सन्तान र सरकार, दुवै बदल संस्कार !

सन्तान र सरकार, दुवै बदल संस्कार !


शास्त्रीय भनाई छ, पितृ देवो भवः मातृ देवो भवः, अर्थात् बाबु आमा भनेका देवता सरह हुन् । आफूलाई जन्म दिने माता–पिता पूजनीय हन्छन् । तर यो वास्तविकता व्यवहारमा विस्तारै हराउँदै गएको छ । अथवा भनौँ, मानिसले बिर्संदै गएका छन् । वृद्ध बाबु–आमा साथमा हुनु भनेको छोराछोरीलाई बोझ हुनु हो भन्ने जस्तो संस्कार विकास हुँदै गएको छ । एकातिर समाज शिक्षीत हुँदैछ, अर्कोतिर आफूलाई जन्म दिने बाबुआमा वृद्ध अवस्थामा तिरस्कृत हुँदै गएका छन् ।

संयुक्त परिवारमा बस्ने, आफूभन्दा ठूलालाई आदर गर्ने अनि सानोलाई माया गर्ने हामी नेपालीको संस्कार हो । तर व्यस्त जीवनशैली, करियर र पैसा कमाउने नाममा आफूलाई जन्मदिने आमा बुबाहरूलाई सम्मान दिन सकिरहेका छैनौँ । करियर बनाउने र पैसा कमाउने नाममा हामी यति धेरै भागदौडमा छौँ कि वृद्ध बा–आमासँग मिठो दुई शब्द बोल्ने फूर्सद पनि हामीमध्ये धेरैसँग कम छ । ६ जना सन्तानकी आमा गुनासो गर्दै थिइन्, ‘छोरीहरू सबैको बिहे गरिदिए, २ जना छोरामध्ये एकजना गाउँमा छ एकजना शहरमा, हामी दुइजना बुढाबुढी यिनीहरूका लागि भार भएका छौँ । कहिले मर्ला जस्तो गरेको छ । सँगै बस्ने मात्र हो एकछाक खानको लागि हरेक दिन आँखाबाट आँसु झार्नु पर्दछ ।’

बच्चा सानो हुँदाखेरी लडेर केही होला कि भन्ने डर, ठूलो भएपछि आफैंलाई मार्ला कि भन्ने त्रास ! बडो दुःखका साथ छोराछोरीलाई हुर्काउने, बढाउने अनि पढाउने गरिन्छ । आफ्ना छोराछोरीबाट बाबु–आमाले ठूलो आशा अनि भरोसा राखेका हुन्छन्, तर यो आशा निराशामा परिणत हँुदै गएको छ । बरु मानिसहरू आजको जस्तो शिक्षित नहुँदा आफनो जन्म दिने बाबुआमालाई तिरस्कार गर्दा पाप हुन्छ भनेर धर्म र पापको ख्याल गर्थे तर अहिले शिक्षित छोराहरूको व्यवहारबाट पनि आमाबाबुले धरधर आँखाबाट आँसु खसाल्नु परिरहेको छ । किन यति धेरै बोझ मान्छन् छोराछोरीहरूले आफ्ना आमाबाबुहरूलाई ? कतै एकल परिवारमा हुर्केका कारण आफनै बाबु–आमा समेत बोझ बन्ने गरेको त होइन ? कि त हामीले आफ्ना केटाकेटीलाई सानो उमेरदेखि नै आफूभन्दा ठूला, वृद्ध र अशक्तलाई आदर अनि माया गर्नुपर्छ भन्ने कुरा नै सिकाउन बिर्स्यौँ ?

जमाना धेरै बदलिसकेको छ । पहिले पहिलेको जस्तो धेरै सन्तान पाउने चलन अहिले छैन । बढीमा दुइ सन्तान । छोराछोरीले प्रगति गरोस् भनेर बाबुआमाले उनीहरूको शिक्षामा भएभरको लगानी गरेका हुन्छन् । विदेशमा समेत पढाउन करोडौँ रुपैयाँ खर्चिन्छन् । यसले गर्दा कतिपय बाबु–आमा स्वदेशमा एक्लै बस्नुपर्ने बाध्यता छ भने सँगै भएकाहरूले पनि वृद्ध अवस्थामा पुगेपछि आफ्ना जन्म दिने बाबु–आमालाई बोझ ठान्ने गरेका छन् । आखिर किन यस्तो भैरहेको छ त ? समाजशास्त्रीको विचारमा, ‘समाजमा आएको धुविकरण र एकल बस्ने परम्पराले गर्दा बाबु–आमाप्रति जन सम्मान गर्ने नेपाली चलनमा विखण्डन आएको हो ।’

