कम्युनिष्ट विचार सम्बन्धमा बढ्यो अलमल

कम्युनिष्ट विचार सम्बन्धमा बढ्यो अलमल


कम्युनिष्ट विचारमा धेरै उतारचढाव आएका छन् । रुसमा पहिला माक्र्सवाद आयो । त्यसमा लेनिनवाद थपियो । लेनिनपछि स्टालिन पनि कम्युनिष्टहरूका प्राधिकार नै बने । कम्युनिष्टहरू बीच चीनका बारेमा र नेपालमा माओवाद र विचारधाराको अलमल छंँदैछ । चीनमा भने माओ विचारधारापछि तेङ विचारधारा आयो र तेङ विचारधारापछि सि जिनपिङ विचारधारा यही २०७४ साल कार्तिकमा भएको राष्ट्रिय जनकङ्ग्रेसले पारित गरेको छ ।

त्यसो त युरो कम्युनिज्मले हिंसात्मक अभियानविना नै कम्युनिष्ट विचारले विजय प्राप्त गर्न सक्ने विश्वास गरेको थियो । रुसबाट कम्युनिज्मको अन्त्यसँगै युरोपमा पनि युरो कम्युनिज्मको केही हावा पनि अन्त्य भएको छ । रुसमा नै पनि ख्रुस्चेभ, ब्रेजनेभ समेतले केही नयाँ विचारसँग आफूाई जोडेका नै हुन् । उत्तर कोरियामा जुछे विचारधारा जोडिएको छ । कम्युनिष्ट विचारमा जोडिएको त्यो जुछेको अर्थ आत्मनिर्भरता हुन्छ । तर उत्तर कोरिया सबै कुरामा परनिर्भर छ र चरम गरिवी छ केवल हतियारमा आत्मनिर्भर छ । दक्षिण कोरियामा हतियारवाहेक सबै विषयमा सम्पन्नता छ । नेपालमा मदन भण्डारीको बहुदलीय जनवादलाई एमालेले आत्मसात गरेको थियो । अब एमाले र माओवादी मिले भने के हुन्छ भन्ने धेरैलाई लागेको छ ।

एमालेले जनताको वहुदलीय जनवाद भनिरहँदा समाजवादमा अरु दल स्वतः हराउने कल्पना बाँकी हुन्छ कि हुँदैन र साम्यवादको कल्पनामा कम्युनिष्ट पार्टी पनि अन्त्य हुने कल्पना एमालेले बोकेको हो कि होइन भन्ने अझै प्रष्ट भएको छैन । यसलाई माओवादी र एमालेको एकीकरणले प्रष्ट पारे राम्रो हुने थियो । माओवादी नेताहरूले बारम्बार कम्युनिष्ट विचारमा एकदलीयताले र अरुको विचारलाई निषेध गर्दा एकाङ्गी भएकोले त्यसको अन्त्य हुनुपर्ने उल्लेख गरे । तर त्यो अन्त्य जनवादसम्म मात्र हो कि साम्यवादको परम्परागत कल्पनामासम्म पनि हो भन्ने अझै प्रष्ट छैन । उनीहरूले आधिकारिक दस्तावेज पनि तयार गरेको पाइँदैन । लेनिनले एउटा देशमा एउटा मात्र सच्चा कम्युनिष्ट पार्टी हुन्छ भनेको र कम्युनिष्ट पार्टीको विजयपछि देशमा एउटा मात्र कम्युनिष्ट पार्टीको राज हुने गरेको तथ्य त सामान्य नै हो ।

कम्युनिष्ट पार्टीका फरक मत र धारलाई प्रतिक्रियावादी, संसोधनवादी आदि आरोप लाग्ने र उनीहरूमाथि भौतिक कार्वाही समेत हुने गरेका हुन् । चीन, रुस, उत्तर कोरिया आदि कम्युनिष्ट ब्यवस्था भएका देशमा कम्युनिष्टहरूका अलग मत थिए । एउटा देशमा संशोधनवादी वा गलत मानिएको धार अर्कोमा सत्तापक्ष थियो । यसले के देखाउँछ भने सत्तामा बलको प्रयोगबाट जसको पकड छ त्यो नै वास्तविक क्रान्तिकारी हो भन्ने मान्नुपर्ने वा मानेको अवस्था थियो र हो । यो दुखद र बदनियतपुर्ण नै हो । विश्वमानव र मानवीय संस्कृतिको विश्वास गरेर झण्डा समेत एउटै राख्नेहरूले सार्वभौम विषय पनि देशअनुसार किन फरक राख्ने ? यसको अर्थ कम्युनिष्ट पार्टी भनेको बलियाहरूले आफ्नो जस्तो विचार भए पनि यही ठीक हो भनेर जनतामा लाद्ने विषय जस्तो देखिएको हो । अझै चिनियाँ कम्युनिष्ट पार्टीका नेता सिले त जे गरे पनि कम्युनिष्ट हुने प्रष्ट पारे ।

