मुकुट पहिरिनुअघि नै विलियम अगाडि

मुकुट पहिरिनुअघि नै विलियम अगाडि


विश्वकै चर्चित राजसंस्था बेलायतको भावी राजाको बारेमा हालै एउटा सर्वेक्षण गरिएको छ । उक्त सर्वेक्षण ‘द सन्डे टाइम्स’ र सर्वेक्षण एजेन्सी ‘यु गोव’ मिलेर गरेका थिए । ‘बेलायतको भावी राजाको रूपमा कसलाई देख्न चाहनुहुन्छ भन्ने शीर्षकमा गरिएको सर्वेक्षणमा बेलायतका अधिकांश जनताले राजकुमार विलियमको नाम लिएका छन् । बेलायती जनताले राजकुमार चार्ल्सभन्दा विलियम सही उत्तराधिकारी भएको बताएका छन् । सर्वेक्षणका क्रममा ५६ प्रतिशत मत पाएका विलियमलाई बेलायती जनताले चार्ल्सभन्दा उत्कृष्ट राजा हुने बताएका छन् । १५ प्रतिशत जनताले राजकुमार चार्ल्सलाई मत दिए पनि वर्तमान अवस्थामा उनको लोकप्रियता निकै कम भएको सर्वेक्षणको आँकडाले स्पष्ट पारेको छ । राजाको रूपमा आफ्नो बुबाको भन्दा पनि बढी लोकप्रियता हासिल गरेका विलियम अहिले २८ वर्षका भएका छन् । विलियमले हालै आफ्नी साथी केट मिटलेटन विवाह गर्ने घोषणा गरिसकेका छन् । एक सामान्य परिवारकी केटसँग विलियमले विवाह गर्ने घोषणा गरेपछि उनको लोकप्रियता राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ह्वात्तै बढेको थियो ।

पन्ध्र करोडको ब्रा
महिलाले प्रयोग गर्ने एउटा ब्राको मूल्य कतिसम्म पर्ला र त्यो तयार गर्न सामान्यतया कति समय लाग्ला ? यसको जवाफ हुनसक्छ- मूल्य केही सय रुपैयाँ र निर्माण अवधि केही मिनेट या घन्टा मात्र । तर, त्यही ब्रा पहिरिने महिला जब विशेष वा विश्वप्रसिद्ध सेल्रि्रेटी हुन्छिन्, त्यसको कुरै अर्को हुनपुग्छ । ब्राजिलियन मोडल एडि्रयाना लिमा २ महिनाभन्दा बढी समय खर्चिएर तयार पारिएको एक विशेष ब्राको पहिरनमा हालै न्युयोर्कमा झुल्किइन् । २ मिलियन डलर मूल्यको उक्त ब्रामा ३ हजार वटा हीराका टुक्रा जडिएका छन् भने इटालियन ज्वेलर डिमानीद्वारा १५ सय घन्टा लगाएर महिलाको उक्त भित्री परिधान तयार गरिएको हो । संसारकै महँगो सहर मानिने न्युयोर्कको भिक्टोरिया सपिङ सेन्टरमा लिमा प्रकट हुँदा सबैको आकर्षणकी केन्द्र बन्न पुगेकी थिइन् ।

अर्बपति हिल्टन सडककी ज्यामी
चर्चित अभिनेत्री पेरिस हिल्टनलाई अहिले खाएको विष लागेको छ । कोकिन सेवन गरेको र कोकिनसँगै रंगेहात पुलिसले समातेपछि हिल्टनलाई अहिले विभिन्न सजाय दिइएको छ । हिल्टनलाई सामुदायिक सेवाले २ सय घन्टा स्वयम्सेवक भएर बिताउन आदेश दिएको छ । हिल्टनलाई सडक सफा गर्नेदेखि लिएर रंगरोगनसमेत गर्नुपरेको छ । रियलिटी टीभी शो की चर्चित हस्ती हिल्टनले आफूले पाएको सजाय निकै कडा भएको बताएकी छिन् । उनले आफूलाई रंगरोगन गर्न कुनै आपत्ति नभए पनि सडक सफा गर्ने काम भने निकै गाह्रो भएको खुलासा गरेकी छिन् । सार्वजनिक रूपमा सडक सफा गर्नुपर्ने भएकोले आफूलाई निकै अप्ठेरो भएको उनले गुनासो गरेकी छिन् । स्मरणीय छ, सेलिबे्रटीहरूले कानुनको उल्लङ्घन गरे उनीहरूले सार्वजनिक रूपमा पनि सजाय भोग्नुपर्छ । उनको कुलतले समाजमा नकारात्मक असर परेको बताउँदै सम्बन्धित निकायले उनको जीवनमा सुधार ल्याउन यस्तो सजाय दिएको थाहा भएको छ ।

लामखुट्टेको शक्ति नै अर्को
मलेरिया फैलाउने लामखुट्टेहरूमा विभिन्न तरहका गन्ध सुँघ्ने क्षमता हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् । गन्ध सुँघ्ने विशेष क्षमताका कारणले ती लामखुट्टेले मानिसको उपस्थितिको बारेमा थाहा पाउँछन् । अहिलेसम्म मलेरिया फैलाउने लामखुट्टे एनोफिलिस गेम्बी एउटै प्रकारको सुँघ्ने शक्ति प्रयोग गरेर मानिससम्म पुग्ने बताउँदै आए पनि वैज्ञानिकहरूले मलेरिया फैलाउने लामखुट्टेमा दोस्रो सुँघ्ने शक्ति संवेदीतन्त्र हुने पनि बताएका छन् । वैज्ञानिकहरूले अतिरिक्त श्रेणीमा राखेका यी लामखुट्टेले टोक्दा मलेरिया हुने र यो रोगका कारण विश्वभरि प्रतिवर्ष नौ लाख मानिसको मृत्यु हुने बताएका छन् । साथै यिनै लामखुट्टेले रोक्दा वर्षोनी दुई करोड ५० लाख मानिस मलेरियाबाट सङ्क्रमित हुने बताएका छन् । तर्सथ वैज्ञानिकहरूले मलेरियालाई खतरनाक रोगको संज्ञा दिँदै यसबाट बच्न समयमै लामखुट्टे प्रतिरोधी उपकरण र सामग्रीहरूको प्रयोग गर्न सल्लाह दिएका छन् ।
-नवीन उप्रेती