गुल्मीमा माइक्रोबस दुर्घटना ७ को मृत्यु, उदयपुरमा मृत्‍यु हुनेको संख्या ७ पुग्यो

गुल्मीमा माइक्रोबस दुर्घटना ७ को मृत्यु, उदयपुरमा मृत्‍यु हुनेको संख्या ७ पुग्यो


बुटवलबाट तम्घासतर्फ गइरहेको माइक्रो बस गुल्मी दरबार गाउँपालिका–३ स्थित वीरबास भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना भएको छ । दूर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ६ घाइते रहेका छन् ।

बा ४ ख ५५०१ नम्बरको माइक्रो सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

बीचमा कति यात्रु थप गरिएको यकिन हुन सकेको छैन । स्थानीयका अनुसार बिपरित दिशाबाट आएको जीपसँग ठोक्किएर माइक्रो भीरबाट खसेको हो ।

मृतक तथा घाइतेको सनाखत हुन सकेको छैन । हाल उद्दार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।बुटवलबाट १३ जना यात्रुको चलानी भएको पाइएको छ ।

उदयपुरमा सुमो दुर्घटना: मृत्‍यु हुनेको संख्या ७ पुग्यो

यसैबीच, उदयपुरको कटारीमा सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो कटारी नगरपालिका-११ ठाँटी भन्ने स्थानमा सोमबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए ।

उनका अनुसार सुमोमा १० जना यात्रु रहेको र चालक र एक जना बालक सहित चार जना घाइते भएका छन्। घाइतेहरुको उपचालका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ। यस्तै प्रहरीले घटनास्थलमा भेटिएको शव सनाखत गरिरहेको छ।