हामीले जानेका कम्युनिष्टहरूका सारभुत विषय भनेका समाजवादमा निजी सम्पत्तिको उन्मुलन हुन्छ । त्यसपछि केही पर्सनल प्रपर्टी वाहेक अरु राज्यको हुन्छ । पर्सनल प्रपर्टीमा कलम, कपडा, साइकल जस्ता कुरा पर्न सक्दछन् । समाजवादमा अन्य दलहरूको सर्वथा अभाव रहन्छ अर्थात निषेध हुन्छ । कम्युनिष्ट पार्टी पनि एउटा मात्र हुन्छ । चीनमा कृषि समेतमा कम्युनको ब्यवस्था माओको समयमा नै भएको थियो । धर्मलाई कम्युनिष्ट विचारमा कतै पनि स्थान छैन भन्ने सुनेको मात्र होइन धर्म अफिम हो भनिने गरेको हो । समाजवादमा गरिव र धनी भन्ने नै हुंदैन । केवल समान्य भिन्नतामा आधारित कामअनुसार माम भन्ने हुन्छ । आधारभुत आवश्यकता त सबैका पूरा गरिएकै हुन्छ । त्यो काम राज्यको नाममा कम्युनिष्ट पार्टीले गर्दछ । निजी सम्पत्ति नहुने हुँदा भ्रष्टाचार नै हुँदैन र धनी गरिव नहुने हुँदा आर्थिक विभेदको कुरै आउँदैन । अर्कोतर्फ सर्वहाराको अधिनायकवाद भनिने देशमा समाजवाद आइसकेको अवस्थामा सबै सर्वहारा वा सबै बराबर हुने हुँदा त्यो शब्दको अर्थ के हुने हो भन्ने प्रष्ट छैन ।

तर ब्यवहार त्यस्तै छ त ? उत्तर कोरियाका कम्युनिष्ट शासकहरूले राजा–महाराजाहरूले भन्दा कता हो कता बढी ऐश गरेका छन्् । जनता समान्य खाना खान नपाएर मरेका छन् । उत्तर कोरिया नेताको हैसियत भनेको टोलको एउटा बलियो आवाराको जस्तो छ । त्यसले घरमा काम गर्दैन र घरका अरुलाई धम्काएर राखेको हुन्छ । छिमेकीहरू मेहनेती हुन्छन् । कमाउँछन् र राम्रो गर्दछन् तर उसले धम्काउने हुँदा झगडा गर्न भन्दा केही दिएर खुसी पर्ने गर्दछन् । घरमा पनि अरुलाई धम्क्याएर भए पनि केही खाने कुराको जोगाड गरेकोले केही भने पनि उप्रति आस्था हुन्छ र उप्रति डर पनि हुन्छ । त्यसैले किमको बारेमा कसैले गर्र्व गर्दछ भने त्यो पूर्णतः मुर्खता नै हो ।

माओले नौलो जनवाद, सैन्य नीति, लङ मार्च, निरन्तर क्रान्ति, सांस्कृतिक क्रान्ति जस्ता विषयलाई आफ्नो विचार धारामा प्रवेश गराए पनि उनको मुख्य विचार भनेको कम्युनिष्ट पार्टीको नेतृत्वमा पूँजिवादको विकास गरेर समाजवादमा जानु नै थियो ।

माओपछिका चीनका प्रभावकारी नेता देङ स्याओपेङ नै हुन् । उनले माओले जस्तै एक पार्टी सिद्धान्तलाई कायमै राखे । अन्य कथित दलहरू कम्युनिष्ट पार्टीका भात्री सङ्गठन जस्ता नै भए । तेङले लोकतन्त्रको विपक्षमा हिंसा पनि गरे र त्यसलाई तियनमेन चोकको हत्या भनिन्छ । तर उनले एकदलिय पूँजीवादी चरित्रको सुरुवात गरे । यो तथ्य माक्र्सको पूँजी समेतका कितावमा उल्लेखित विचार र माओका विचारसंग तुलना गरेमा प्रष्ट हुन्छ । उनले समाजवादको आधार रहेको कम्युनको अन्त्य गरे । जमिनको निजिकरणमात्र गरेनन् बरु उद्योगमा निजी स्वामित्व र विदेशी निवेशलाई पनि मान्यता दिए । उनले बजार अर्थतन्त्र, उत्पादन वृद्धि, प्रविधिको विकास जस्ता विषयलाई समावेश गरे । उनको वजार अर्थतन्त्रमा आधारित समाजवाद आफैमा विरोधाभासपुर्ण हो । माक्र्सवादी समाजवादले खुला अर्थतन्त्रको भाषा बुझ्दैन । चिनियाँ नेता सिले आफ्नो विचारधारामा के–के राखे त भन्दा चीनलाई दुनियाकै समुन्नत राष्ट्र बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने, एकदलिय ब्यवस्थाअन्तर्गत नै चीनको एकता र समुन्नतीलाई प्रवल बनाउने, आध्यात्मिक शिक्षाको माध्यबाट चीनमा प्रचलित बुद्ध धर्म, कन्फ्युसियस समेतका विचारलाई चीनको आध्यात्मको माध्यम बनाउने जस्ता विषय उनका लागि प्रमुख प्राथमिकता हुन् ।

