अठार पुरुषबीच एक्ली महिला उम्मेदवार

अठार पुरुषबीच एक्ली महिला उम्मेदवार


आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ ।

जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो ।

विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बन्नुभएकी बजिमय नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् ।

बजिमयसँगै काँग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, नेकपा (माले), राप्रपा (प्रजातान्त्रिक), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १९ जना उम्मेदवार रहेका छन् ।

विभिन्न औपचारिक कार्यक्रममा महिलाको अधिकार र सहभागिताका पक्षमा चर्को भाषण गर्ने दलले निर्वाचनमा उठाउने क्रममा भने महिलालाई उपेक्षा गरेका छन् । निर्वाचनमा जिल्लाबाट प्रतिनिधि सभाका लागि १० र प्रदेश सभाका लागि नौजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काँग्रेस निकट महिला संगठनबाट २०३६ सालदेखि राजनीति शुरु गरेकी बजिमय महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्यलगायतको भूमिका निर्वाह गरिसकेकी छिन् । उम्मेदवारी हालेसँगै चुनावी अभियानमा होमिनुभएकी बजिमयको आगामी निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार विशाल भट्टराईसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधि सभा सदस्यमा बजिमयले टिकट पाए पनि प्रदेश सभामा कुनै पनि दलले महिला नेत्रीलाई दिएका छैनन् । दलको भरपर्दो खम्बाका रुपमा काम गरिरहेका बेलामा अवसर आउँदा भने पाखा लगाइएपछि महिला नेत्रीहरु असन्तुष्ट बनेका छन् ।

राससका अनुसार प्रदेश सभामा दुई र प्रतिनिधि सभामा एक क्षेत्र रहेको जिल्लामा सबै राजनीतिक दलले आ–आफ्नो चुनावी अभियान शुरु गरिसकेका छन् । चुनावी अभियानमा होमिएका दलहरु अहिले गाउँ–गाउँमा पुगेर आफ्नो पक्षमा मतदाता तान्ने कसरतमा रहेका छन् ।