नयाँ-पुराना यी उम्मेदवार, जो विशेष चर्चामा छन् !

नयाँ-पुराना यी उम्मेदवार, जो विशेष चर्चामा छन् !


प्रजातन्त्र पुनः स्थापना भएपछि सम्पन्न आम निर्वाचनमा विजयी हुँदै आएका नेका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेका वरिष्ठ नेता रामचन्द्र पौडेल आ–आफ्नै गृह जिल्ला क्रमशः डडेलधुरा र तनहुँबाट चुनावी प्रतिस्पर्धामा होमिने भएका छन् । विसं २०४८, २०५१, २०५६, २०६४, २०७० का आम निर्वाचनमा उनीहरूले आ–आफ्नै जिल्लाबाट जनताको मन जितेका थिए । उसो त ती निर्वाचनमा हाल नेकाका नेता विजयकुमार गच्छदार पनि विजयी हुँदै आएका छन् । संविधानसभाका निर्वाचन विसं २०६४ र विस २०७० का निर्वाचनमा उनले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)को अध्यक्षका रूपमा सुनसरीबाट ती निर्वाचनमा विजयी भएका थिए ।

प्रत्यक्षमा निर्वाचनका लागि पहिलो पटक टिकट पाउने कांग्रेसी उम्मेदवारमध्ये प्रधानमन्त्री पत्नी डा. आरजुराणा देउवा चर्चामा छिन् । प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपटक कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार चयन भएकी हुन् । दोस्रो संविधानसभामा उनी समानुपातिक तर्फबाट संविधानसभा सदस्य थिइन् ।

यसैगरी नेका संसदीय दलका उपसचेतक ईश्वरीदेवी न्यौपाने पनि पहिलोपटक प्रत्यक्ष निर्वाचनमा कैलाली क्षेत्र नं १ मा टिकट प्राप्त गरेकी छिन् । यसअघि उनी समानुपातिक सदस्य थिइन् । यसैगरी कैलाली क्षेत्र नं २ बाट नेकाका तर्फबाट मोहनसिंह राठौरले टिकट प्राप्त गरेका छन् यसअघिको निर्वाचनमा उनी नेकपा एमालेका तर्फबाट सोही जिल्लाबाट सांसद पदमा निर्वाचित भएका थिए ।

लामो सयमदेखि नेकाको केन्द्रीय सदस्य रहेका सुनिलकुमार भण्डारीले पनि कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको निर्वाचनमा टिकट प्राप्त गरेका छन् । उनले नेपाल परिवार नियोजन संघको अध्यक्ष हुँदा वहुचर्चित गर्भपतनसम्बन्धी ऐन ल्याउन अहम् भूमिका निर्वाह गरेका थिए । यसैगरी नेकाले प्यूठानमा प्राडा गोविन्दराज पोखरेललाई टिकट दिएको छ । पुनः निर्माण प्राधिकरणको कार्यकारी प्रमुखबाट राजीनामा दिई उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

नेपाली कांग्रेसले काठमाडौं उपत्यकाभित्र संविधानसभाको दोस्रो निर्वाचन विसं २०७० को निर्वाचनमा वियजी भएकालाई नै पार्टीका तर्फबाट उम्मेदवार बनाएको छ । काठमाडौंमा नेका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई क्षेत्र १ बाट चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

यसैगरी नेताहरू गगनकुमार थापा, भीमसेनदास प्रधान, नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, दीपक कुइँकेल र राजनकुमार केसीले टिकट प्राप्त गरेका छन् । उनीहरू यसअघिको निर्वाचनमा पनि विजयी भएका थिए । नयाँ अनुहारमा काठमाडौँ क्षेत्र नं ५ मा डा. प्रकाशशरण महत र क्षेत्र नं ३ मा अम्बिका बस्नेतले टिकट प्राप्त गरेकी छन् ।

यसैगरी ललितपुरमा चन्द्र महर्जन र मदनबहादुर अमात्यले प्रत्यक्ष तर्फबाट टिकट प्राप्त गरेका छन्। विसं २०७० को संविधानसभा निर्वाचनमा उनीहरू सोही जिल्लाबाट विजयी भएका थिए । यस्तै भक्तपुरमा बाबुराजा जोशी र दमननाथ ढुङ्गानाले टिकट प्राप्त गरेका छन् ।

काठमाडौं उपत्यकामा एमालेका दश र केन्द्रका पाँच उम्मेदवार

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका १५ स्थानमध्ये नेकपा (एमाले) बाट १० र नेकपा (माओवादी केन्द्र) बाट पाँच स्थानमा आज मनोनयनपत्र दर्ता गरिएको छ ।

काठमाडौँमा माओवादी केन्द्रले प्रतिनिधि सभाको क्षेत्र नं १, ६ र १०, भक्तपुरमा क्षेत्र नं १ र ललितपुरमा क्षेत्र नं ३ मा उम्मेदवारी दिएको छ भने अन्य बाँकी क्षेत्रमा एमालेका उम्मेदवार रहेका छन् ।

चुनावी तालमेल र चुनावपछि पार्टी एकताको घोषणा गरेका यी दुई दलका शीर्ष तहका नेता सम्मिलित कार्यदलले उक्त सहमति गरेको हो । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र वैकल्पिक पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित विभिन्न क्षेत्रअन्तर्गत प्रदेशसभामा उम्मेदवार बनेका छन् ।

काठमाडौँमा क्षेत्र नं १ मा अनिल शर्मा, २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ४ मा डा. राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा झक्कु सुवेदी, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० मा हितमान शाक्य उम्मेवार भएका छन् ।

प्रतिनिधि सभामा भक्तपुर क्षेत्र नं १ मा मिलन सुवाल, २ मा महेश बस्नेत, ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसाल मैदानमा उत्रिएका छन् ।