद्धान्त लिएर जनतासामु जाने हो भने जनताले काङ्ग्रेसको सिद्धान्तलाई अवश्य पनि अनुमोदन गर्नेछन् । तर, जनताले काङ्ग्रेसको सिद्धान्तलाई अनुमोदन गरिसकेपछि उक्त सिद्धान्तलाई गम्भीरताका साथ लागू गर्न सकिएन भने एकदलीय निरङ्कुुश व्यवस्था चाहने साम्यवादीका नाराहरूले भने जनतालाई आकर्षित गरी नै रहनेछन् ।

हुन त एमाले र माओवादीले बहुदलीय प्रतिस्पर्धा स्वीकार गरिसकेको घोषणा गरेका छन्, तर आफ्नो पार्टीको नामबाट ‘साम्यवादी’ शब्द हटाउन नसक्नु अनि त्यही ‘साम्यवादी’ शब्दकै आधारमा साम्यवादी पार्टीहरूको एकताको घोषणा गर्नुले उनीहरूको अन्तिम लक्ष्य भनेको निरङ्कुश साम्यवाद नै हो भन्ने तथ्य स्पष्ट हुन्छ । हालसालै एक अनलाइन समाचार साइटलाई दिएको अन्तर्वार्तामा पनि एमालेका सैद्धान्तिक व्याख्याता मानिएका एक नेता शङ्कर पोखरेलले साम्यवाद नेपालका कम्युनिस्टहरूको सुदूर लक्ष्य हो भनी स्वीकारेका छन् । लक्ष्य चाहे सुदूर होस् या निकट, लक्ष्य लक्ष्य नै हुन्छ । एमालेले जति नै बहुदल मान्छौँ भने पनि साम्यवादको लक्ष्यबाट अझै पनि एमाले हटेको छैन भन्ने तथ्य यही एक भनाइबाट स्वतः सिद्ध हुन्छ । साथै, वामपन्थी दलहरूले अहिलेको जस्तो आफ्नो ध्रुव बनाउँदै जाने अनि गैरवामपन्थी दलहरूलाई भेदभाव र छुवाछुत गर्दै जाने हो भने एक दिन यस्तो पनि आउँछ कि उनीहरूले काङ्ग्रेसलगायत अन्य दलहरूलाई ‘वर्गशत्रु’ देख्न थाल्नेछन् । साथै, ‘वर्गशत्रु’लाई समाप्त गर्नुपर्छ भन्ने नारासमेत उछाल्न थाल्नेछन् । उनीहरू फेरि फर्किएर बन्दुक, गोली, छर्रा, एम्बुस र हिंसाकै बाटोमा जाने सम्भावना रहन्छ । यसबाट नेपाल फेरि अन्योल र अस्थीरताको भुमरीमा चुर्लुम्म डुब्न पुग्नेछ । काङ्ग्रेसले नेपालका साम्यवादी दलहरूको यो दोहोरो मापदण्डवाला मुखौटो उतार्न सक्नुपर्छ र उनीहरूको बहुदलीय प्रतिस्पर्धालाई त्यागेर साम्यवादसम्म पुग्ने भित्री चाहनालाई जनतासमक्ष उदाङ्गो पार्न सक्नुपर्छ ।

यहाँनेर साम्यवादले निम्त्याउन सक्ने भयावह परिणामहरूका बारेमा जनतालाई सुसूचित गर्नुका अतिरिक्त काङ्ग्रेसको आफ्नै सिद्धान्तचाहिँ के हो त ? भन्ने प्रश्न आउँछ । साथै, साम्यवादीहरूको गन्तव्य एकल पार्टीमा आधारित साम्यवाद हो भने काङ्ग्रेसको गन्तव्यचाहिँ के हो त ? भन्ने प्रश्नको सटिक जवाफ दिनु काङ्ग्रेसको निम्ति अपरिहार्य बन्न पुग्छ ।
सर्वप्रथम, नेपाली काङ्ग्रेसको पहिलो सिद्धान्त भनेको सहअस्तित्व (को–एक्जिस्टेन्स) हो । निर्दलीय व्यवस्था (पञ्चायत) पनि होइन, एकदलीय व्यवस्था (साम्यवाद) पनि होइन, नेपालको आवश्यकता भनेको सहअस्तित्वमा आधारित बहुदलीय व्यवस्था हो । सहअस्तित्व त्यतिबेला सम्भव हुन्छ जब कानुनी रूपमा मान्यता प्राप्त र नेपालको सार्वभौमसत्तालाई स्वीकार गर्ने सम्पूर्ण राजनीतिक दलहरूले समान रूपमा अस्तित्वमा रहन र स्वच्छ प्रतिस्पर्धा गर्न पाउँछन् । सहअस्तित्वको आधारमा नै बहुदलीय व्यवस्था मजबुत बन्दछ र जनताको मानवअधिकारसमेत सुनिश्चित रहन्छ । सहअस्तित्व र बहुदलीय प्रतिस्पर्धा नै यस्तो व्यवस्था हो, जसमा जनताले विभिन्न संयन्त्रहरूको विकास गरेर राजनीतिक दलहरूलाई जनताप्रति उत्तरदायी बनाउन सक्छन् ।