हरेक बाबु–आमाले एउटा सपना बोकेर छोराछोरीलाई जन्म दिएका हुन्छन् । छोराछोरी पाउनु भनेको आफ्नो वंशलाई निरन्तरता दिनु पनि हो । त्यसैले निसन्तान बाबुआमा पनि हिजोआज लाखौं रुपैंयाँ खर्चेर सन्तान जन्माउने गर्छन् । हाम्रो समाजको बनोटको कुरा गर्ने हो भने अहिलेसम्म परनिर्भर खालको नै छ । छोराछोरी बुढेसकालको सहारा हुन्छ भनेर सन्तान पाउने परिपाटी हामीमा हटिसकेको छैन । दुई दशक पहिलेसम्मको कुरा गर्ने हो भने एकजनाले ६–७ जनासम्म सन्तान पाउने चलन थियो । अहिले पनि गाउँघरमा यदाकदा यो भेट्ने गरिन्छ । तर शहरमा भने धेरै सन्तान पाउने चलन कमै मात्रामा छ । फेरि परनिर्भर परिवार हने भएकाले हामी एकअर्कामा जानी नजानी चाहेर या नचाहेर आश्रीत नै रहेका हुन्छौँ ।

बाबु–आमा भनेको अथवा ज्येष्ठ नागरिक भनेको घरका सबभन्दा जेठाबाठा व्यक्ति हन् । उनीहरूको उमेरका कारणले शारिरीक अवस्था कमजोर हुन सक्छ तर मानसिक रुपले र व्यवहारिक हिसाबले हामीभन्दा खारिएका व्यक्तिहरू नै हन् । उनीहरूसँग आ–आफ्नै अनुभव र शीप हुन सक्छ । त्यो अनभव र शीपलाई नयाँ पुस्ताले अनुशरण गर्न सके त्योभन्दा सुगन्ध के हुन सक्छ र ? तर अहिले समाज यसरी रुपान्तरित भएको छ कि संयुक्त परिवारमा बस्ने चेष्टा कमैले मात्र गर्छन् । त्यसैले पनि वृद्धवृद्धाहरू एक्लिँदै गएका छन् ।

स्वाभाविक हिसावले मानिस वृद्ध अवस्थामा पुगेपछि उसको उमेरअनुसार अलि चिडचिडापन बढ्ने, गनगन गरिराख्ने खालका हुन्छन् । कतिपय छोराछोरीलाई यस्तो बानी मन नपर्ने पनि हुन सक्छ । त्यसैले धेरैले यस्ता गनगन गर्ने बुढाबुढी स्याहार्न नै खोज्दैनन् । एउटा भनाइ पनि रहेको छ, वृद्ध भएपछि मानिसले बच्चाको जस्तो ब्यवहार देखाउँछ । शरीरले नसक्ने भएपछि बच्चाले जस्तै लुगामा दिसा पिसाव गर्न थाल्छ । बच्चा हुर्काउँदा उसको दिसापिसाव सरसफाई गर्न कुनै पनि आमा हिच्किचाउँदैन् तर वृद्ध बाबुआमाको दिसा पिसाव धुनु पर्यो भने छोरा–बुहारीको हेलचेक्र्याँइमा बाबुआमा पर्ने गर्छन् । त्यसैले त कतिपय आमाबाबुलाई बुढेसकालमा वृद्धाश्रम धाउनु परेको छ ।

विश्व स्वास्थ्य संगठनले ६० वर्ष र सो भन्दा माथिका मानिसलाई ज्येष्ठ नागरिक मानेको छ । नेपालको ज्येष्ठ नागरिक ऐन २०६३ ले पनि ६० वर्ष र सो भन्दा माथिको उमेरलाई नै ज्येष्ठ नागरिक मानेको छ । २०६८ मा गरिएको नेपालको जनगणनाअनुसार कुल जनसंख्याको ९ प्रतिशत अर्थात् २५ लाख भन्दा बढी वृद्धवृद्धाको संख्या रहेको छ । यसबाट के भन्न सकिन्छ भने वृद्धवृद्धाको संख्यामा वृद्धि देखिएको छ र नेपालमा समेत औसत आयु बढेको छ भनेर भन्न सकिन्छ । यस्तै विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । यसरी २५ लाख भन्दा बढिरहेका वृद्ध बाबुआमाका लागि सरकारले वृद्ध भत्ताबाहेक अन्य केही सुविधा उपलब्ध गराउन सकेको छैन । केही समय पहिले महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले सन्तानको आफ्नो कमाईको १० प्रतिशत अनिवार्य आफ्नो जन्म दिने बाबआमालाई दिनुपर्ने बाध्यकारी व्यवस्था गर्न लागेका भएपनि त्यो व्यवस्था लागू हुन सकेन । त्यसैले वृद्ध बाबुआमालाई बुढेसकालमा हेला र परिस्कृत गर्न नपाइने कानुन बन्न सके मात्र उनीहरू सुरक्षित हुनेछन् ।

[email protected]