पहिलोपटक बिजुली बल्दा स्थानीयमा छायो खुसियाली

पहिलोपटक बिजुली बल्दा स्थानीयमा छायो खुसियाली


जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ७ को वान्द्रे र कागेश्वरी गाउँमा पहिलोपटक बिजुली बलेपछि सर्वसाधारणले नाचगान गरेर खुसियाली मनाएका छन् ।

पृथ्वीराजमार्गको खेस्टेखोलाबाट ४ किलोमिटरको दुरीमा रहेर पनि सांझ विहान उज्यालो बाल्न टुकीको सहारामा बस्दै आएका शीतलपुर यहाँका बासिन्दाले गाउँमा बत्ती बलेको खुसियालीमा शनिवार नाचगान गरेका हुन् । बत्ती बलेपछि यहाँका करिब १ सय १० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

गत बर्षको मंसिरबाट शुरु भएको विद्युत्त बिस्तार कार्यक्रम एक बर्षको अवधिमा सम्पन्न भएको हो । योजना सम्पन्न गर्न तत्कालिन बैरेनी गाविसको १ लाख, पुर्व सांसद राजेन्द्र पाण्डेमार्फत सांसद विकास कोषको १८ लाख, गल्छी गाउँपालिकाको १५ लाख र स्थानीयवासीको ३ लाख ३२ हजारसमेत गरी कुल ३७ लाख ३२ हजारको लागतमा बान्द्रे, कागेश्वरी ठुलोचौर क्षेत्रमा बिद्युत्त विस्तार कार्यक्रम सम्पन्न भएको हो । समुदायको तर्फबाट गरिएको लगानी ऋणमा रहेकाले अब त्यो ऋण कसरी भुक्तानी गर्ने चिन्ता गाउँवासीमा रहेको गल्छी गाउँपालिका वडा नम्बर ७ नम्बर का वडा सदस्य राजन खड्काले वताए ।

गाउँमा बिद्युत्त लाइन विस्तार भई घरघरमा विजुली बल्न थालेको खुसीयालीमा शनिवार वान्द्रे, कागेश्वरीका स्थानीयले खुसीयाली मनाउँदै नाचगान गरेका हुन । विद्युत लाईन विस्तार समितिका अध्यक्ष विमला कार्की खड्काको अध्यक्षतामा शनिवार गाउँमा सम्पन्न भएको बिद्युत्त उद्घाटन कार्यक्रममा गाउँलेहरुले पञ्चैवाजा वजाएर नाचगानका साथ खुसीयाली मनाएका हुन ।

धादिङ जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको बिद्युत्त लाइन उद्घाटन कार्यक्रमलाई गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, गल्छी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष हरिप्रसाद खतिवडा, नेपाली काँग्रेस गल्छीका संयोजक गोपिप्रसाद रिमाल, नेकपा एमालेका प्रतिनिधि राजकुमार रिमाल, नेकपा माओवादी केन्द्रका प्रतिनिधि मोदनाथ खतिवडा लगायतले आफ्ना धारणा राखेका थिए ।

गत बर्षको मंसिरबाट शुरु गरिएको बिद्युत्त लाइन बिस्तार कार्यक्रम अन्तर्गत गाउँका एकसय १० घरमा बिद्युत्त लाइन विस्तार गरिएको र केही समयमै गल्छी गाउँपालिका ७ कै कागेश्वरीका साथै वडा नम्बर ५ को आँपचौर, गोठडाँडा, लप्सिडाँडा लगायतका गाउँबस्तिका एकसय ९० घरमा विस्तार गरिने कार्यक्रम रहेको बिद्युत्त लाइन बिस्तार समितिका अध्यक्ष खड्काले जानकारी दिए ।

चालु आर्थिक बर्षको अन्तिम सम्म गल्छी गाउँपालिकाको ८ वटै वडाको प्रत्येक घरमा विजुली वाल्ने कार्यक्रम सम्पन्न गरिने जिल्ला समन्वय समितिका प्रमुख नेपालले वताए ।