नेपाली काङ्ग्रेसको दोस्रो सिद्धान्त भनेको सहकार्य (कोवर्क) हो । सहकार्य तब हुन्छ जब विभिन्न राजनीतिक दलहरूले सकारात्मक सोचका साथ बहुदलीय प्रतिस्पर्धा गर्छन् । बहुदलीय प्रतिस्पर्धाले गुणस्तरको विकास गर्छ र जनतालाई विभिन्न राजनीतिक दलहरूमध्येबाट आफूलाई मन पर्ने राजनीतिक दलको छनोट गर्न सक्ने मौका प्रदान गर्छ ।

सहअस्तित्व र सहकार्यको जगमा टेकेर नेपाली काङ्ग्रेसको तेस्रो सिद्धान्त भनेको समतामूलक समाज (इक्विटी–बेस्ड सोसाइटी) को निर्माण हो । समतामूलक समाज नै नेपाली काङ्ग्रेसको गन्तव्य र लक्ष्य हो, जहाँसम्म पुग्नको निम्ति सहअस्तित्व र सहकार्यलाई मार्गको रूपमा प्रयोग गरिएको हुन्छ । समतामूलक समाजमा समता (इक्विटी) को आधारमा थोरै पैसा हुनेले राज्यलाई थोरै कर बुझाउँछ । धेरै पैसा हुनेले राज्यलाई धेरै कर बुझाउँछ । सबै जनतालाई आफ्नो व्यक्तिगत सम्पत्तिको अधिकार हुनेछ । राज्यको ढुकुटीमा जम्मा हुन आएको कर राज्यले जनताको सामाजिक सुरक्षामा खर्च गर्छ । सामाजिक सुरक्षाअन्तर्गत जनताले एकैचोटि होइन, तर चरणबद्ध रूपमा विभिन्न सुविधाहरू प्राप्त गर्दै जानेछन् । जस्तैः सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा गुणस्तरीय शिक्षा, बिमारी भएको अवस्थामा पैसा नभए पनि निःशुल्क उपचार प्राप्त गर्न सक्ने व्यवस्था आदि । राज्यको अन्तिम लक्ष्य भनेको सार्वभौमसत्ताको रक्षा गर्दै, लोकतन्त्रको संरक्षकत्वमा जनताको जीवनस्तर, लवाइ–खवाइमा आमुल परिवर्तन ल्याउँदै विशाल आर्थिक, सामाजिक, राजनीतिक र अन्तर्राष्ट्रिय फड्को मार्नु हो ।

यसरी सहअस्तित्व (बहुदल) र सहकार्य (बहुदलीय प्रतिस्पर्धा) को आधारमा समतामूलक समाजको निर्माण भएपछि जनता शक्तिशाली बन्नेछन् र लोकतन्त्र मजबुत हुनेछ । त्यसैले, नेपाली काङ्ग्रेस एक समतावादी पार्टी हो र हुनुपर्छ । नेपाली काङ्ग्रेसको सिद्धान्त समतावाद हो । समतावादले नै काङ्ग्रेसलाई एकदलीय व्यवस्था चाहने साम्यवादीहरूको असली नियत जनतासामु छर्लङ्ग बनाउन सहयोग पुऱ्याउनेछ । काङ्ग्रेसले हामीसँग त सिद्धान्त नै छैन भनेर डराउनुपर्दैन । सहअस्तित्व, सहकार्य र समतावादको सिद्धान्त लिएर जनतासामु जाने हो भने जनताले काङ्ग्रेसको सिद्धान्तलाई अवश्य पनि अनुमोदन गर्नेछन् । तर, जनताले काङ्ग्रेसको सिद्धान्तलाई अनुमोदन गरिसकेपछि उक्त सिद्धान्तलाई गम्भीरताका साथ लागू गर्न सकिएन भने एकदलीय निरङ्कुुश व्यवस्था चाहने साम्यवादीका नाराहरूले भने जनतालाई आकर्षित गरी नै रहनेछन् । यस पक्षमा पनि बहुदलीय प्रतिस्पर्धाका पक्षपाती लोकतन्त्रवादीहरू सजग र गम्भीर रहन आवश्यक छ ।
twitter: @manojrjl