आयातित तेलको परिमाणलाई ६७ प्रतिशतमा झार्ने भारतको तयारी

आयातित तेलको परिमाणलाई ६७ प्रतिशतमा झार्ने भारतको तयारी


आगामी २०२० सम्ममा भारतले आयातित तेलको परिमाणलाई घटाउने लक्ष्य लिएको छ । यसका लागि भारतले ऊर्जा क्षेत्रको विकासमा ३ खर्ब डलर वैदेशिक लगानी भित्र्याउने भएको हो ।

अबको एक दशकभित्र पेट्रोलियम पदार्थको आयात घटाई आन्तरिक उत्पादन बढाउन वैदेशिक लगानी आह्वान गरिएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले लगानी गर्न इच्छुक विदेशी कम्पनीका लागि परियोजना पेश गरिने बताए । विदेशी कम्पनीबाट आउने लगानी तेल भण्डार तथा रिफाइनिङ क्षमता बढाउन, तेल र ग्याँसको अन्वेषण गर्ने परियोजनामा खर्च हुनेछ ।

भारतमा कुल मागको ८० प्रतिशत तेल तेस्रो मुलुकबाट आयात हुने गरेको छ । भारतमा मोदी सरकारले सन् २०२० सम्म आयातित तेलको परिमाणलाई ६७ प्रतिशतमा झार्ने योजना बनाएको छ ।

तेल तथा ग्याँसको माग हरेक वर्ष तीव्र गतिमा बढिरहे पनि उत्पादन नबढेकाले अर्बौं रुपैयाँ ऊर्जा आयातमा खर्च हुँदै आएको छ । यसकारण भारत पेट्रोलियम पदार्थ बढी खपत गर्ने विश्वको तेस्रो प्रमुख देश हो ।