उनी लोकतन्त्रको नाममा अमेरिकाले सोभियत रुसलाई तहसनहस पारेकोमा सजग छन् र देशमा त्यस्तो अवस्था आउन नदिन कृतसंकल्पित पनि छन् । यसको लागि कम्युनिष्ट पार्टीको बलियो पकड र सैनिक बल प्रमुख हुन् भने ब्यापार ब्यवसायका माध्यमबाट विश्वमा आफ्नो हैसियत सहयोगी राख्ने सीको सोच रहेको देखिएको छ । उनले चाहेको एक देश एक प्रणाली भने ठुलो विवादको कारण बन्न सक्दछ । मकाउ र हङकङमा वहुदलीय ब्यवस्था छ भने उनले एकीकरण गर्न चाहेको ताइवानमा पनि लोकतान्त्रिक प्रणाली छ । यद्यपि ताइवानसंग एकीकरण भन्ने पुरानो नीति हो तर पुरानो नीतिले एक देश दुइ प्रणालीलाई आत्मसात गरेको थियो । अब सबै चिनियाँहरू एक हुनु पर्दछ र एक हुनको लागि उनीहरू कम्युनिष्ट पनि हुनु पर्दछ भन्ने उनको आसय देखिन्छ । यो सजिलो र सबैको लागि रुचिकर होइन । यसले कम्युनिष्टप्रतिको त्रास विश्वमा बढ्ने छ र त्यो असन्तुष्टिमा पनि बदलिन सक्दछ ।

उनको भ्रष्टाचारविरोधी अभियान यसै पनि समाजवादको मजाक नै हो किनभने समाजवादमा सम्पत्ति भए पो भ्रष्टाचार हुने भन्ने अवस्थाको अन्त्य भएको छ । तर ब्यवहारिक रुपमा यो सकारात्मक पक्ष हो । उनले गरिवी निवारण गर्ने योजना दिएका छन् । तर समाजवादमा पनि गरिवी रहने हो भने कम्युनिष्टहरू कसरी गरिवको पक्षधर भए ? भन्ने सवाल उठ्दछ । जहाँ धेरै धनी हुन्छन् त्यहाँ त्यो भन्दा कैयौ गुणा (अर्थात लाखौँ गुना) बढी गरिव हुन्छन् भन्ने कम्युनिष्ट डग्मेटिज्म (घोकाइ)को चीनमा अन्त्य भएको छ । चीनमा खर्बपतिहरूको संख्या ३ सय भन्दा बढि छ भने करोडपतिहरू हजारौँमा छन् । यो तथ्यले त्यहाँ गरिव कति होलान् भन्ने आफै बोल्छ । यद्यपि त्यहाँका जनता २० प्रतिसत जति गरिवीको रेखामुनि भएको तथ्याङ्क प्राप्त छ । यो तथ्य विश्वका सबैजसो विकसित पूँजीवादी देशको भन्दा बढि हो । अर्थात विश्वका विकसित पूँजीवादी भनेर कम्युनिष्टहरूले भन्ने गरेका देशमा भन्दा गरिवीको औषत चीनमा धेरै बढी छ ।

यसले के देखाएको छ भने कम्युनिष्टहरू देशभित्र दलको र दलभित्र आफ्नो पकड र नाम स्थायी गर्न चाहन्छन् । कम्युनिष्ट र कम्युनिष्टहरूले भन्ने समाजवादको कुनै परिभाषा नै छैन । जुन देशमा जुन नेता र दलले जे कुरालाई कम्युनिष्ट वा समाजवादी विचार भन्यो त्यही नै उचित परिभाषा हो भनेर मान्नु पर्दछ । अन्यथा सम्पत्ति राख्नै नपाइने पनि कम्युनिष्ट र अरवपति र गरिव भएको अवस्थालाई मान्यता दिने पनि कम्युनिष्ट हुने विपरित अवस्था हुनै सक्दैनथ्यो ।

तर नेपालको सन्दर्भमा भने बलियो चीन र लोकतान्त्रिक नेपाल नै नेपालको स्थायित्व र विकासको बाटो बन्न सक्दछ । सचेत जनता र लोकतन्त्रका पक्षधर दलहरूले नै चीन, भारत र अन्य राष्ट्रसँग समुचित र अपेक्षाकृत सन्तुलित सम्बन्ध तथा ब्यवहार गर्न सक्दछन् ।